• ८ मंसिर २०८१, शनिबार

आधुनिकतासँगै अध्यात्म

blog

भौतिक सुविधाको चरमचुलीमा पुगे पनि मानिसमा खुसीको अनुभूति हुन सकेको छैन । धन, सम्पत्ति, मान, सम्मान सबै छ तर खुसी छैन । आज मानिस वास्तविक सुख र खुसीको खोजीमा भौँतारिइरहेको छ । भौतिकता एउटा चरणसम्मका लागि खुसी र सुखको स्रोत बन्यो । 

तर जीवनपर्यन्त वा लामो समयसम्म यसले मानिसलाई खुसी दिन सकेन । भौतिक सुख र सुविधाको उत्कर्षमा पुगेको आजको समाज यही सुविधाले छिन्नभिन्न भएर एउटै घरभित्रका मानिसमा आत्मीय र भावनात्मक सम्बन्ध स्थापित हुन सकेन । प्रविधिले मानिसलाई केही हदसम्म सुविधा दियो तर सबै खुसी खोसेर लगेको निष्कर्ष मानवशास्त्री तथा समाजशास्त्रीहरूको तर्क रहेको छ ।

खुसी के मा छ त– पूर्वीय संस्कार र संस्कृतिमा मानिस आफूखुसी हुन अरूलाई खुसी दिन सक्नु पर्छ, प्रकृतिमा रहेका सबै कुरालाई शान्त रहन दिनु पर्छ भन्ने मान्यता राखेको छ । यसैले हरेक शुभकार्य वा धार्मिक कार्य गर्दा सबभन्दा पहिला शान्तिपाठ गर्ने गरिन्छ । आजभोलि पनि शान्तिपाठ त गरिन्छ तर यसको अर्थ र मर्म बुझ्ने प्रयास नै भएन । शान्तिपाठ गर्दैमा सुख र शान्ति आउँछ भन्ने भ्रममा मानिस रहेको छ ।

शान्तिपाठमा भनिएको छ– 

ॐ द्यौः शान्तिरन्तरिक्षँ शान्तिः पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।। वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः ।। सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।। ॐ शान्तिः शान्तिः शान्तिः ।।

यसको अर्थ हुन्छ–

हे परमेश्वर, शान्ति स्थापित गर्नुहोस् । तीनै लोक– जल, धरती, आकाशमा; अन्तरिक्ष, अग्नि, पवन, औषधी, वनस्पति, वन, उपवन, सम्पूर्ण विश्व, अवचेतनमा शान्ति राख्नुहोस् । जीव मात्रको हृदयमा, ममा, तिमीमा शान्ति होस्, जगत्को कण कणमा शान्ति होस् ।

यो मन्त्रपाठ गर्ने हाम्रो समाजमा अशान्ति नहुनुपर्ने तर यहाँ पनि अशान्ति छ, मानिसमा खुसी छैन । यसको कारण अध्यात्म ज्ञानको अभाव पनि हो । अध्यात्मवादको स्थान भौतिकवादले लिएपछि बदलिएको समाजको सजीव चित्र अहिलेको विकृति, विसङ्गति, रोग–व्याधि, अशान्ति हो । 

बुझ्नुपर्ने कुरा के हो भने कुनै पनि ‘वाद’ आफैँमा खराब हुँदैन र मानिसदेखि प्रकृतिसम्मको कुभलो गर्ने सोच हुँदैन तर यसको प्रयोगकर्ता मानिसले नै प्रयोगको साटो दुरुपयोग गरेपछि सबै कुरा भताभुङ्ग हुन पुगेको हो । हरेक ‘वाद’ को एउटा निश्चित उद्देश्य हुन्छ र त्यो उद्देश्य प्राप्तिका लागि मानिसले कर्म गर्नै पर्छ । कर्म नै मानिसको श्रेष्ठ वाद हो चाहे त्यो भौतिक होस् वा अध्यात्म । 

स्थापित परिभाषा अनुसार एकथरिले अध्यात्म नै अन्तिम लक्ष्य हो भन्छन् भने अर्काथरिले भौतिकवाद नै सत्य हो भन्छन् । अध्यात्म र भौतिकवादका विषयमा विभिन्न कालखण्ड र सामाजिक अभ्यास अनुसारको अलगअलग मान्यता स्थापित गरिएको छ । 

जस्तो कि मानिस केवल शरीर मात्र होइन, मानिस आत्मा हो र शरीर विनाशी छ आत्मा अविनाशी भन्ने मान्यता अध्यात्मवादमा छ । भौतिकवादी अभ्यासमा मानिस केवल शरीर हो र मृत्युपछि उसको अस्तित्व सकिन्छ भन्ने ठान्छ तर यसो भनिरहँदा अमर आत्माको अप्रत्यक्ष रूपमा वर्णन गर्न, स्मरण गर्न भौतिकवादी भनिनेहरू नै पनि पछि हट्दैनन् । अर्थात् शरीर मरेर गए पनि मानिस आफ्नो कर्मले अमर रहन्छ भने उसले आफूलाई भौतिकवादी भने पनि अन्ततः अध्यात्मवादलाई नै अङ्गीकार गरेको ठहर्छ । 

अध्यात्मवाद होस् वा भौतिकवाद दुवै जीवन जिउने कला हो, अभ्यास हो । फरक के मात्र हो भने मानिसले वस्तु वा पदार्थमा मात्र आफूलाई सीमित गर्छ कि ऊ जीवनको गहिराइसम्म पुगेर समय व्यतीत गर्छ । अध्यात्म हुँदै भौतिकवादको विकासलाई आत्मसात् गरेर दुवैको मिश्रणबाट जीवन अझ रोचक पनि बनाउन सकिन्छ । जीवनलाई सही र सन्तुलित रूपमा सञ्चालन गर्न अध्यात्मवाद र भौतिकवाद दुवैलाई मिलाएर लैजानु आवश्यक हुन्छ ।

मानिस कसरी बाँच्न चाहन्छ, त्यसैमा उसले आफ्नो मार्ग तय गर्दछ । विवाद र बहसका लागि अध्यात्म काल्पनिक र भौतिकवाद नै यथार्थ भन्ने गरिए पनि प्रचलित अभ्यास र यसबाट विकसित भइरहेका घटनाक्रमले यी दुवै एकअर्काका सहयोगी र परिपूरक रहेको देखिन्छ  । अध्यात्मिक र भौतिकवाद दुवैको बेजोड सम्बन्धलाई स्वीकार गरेर मानिसलाई कर्म गर्न प्रेरित गर्ने भगवान् श्रीकृष्ण हुन् । ‘कर्म गर फलको आस नगर’ भन्ने श्रीकृष्णको उपदेशले संसारका धेरै मानिसको गति र मति बदलिएको सुन्न पाइन्छ । पश्चिमा दार्शनिकहरूले भगवत्गीता पढेपछि आफूले नयाँ र एक मात्र सच्चा ज्ञान पाएको उल्लेख गर्दै आफ्नो नाम नै बदलेका सन्दर्भका ग्रन्थहरू पनि पाइन्छन् । 

श्रीकृष्णले शक्तिको हैन, शान्तिको अनि अहङ्कारको हैन, शालीनताको पूजा गर्न सिकाए । प्रकृतिलाई सन्तुलित राख्नुपर्ने सन्देश दिए । आफ्नो शक्तिले उन्मत्त देवराज इन्द्रलाई तह लगाउन बालककालमै कान्छी औँलाले गोवर्धन पर्वत उचालेर गोकुल र गोकुलवासी बचाए । इन्द्रको अहङ्कार ध्वस्त गर्न श्रीकृष्णले गोवर्धन पर्वतको पूजा गर्ने पद्धति विकास गरे । गोवर्धन पूजा गर्ने यो प्रचलन ल्याउनुका पछाडि कुपित भएका इन्द्रको वर्षा बाढीबाट पर्वत शृङ्खला अर्थात् पहाड बचाउने उद्देश्य मात्र सीमित छैन । प्रकृतिपूजा नै सबभन्दा उच्चकोटीको पूजा हो भन्ने मान्यता स्थापित गरी वातावरण संरक्षणको चेतना पनि दिइएको छ । नेपाली समाजमा ‘जङ्गल नै मङ्गल’ को कथन स्थापित हुनुका कारण पनि यही हो ।

शान्तिपाठमा भनिएकै छ – वनस्पति, औषधी सबै शान्त रहोस् भनेर । पर्वत नै वनस्पति, औषधी, खनिज सबैको स्रोत भएको हुँदा यसलाई शान्त राख्नु पर्छ, यी स्रोतहरू शान्त भए मात्र मानिसको हित हुन्छ भन्ने अभ्यास गोवर्धन पर्वतको पूजा र त्यही पूजा पद्धति पूर्वीय समाजले व्यवहारमा उतारेर यहाँसम्म आइपुग्दा ‘हरियो वन नेपालको धन’ को नारासमेत स्थापित भयो तर अहिले प्रकृति यति अशान्त छ कि हावा, पानी, अन्न सबै दूषित भएका कारण मानिसको मनस्थिति पनि दूषित नै बन्न पुगेको छ । यसको निवारण अध्यात्मलाई समाजमा पुनस्र्थापित गरेर मात्र सम्भव हुन्छ ।

महाभारतमा नदी संरक्षणको अर्को सन्दर्भ छ – यमुना नदीको पानी कालीनागले विषाक्त गरेपछि त्यसलाई पिउनलायक बनाउन कालीय दमनको घटनालाई उस्तै रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यो सबै पृष्ठभूमि केलाउँदा जलप्रदूषण गरेर जलजन्य प्रकोप पैदा गर्ने विषाक्त कारक जीवाणु र अतिवृष्टिका कारण र कारक तत्वबारे ज्ञान दिन र बाढी, पहिरो र डुबान समस्या समाधानबारे थोरबहुत सङ्केत भागवतका यस्ता मिथकीय आख्यान–उपाख्यानमा पाइन्छन् । 

प्रदूषित जललाई स्वच्छ पार्न जलप्रदूषण गर्ने जीवाणुको पहिचान र बाढी, पहिरो र डुबानबाट बच्ने तरिकाको नै वर्णन भएको छ तर शान्तिपाठ गरेर आकाशदेखि धर्तीसम्म शान्त रहोस् भनेर पूजा गर्नेहरू नै अहिले नदी र पर्वत विनाशमा उद्यत  छन् । भौतिक विकासको अन्धानुसरणका कारण सभ्यताको जननी मानिएका नदी अहिले मृत्योन्मुख छन् । बागमती सभ्यता कालकवलित भइसकेको छ । 

बागमती, विष्णुमतीलगायतका नदीहरू सजीव नदी हुन् । यहाँ विचरण गर्ने जलचरको यसबिचमा ठुलो वंश विनाश भएको छ । ढलमती बनेका नदीनाला र मरुभूमीकरण हुँदै गएको धर्ती तथा प्रदूषित भएर गएको वायुमण्डल र तनावग्रस्त भएर असन्तुलित हुँदै गएको मानवीय जीवनशैलीको विशृङ्खल जीवनचर्या श्रीकृष्णको लीला र उपदेशको अनुसरणबाटै रूपान्तरित हुने छ । यसका लागि चाहिन्छ अध्यात्म ।

हिजोको समय धर्मको बलमा अडेको थियो । आज भौतिक सुविधाले अडेको छ । आडम्बरले भरिएको छ र यही भौतिकवादले मानिसमा अशान्त, अहङ्कार, आक्रोश भरिएको छ । वस्तु वा पदार्थको सहज उपलब्धता भए पनि आज मानिसको जीवन सरल छैन, सुविधासम्पन्न युग भनिए पनि जीवन झन् जटिल बनाइदियो । यसको दोष यो कालखण्डका कर्ताधर्तामै थेग्रिन्छ ।

निःशुल्क पाइने हावा र पानीसमेत शुद्ध नपाइने स्थिति आयो । पूर्वले जल नै जीवन हो भन्ने मान्यता स्थापित गरेको छ । वनमा देवताको बास हुन्छ भनेर वनदेवीको पूजा गर्ने थिति बसालियो, पानीमा जलदेवता, हावामा वायुदेवता अनि पर्यावरणीय शुद्धता र प्राकृतिक सन्तुलन मिलाउन जीवजन्तु तथा सरिसृपमा भगवान्को अंश रहेको मान्यता स्थापित गरियो । हाम्रो कर्म र कर्मले मानिससँगै प्रकृति पूर्ण रूपमा शान्त हुने विधिविधान नै स्थापित गरेर गएको छ तर यही धर्म, साहित्य र ग्रन्थहरूलाई दुत्कार्ने काम नियोजित रूपमा भएको छ ।

सबैले मनन गर्नुपर्ने कुरा के हो भने– धर्मशास्त्रमा उल्लेख भएका सन्दर्भहरू कोरा कल्पना मात्र होइनन्, मानिसलाई दिग्भ्रमित गर्ने ग्रन्थ होइनन्, यी ग्रन्थहरूको अध्ययन–मनन गर्ने हो भने त्यहाँ अथाह ज्ञानको भण्डार रहेको पत्तो लाग्ने छ । त्यस्तै हिन्दु धर्ममा स्थापित र अवतारित पात्रहरूको सन्दर्भ मानव समाजको सुख, सुविधा र समुन्नतिका लागि हो । महाभारतकालमै कृत्रिम गर्भाधान भएको सन्दर्भ पढ्दा र अहिले ‘टेस्टट्युब बेबी’ को प्रचलन हेर्दा कति समानता छ भन्ने छर्लङ हुन्छ । 

सबैले बुझ्नुपर्ने कुरा के हो भने अध्यात्म मानिसलाई ‘जोगी’ बनाउने होइन कि ज्ञानी, विवेकी र कर्मशील बनाउने मार्ग हो र यही मार्ग हुँदै उसले भौतिकवादको लक्ष्य प्राप्त गर्न सक्दछ तर अहिलेको समस्या ज्ञानको भण्डार पूजाकोठामा राखेर बाहिरी दुनियाँमा यसको खोजी गर्दै भौँतारिने प्रवृत्ति बढ्दै गएका कारण समाजमा विकृति, विसङ्गति र बेथिति भित्रिएको आफ्नोपन छाडेर अरूको जडौरी भिर्ने होडबाजी छ । 

जतिबेला हामीले हाम्रो ‘शासन, प्रशासन, अर्थ, समाज, शिक्षा, वातावरण सबैलाई सन्तुलित र विकसित राख्ने नीति अध्यात्म ‘वाद’ हो भन्ने बुझेर यसको अभ्यासमा लागिन्छ, तब समाजमा शान्ति, सहिष्णुता, समानता, विकास सबै हुन्छ । अरूले घोकाइदिएको समानता र समावेशिताको नारा घन्काउँदै पर्दैन । अध्यात्म भने पनि भौतिक भने पनि यी दुवैको उद्देश्य पृथ्वी र पृथ्वीवासीको सुरक्षित जीवनचर्या हो र यसलाई कायम राख्न पहिला अध्यात्मवादलाई आत्मसात् गर्नु आवश्यक छ । आधुनिकतासँगै अध्यात्मलाई अगाडि बढाउनसके मानिसमा खुसी बढ्ने छ । जब मानिस खुसी हुन्छ, तब परिवार, समाज हुँदै सिङ्गो देश र विश्वमाा खुसीको नयाँ मार्ग तय हुने छ । 

 

Author

यादव देवकोटा