• ५ जेठ २०८३, मङ्गलबार

दुई सयभन्दा बढीको आँखाको निःशुल्क शल्यक्रिया

blog

आखाँको शल्यक्रिया गर्न पर्खाइमा बसेको कमलामाई नगरपालिका–१२ का ज्येष्ठ नागरिकहरु । तस्बिर : बाबुराम देवकोटा ।

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, पुस २ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले दुई सय ५० जना मोतिबिन्दु रोग लागेर छनाेट भएका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । जिल्लाका विभिन्न दश ठाँउमा आँखाको शिविर चलाएर छनाेट भएका ती बिरामीको पुस ६ र ७ गते सदरमुकाम सिन्धुलीमाढीस्थित रेडक्रस आँखा केन्द्रमा शल्यक्रियाको तयारी गरिएको शाखाले जनाएको हो ।

जिल्ला शाखा सभापति अशाेक श्रेष्ठले दुधौली नगरपालिका, कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामी फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडाै‌ं, जानकी आँखा अस्पताल जनकपुर, कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकालगायतका निकायको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त दुईदिने निःशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन हुने भएको हो ।

"यो वर्ष दुई सय ५० देखि तीन सय जनासम्म मोतिबिन्दु भएका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने योजना छ", उहाँले भन्नुभयो, "जहाँ आवश्यक छ, त्यहाँ आँखाको शिविर सञ्चालन गरि मोतिबिन्दु भएका बिरामी खोज्छौं र उनीहरुको निःशुल्क आँखाको शल्यक्रिया गरी उपचार गर्छौं ।"

आँखाको शिविर सञ्चालन गरेको ठाउँमा आवश्यकता अनुसार निःशुल्क औषधि र चश्मा पनि वितरण गर्दै आएको उक्त शाखाले जनाएको छ ।