• १३ साउन २०८१, आइतबार

श्रीलङ्कामा खोजिँदै दुग्ध पदार्थको बजार

blog

काठमाडौँ, पुस १२ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा बढी भएको दुग्ध पदार्थ बिक्रीवितरण गर्नका लागि श्रीलङ्काको बजार अध्ययन गरेको छ । कृषि मन्त्रालयले आफ्ना प्रतिनिधि पठाएर त्यसको अध्ययन गरेको हो । कृषि मन्त्रालयका सहसचिव मदन भुलेलको नेतृत्वमा गएका प्रतिनिधिमण्डल त्यहाँका पशु सेवा विभागलगायत अन्य सरोकारवाला निकायसँग छलफल गरेर फर्केको छ । 

श्रीलङ्का बजारमा दुग्ध क्षेत्रको निकै सम्भावना छ, त्यहाँको उत्पादनले ४० प्रतिशत मात्र धानिरहेका छन्, अरू बाँकी ६० प्रतिशत बाहिरबाट नै ल्याइरहेको कारण नेपालबाट निर्यात गर्न सकिने सम्भावना रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “दुग्ध पदार्थ क्षेत्रमा नेपालका लागि श्रीलङ्का राम्रो बजार हो ।”

नेपालबाट दुग्ध पदार्थ खरिद गर्न श्रीलङ्का सकारात्मक छ, अब दुई देशबिच यसको प्रक्रिया कसरी अगाडि बढ्छ त्यो बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीलङ्काको बजार राम्रो छ, त्यहाँ सम्भावना पनि छ, त्यहाँको दुग्ध पदार्थ र यहाँको दुग्ध पदार्थको कम्पोजिसन पनि मिल्छ, सबै प्रक्रिया पूरा भयो भने श्रीलङ्का दुग्ध पदार्थ खरिद गर्न तयार छ ।”

त्यहाँ भएका अध्ययनका विषयवस्तुबारे कृषिमन्त्री डा. वेदुराम भुसाललाई ब्रिफ गर्ने उहाँले बताउनुभयो । जिटुजी (सरकारदेखि सरकार) सम्झौतामार्फत दुग्ध पदार्थ खरिद बिक्री हुन सक्छ, त्यसका लागि उच्च तहमा छलफल गरेर कुरा अगाडि बढ्छ । कृषिमन्त्री भुसाललाई ब्रिफ भइसकेपछि उहाँले अरू प्रक्रिया अगाडि बढाउनुहुन्छ ।  

कृषि मन्त्रालयका प्रतिनिधिले श्रीलङ्काका पशु सेवा विभागका निर्देशक डा. सन्दिका फरेरासँग छलफल गरेका छन् । गुणस्तर र मूल्यमा कुरा मिल्यो भने दुग्ध पदार्थ खरिद गर्न सकिने धारणा उहाँबाट आएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो । श्रीलङ्का एसएनपी लैजान इच्छुक दखिएको छ । 

डेरी उद्योगीले छ अर्बभन्दा बढीको दुग्ध पदार्थ मौज्दात रहेको बताउँदै आएका छन् । नेपालमा दुध तथा दुग्ध पदार्थ बिक्री नहुँदा मौज्दात बढ्दै गइरहेको छ । दुग्ध पदार्थ बिक्रीका लागि डेरी उद्योगीहरू विभिन्न बजार खोज्दै बङ्गलादेश, श्रीलङ्का, मलेसियालगायतका देशसम्म पुगेका छन्, विभिन्न देशसँग छलफल चलाइरहेका छन् ।