• १३ साउन २०८१, आइतबार

बाँकेमा लक्ष्यभन्दा निकै कम धान खरिद

blog

खाद्य व्यवस्था कम्पनी नेपालगन्जमा धान खरिद गरिरहेकाे अवस्था । तस्विर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, पुस ६ गते । बाँकेमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यका साथ यस वर्ष धान खरिद शुरु गरिए पनि आठ हजार क्विन्टल मात्र धान खरिद भएको छ । 

नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत मङ्सिर ६ गतेबाट धान खरिद शुरु गरेकोमा दुईसय जना किसानले मात्र कम्पनीमा पुगेर आठ हजार क्विन्टल धान बिक्री गरेका छन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले कम्पनीले ७ हजार क्विन्टल मध्यम र एक हजार क्विन्टल मोटो धान गरेर आठ हजार क्विन्टल धान मात्र खरिद गरेको बताउनुभयो । 

उहाँले गत केही दिनदेखि किसानहरु धान विक्री गर्न आउन छाडेको जनाउँदै अब थप धान खरिद हुने सम्भावना नरहेको बताउनुभयो । 

धान बिक्रीका लागि नाम दर्ता गराएका केही किसान पनि धान बिक्रीका लागि नआएको प्रमुख लामिछानेको भनाइ छ । 

उहाँले एकजना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद शुरु गरिएकोमा जिल्लाका २०० किसानको धान खरिद गरिएको बताउनुभयो । 

यस वर्ष नेपालगन्जमा ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान गरेर ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा धेरै कम धान खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । 

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ कायम गरेको थियो । कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा शुरुमा धान विक्री गर्न आउनुभएका अधिकांश किसानले कम्पनीले ढिलाे गरी खरिद शुरु गरेको प्रतिक्रिया दिनुभएको थियो । 

तर पछि धेरै किसान धान विक्रीका लागि नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।