• १३ असोज २०८१, आइतबार

फुटपाथमा मान्द्रो ओढेको जाँतो !

blog

“मेरो निबन्धको विषय वस्तु म आफैँ हुँ” भन्ने मोन्तेनको महावाक्य सुनेपछि  मनमा लामै समयदेखि छड्किरहेको भावना, सल्याङबल्याङ गरिरहेको उकुसमुकुस र पन्पी रहेको मनका तरङ्गले केही आकार लिन खोजिरहेको भान हुन्थ्यो । सहर चलायमान बनेको एकातिर थियो भने दिउँसमास हेटौँडा बजारको मूलचोकको फुटपाथमै तमासे बनेको हाम्रो बसाइँ हिँडेको झिटी अर्थात् काठको गह्रुङ्गो र भारी लाग्ने सन्दुक, मानी हल्लिने र हातो फुस्किएको घट्टे ढुङ्गाले चिनेको जाँतो, बुनोट खुकुलिएको मान्द्रो र चलनचल्तीको गलैँचाभन्दा ठुलो पराले सुकुलले बनाइरहेको नोस्टाल्जियामा यो उक्ति यसरी खेल्न थाल्यो कि ४०/४५ वर्षअघिको बसाइँ हिँडेको थातथलोको सबै कुरा मस्तिष्कभरि फनफनी रिङ्न थाल्यो ।

फराकिलो फुटपाथमा (१२/१३ वर्षको फुच्चेलाई हेटौँडा बजारको गोर्खाली साहुहरूको पसल कुनै बेलाको महेन्द्रचोक र हालको बुद्धचोकअगाडिको फुटपाथ खै किन हो कुन्नि निकै फराकिलो लागेको थियो) सन्दुस, ठुलो सुकुल, मान्द्रो ओढेर बसेको जाँतोसँगै झिटीगुन्टाको उरुङ अर्थात् खातमाथि खात अनि ध्वाँसै ध्वाँसोले कालाम्मे अनि अनिश्चित भविष्यको दोछायाले आँखा, मन र मस्तिष्कको कुनाकुना धब्बा लाग्न पुगेको थियो ।

तिसको मध्यदशक हिउँद निख्रँदो वा यो भनुँ माघको आधाउधी हुँदो हो, यस मोडलको ट्रकभरि भाँडाकुँडा, थोत्रो हुन हुन आँटेको केही थान खाट, धुँवैधुँवाले लेपासिएको भोटे ताल्चा ठोकिएको कालो ध्वाँसोको कात्ति जम्न तयार वा तरखरमा रहेको सन्दुस, पिठो र आलै देखिने दलहनका कनिका टाँसिएको घट्टे ढुङ्गाको हल्लँदो मानी बोकेको छिरबिरे जाँतो, भकारी बन्न बाँकी मान्द्रो र दर्जनौँ पोका पन्तुराको रासमाथि टुक्रुक्क बसेका हामीले खै कति समयका लागि बाजे बराजुका थातथलो अन्ततः छाडेर बसाइँ हिँडिए छ ।

मकवानपुरको पालुङ सहरबाट हामी बसाइँ हिँडेका खास ठाउँ बारा जिल्लाको सिमरा थियो । खै कुन संयोगले हो, अपराह्न २/३ बजेको समयमै त्यतिखेरको चल्तीको बजार एवं गोर्खाली र काले साहुहरूलगायतको पसल सामुन्नेको इँटैइँटाको फराकिलो छपनी या फुटपाथभरि मान्छेहरूको दोहोरी लत्तो भएको ठाउँमा ट्रकवालाले हाम्रो झिटी झारिदिएको थियो ।

बाले ड्राइभरसँग निकै बेर खै के के त भन्नु भो तर उनीहरू गल्दै गलेनन् र अन्ततः फुटपाथमा हाम्रा झिटी गुन्टा बग्रेल्ती छरिएबराबर भो । बाआमाले फुटपाथभरिको भाँडोचिन्डो बटुलबाटुल त पार्नु भो । यो बटुलबाटुलको प्रथम दृश्यमै हाम्रा झिटीगुन्टाका वरिपरि मान्छेहरूको तमासा र ताँती लागिसेकेको थियो । कोही कोही त चिनारूहरू पनि निस्किए । उनीहरूको विस्मयमाथि हामी हावी हुन सकेनौँ ।

गाडीवालाले हाम्रा बसाइँ हिँडेका मान्छे र सामानहरूको यस किसिमको व्यवहार हामीलाई ठिक जँचेको थिएन । यतिखेर लागिरहेछ किन हामीलाई तिनीहरूले निम्छरामाथिको व्यवहार गरे । पालुङको प्रतिष्ठित मास्टर अझ उहाँको ससुराली पनि यहीँ तैपनि किन यसरी अपमानित भएर फुटपाथभरि छिरोलिएको झिटीगुन्टालाई स्याहारेर बस्नु परेको होला ? तथापि हामीलाई यतिखेर यस्तो लागेको थियो कि त्यत्तिको निरीह त जीवनमै हुनु परेको थिएन भन्नुस् । बा प्रतिष्ठित शिक्षक, पुरोहित र ज्योतिष । सन्तानको वर्तमान, भविष्य र क्षितिजमा देखिएको बडेमानको सपना पकड्न बसाइँ हिँडेका थियौँ । खानलाई धौधौ भएर होइन । अतिसय दुःखको भवसागर तर्न नसकेर पनि होइन । 

खै कुन सड्को बालाई तराई झर्न मन लागेछ क्यार केही नजिकका आफन्तसँग केही बिघा खेत स्याहार्न सिमरा झरेरै छोड्यौँ । अहिलेको सूर्य टोबाको कम्पनीको पश्चिमपट्टि र नरबस्तीको पूर्वपट्टि खेत हामीसँगै आउनुभएकाहरू चाहिँ त्यतै बस्नु भएपछि अथवा यसो भनौँ कि बाको शिक्षकको सरुवा सिमरामा नभएर हेटौँडाको भुटनदेवी व्यावसायिक माध्यमिक विद्यालयमा भएकाले हाम्रो सिमराको बसाइँ स्थायी हुनै पाएन ।

मैले कक्षा ८ मा नाम लेखाए पनि पढ्न पाइनँ । महासंयोग भनुँ मैले सुनेको सिम्रौनगढ जितपुरको श्रीमाध्यमिक विद्यालयको कक्षा ८ को विद्यार्थीका नाताले घुमेर आउन पाएँ । यो पनि भन्दा फरक पर्दैन कि जीवनकै पहिलो शैक्षिक भ्रमण, जीवनकै पहिलो रेल यात्रा (रक्सौलदेखि घोडासहन स्टेसनसम्म) जीवनमै पहिलो स्वाद पाएको पकौडा, तरुवा र भुजाको उदरपूर्ति सिम्रौनगढको शैक्षिक यात्राले दिलाएको भन्न पाउँदा मात्रै पनि त्यहाँ घुम्दा पाएको आनन्दातिरेकको नोस्टाल्जिक झन् गाढा भएर आउँछ । 

हाम्रो सन्दुक, सुकुल र झिटीगुन्टा अझै पनि फुटपाथमै छ । मान्छेहरूको रमाइलोको एउटा दृश्यांश लाग्छ, हाम्रो त्यो फुटपाथको झिटीगुन्टा अनि हरेकका आँखाको गहिरो तिखो दृष्टि हामीतिरै  पर्छ । मानौँ हामी भयानक तमासा बोकेर फुटपाथमा प्रदर्शन गरिरहे छौँ । हाम्रा झिटीगुन्टामा कति पटक त मानिस ठेस लगाएरै हिँड्छन् । आमा झिटीगुन्टा यसो स्याहार्नु सार्नु हुन्छ अनि हामीतिर हेर्नु हुन्छ लयालु र मायालु दुवै पारामा ।

आमालाई यो के भएको बज्यै भनेरधरी सोध्न भ्याइहाल्छन् । हामी टाक्राकटुक्रुक त्यतै कतै कहिले सुकुलमाथि, कहिले झिटीगुन्टामाथि त कहिले बजारको रमिता त कहिले आमाका पिठ्युँमा ढेपास्सिएर भोकको आलसतालसमा त कहिले निद्राको आक्रमणबाट बँच्न आङ तन्काएर अन्त्यहीन अनिश्चयको बन्दी बन्नु परेको थियो । 

साँझसाँझ पर्न के थालेको थियो फेरि अर्को एउटा खाली ट्रक हाम्रो झिटीनजिक आएर रोकियो । हामीलाई झनै कस्तो कस्तो लाग्यो अब कता जान्छौँ होला ! भटाभट कुल्लीको हातबाट उही सन्दुक, सुकल, गुन्द्री, मान्द्रो, जाँतो, लुगाफाटा र ओछ्यानको गुन्टा फेरि ट्रक चढ्यो कहाँ पुग्नलाई हो हामीलाई थाहा छैन भने के थाहा झन् यो झिटीगुन्टालाई ! ट्रक लिएर माइलो मामा आउनुभएको रहेछ । उहाँ नेपालकै विख्यात मोटर मेकानिक माइला मिस्त्री (फत्तेबहादुर डङ्गोल) को कारखानामा उही मेकानिककै काम गर्नु हुन्थ्यो र यो उहाँकै सौजन्यतामा मिलेको ट्रक थियो जस्तो लाग्थ्यो ।

साँझ रातको सुरुङमा छिर्दै थियो । जुन रातको सुरुङभित्र छिरेर यही ट्रकले हामीलाई तराईको सिमरातिर हुइँक्याएर लग्यो । जहाँ न हाम्रो बस्ने बास न खाने टुङ्गो । बरु हेटौँडाको फुटपाथै सही मामाघर त थियो ।

सँगै बसाइँ आउने भनेकाहरू अलिक अगाडि आएर डेराडन्डा जमाएरै बसिसकेका थिए । हाम्रो त थाहा पाएसम्म पालुङबाटै कहिले हिँड्ने थाहै थिएन । बिहानै एकैचोटि फूलपातीचौरमा मोटरमा झिटी ओसार्न थालेपछि मात्र थाहा भो, हामी बसाइँ सर्ने रे ! कहाँ हो कहाँ सिमरातिर हिँडेको रे ! मामाघर आउँदा नै के के न भयो हुन्थ्यो । मोटरको यात्रा । मामाघरबाट पनि उतै रे चुरियाबाट झर्ने रे भनेपछि कस्तो कस्तो लागेको थियो ।

आफ्नो थातथलो चटक्कै छाड्नु भनेको सजिलो र रमाइलो मेरो हकमा चाहिँ लागु भएन नै । मैले माटो र गाईवस्तुको गन्ध थाहा पाएको, गुराँसको रङ चिनेको र फराकिलो आकाश हेरेको ठाउँबाट कक्षा ७ को अञ्चलस्तरीय परीक्षा दिएर हिँडेको मसहित दुईटा बहिनी एक भाइ । सानो भन्नु भाइमुनिको साइँली बहिनी । म नै त्यस्तै १२/१३ वर्षे फुच्चे केटौले उमेरको भनौँ । अझ जेठो बाठो बनी टोपालेको भनूँ न । त्यसपछि त सबै भान्टाङभुन्टुङ । 

बाटोमा पर्ने पशुपतिनगर, रातोमाटे, चुरियामाई, ३, २, १ नं. पुलहरू, अमलेखगन्ज, आधाभार, पथलैयाको नामसम्म सुनेको रातसाँझ परेकाले कतै केही थाहै भएन । बाटो सरेको कि मोटर हिँडेको केही छुट्याउन सकिएन । बाटैमा रात प-यो । त्यसैले राति पुगिएछ । ट्रकको पछाडि । अहिले भए उफाथ्र्याे होला । आमाको काख र झिटीगुन्टाको रासमाथि भुसुक्कै भइएछ । उतै पुगेपछि “ए उठ केटाकेटी हो उठ सिमरा आइपुग्यो” भनेकोसम्म सम्झना छ ।

सबै विरानो परिवेश । धुँवैधुँवाको नजानिँदो कोइला कोइला पोलेको गन्ध, उखुको खुँदोको गन्ध, पराल बालेको गन्ध, पछि थाहा भयो त्यो त घुर ताप्न बालेको घु-यान र परालको पो गन्ध फैलिएको रहेछ । खै कस्तो कस्तो वातावरण बिचोबिच कुनै घरको आँगनीछेउको घुम्ती जस्तोमा बस्ने व्यवस्था हुन थाल्यो क्यार । उती साह्रो सम्झना भएन । यति थाहा भयो हेटौँडाको फुटपाथको तमासाबाट सिमराको कसैको घरको आँगनमा गएर हाम्रो झिटीगुन्टाको उसैपरि रास लाग्यो । रास घटाउनतिर लागेका बाआमाले कतिखेर खाना बनाएर खुवाउन भ्याउनू र खै ! जसोतसो त्यो रात कतै खाँदिएर, बाङ्गिएर, कुप्रिएर निदाइएछ कि के हो बिहानको हल्लाखल्लाबिच बिउँझाइयो । जिउ तन्काउँदै उठ्यौँ उठ्न त उठेर के गर्नु कहाँ जानु भो । 

हामीसँगै बस्ने र बसाइँ हिँड्ने हिँडाउने भनेकाहरूको एक खाले बन्दोबस्ती भइसकेको थियो । पढ्न जानेहरू पढ्न जाने । घर बस्नेहरू घरै बस्ने । उहिल्यैदेखिको हो ख्वाउने, पकाउने जिम्मा आमाहरूबाट अरू कसैकोमा जिम्मा सरेको थाहै थिएन अझ भनौँ भएन । बाहरू अब कसरी यहाँको चाँजोपाँजो मिलाउने कचहरीमै व्यस्त देखिन्थे ।

धमिलो र रमरम सम्झनामा मैले पनि उही स्कुल, उही शैक्षिक भ्रमणवाला, उही रेल चढाउनेवाला, उही पकौडाको टक जिब्रोमा चखाउनेवाला जितपुरको हाइस्कुलमा पढ्न जान थालेँ क्यार । म सम्झने मामलामा एकदमै कमजोर छु । तैपनि सके जति सम्झेर घटनावलीको फेहरिस्त बनाउन पाएँ । 

समयको क्रमाङ्क रोकिनेवाला कहाँ छ र ! सबै सबै आआफ्ना चक्रमा घुम्न थालिहाले नि भन्दाभन्दै सिमराको बसाइँ पनि छोट्टिँदा मैले कुनै सुइँको नै पाइनँ । मेरो केही दिनको पढाइसँगै शैक्षिक भ्रमणबाट फर्केको मात्र के थिएँ, त्यहाँ त न आमा न बा । न भाइ न बहिनी । म शैक्षिक भ्रमणमा के निस्केको थिएँ । बा पनि पढाउने स्कुल अर्थात् पालुङतिर फर्कनु भएछ । आमा र उहाँको पछिलागेका भान्टाङभुन्टुङ सिमरामा बस्ने वातावरण खै किन र कसरी हो बन्न सकेन छ ।

रातारात कसरी पो हो आमाले ट्रक खोजेर बन्दोबस्तीका साथ हेटौँडा अर्थात् आमाको माइती गाउँ अर्थात् पशुपतिनगर लामसुरे सिमेन्ट रोड नं. १ मा डेराडन्डाका साथ बस्नुभएको रहेछ । डेरा कुनै नेपाल थरको टायलको छाना भएको घरको तलमाथि ह्वाङह्वाङ्ती भएको घरमा कोठा आफ्नो आवश्यकता हेरी बनाउन सकिन्थ्यो । यस घरमा पनि केही समय बसेपछि त्यही सडकको त्यही साइडको अलिपर एउटा कत्तरेघर किनेरै स-यौँ ।

त्यसपछि बाको पनि पालुङबाट हेटौँडाको प्रतिष्ठित हाइस्कुल भुटनदेवी माविमा सरुवा भयो भने हाम्रो बासस्थान हेटौँडा पशुपतिनगरबाट हेटौँडाकै सानोपोखरामा झन्डै वर्ष दिन जति रामबहादुर महतको घरमा डेरा जमाइयो । बारा जितपुरबाट मेरो ८ कक्षा हेटौँडाको भुटनदेवी माविमा स्थानान्तरण भयो । यो डेराबाट नौमा पढ्न जानु परेन । ठ्याक्कै पारिपट्टि हाल अब्बलडाँडा त्यतिखेरको औलडाँडामा (अहिले अब्बल डाँडा) । आफैँले नामकरणमा अगुवाइ गरेको) ।

२०७२ वैशाख १२ गते, दिउँसो १२ बज्न बज्न थालेको बेला इपिसेन्टरमा वारपाक भूकम्पले भयानक कोलाहल सिर्जना गरेर सन्त्रास फिँजायो । मेरो टोलका केही घरहरू चर्के, थर्किए, भत्किए । हो यही भत्किएकामध्ये एउटा घर हाम्रो पनि प-यो । डेरा जिन्दगीको स्वकहानी सिर्जना हुनलाई हो कि त डेरा नं. १, डेरा नं. २ हुँदै २०७६ साल असोज ११ सम्म बसियो ।

भूकम्पको कम्पन यतिसम्मको जोडले आएछ कि यसले उछिट्याएर ५ नं. वडाको सानोपोखरा अब्बलडाँडाको चालिसौँ वर्षको रसोबासबाट ४ नं. वडाको हुप्रचौरमा बसाइँ हिँडायो । हाम्रो नयाँ आवास ‘गन्तव्य’ को ढोकाभित्र प्रवेश गरेर डेरा संस्करणको बिट मा-यौँ । 

  

Author

साम्ब ढकाल