• १३ साउन २०८१, आइतबार

बाँझो जमिनमा आलु खेती

blog

अमरगढी समाचारदाता

डडेलधुरा, पुस ६ गते । एक दशकदेखि बाँझो रहेको जमिनमा आलु खेती गरिएको छ । जमिनलाई चारैतिरबाट तारजालीले घरबार गरिएपछि आलु खेती गरिएको हो । अमरगढी नगरपालिका–५, सेलागाउँका खेतमा यस वर्षदेखि व्यावसायिक तरकारी खेती सुरु गरिएको छ । बदलिँदो परिवेशसँगै सेलागाउँका अधिकांश परिवार बसाइँ सरेर तराईतिर झरिसकेका छन् । गाउँमा हाल ३९ घरधुरीको बसोबास छ ।कोही तराईतिर, कोही राजमार्ग छेउछाउतिर बसाइँ सर्दै गएपछि सेलागाउँको खेतबारी बाँझो रहेको थियो । 

पछिल्लो समय हावापानीमा आएको परिवर्तनको असरका कारण पनि खेतीपाती छाड्ने बढे भने जङ्गली जनावरको आतङ्कले खेतीपातीमा लागेको मेहनत नफर्किएपछि करिब एक दशकदेखि सेलागाउँको करिब दुई हजार पाँच सय रोपनी जमिन बाँझो रहेको थियो । 

गाउँको सिरानमा पञ्चायतकालमा निर्माण भएको करिब पौने दुई लाख लिटर क्षमता भएको पानी पोखरी छ । सो पानी वितरणका लागी पाँच वटा सहायक पोखरी पनि छन् । कृषिका लागि अत्यावश्यक भौतिक संरचना भएर पनि कृषि कर्म छोडेका सेलागाउँवासी हत्तपत्त कृषिमा फर्कन चाहेका थिएनन् । स्थानीय खेमराज अवस्थीका अनुसार केही समयपहिले सेलागाउँमा अवस्थी परिवार समाजको गठन भयो । समाजले सेलागाउँको बाँझो जमिनमा हरियाली फर्काउने सपना बुन्यो र त्यही अवस्थी परिवार समाजले असिग्राम कृषि तथा पशुपालन समूह बनाएको हो । अवस्थी परिवार समाजका केही अगुवाले गाउँको बाँझो जमिनमा सुन फलाउन सकिने भन्दै गाउँलेलाई उत्प्रेरणा दिन थाले । समूहले काम सुरु गरेसँगै सहयोग गर्ने हातहरूले हौसला दिइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु पकेट क्षेत्र निर्माणका लागि करिब पाँच सय रोपनी क्षेत्रफललाई तारजालीले घेरबार गर्न सहयोग गरेको छ । साथै ५० प्रतिशत अनुदानमा आलुको बिउ दिएको छ । पहिलो वर्ष परीक्षणका लागि २८ परिवारले २८ क्विन्टल आलु लगाउनुभएको छ । उहाँका अनुसार आगामी वर्ष एक सय क्विन्टल आलु लगाउने लक्ष्य राखिएको छ । कृषि ज्ञान केन्द्र डडेलधुराको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा डडेलधुराको एक हजार ९० हेक्टर, आव २०७९/८० मा एक हजार १७० हेक्टरमा आलु खेती भएको थियो । कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख पनेरूका अनुसार बिउका रूपमा प्रयोग हुने आलुको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको छ भने बाँकी ५० प्रतिशत निर्यात हुने गरेको छ ।