• १३ साउन २०८१, आइतबार

पर्यावरणीय कृषि विकासमा जोड

blog

काठमाडौँ, पुस २ गते । पर्यावरणीय एवं वातावरणीय हानिबिना नै प्रविधिको विकास गरी प्रकृतिमैत्री कृषि निर्माणमा लाग्नुपर्ने सरोकारवालाले जनाएका छन् । कृषिमा विभिन्न स्रोतबाट लगानी आइरहेको उल्लेख गर्दै उनीहरूले ती लगानी प्रकृतिमैत्री प्रविधि विकासमा लगाउनुपर्ने कुरामा जोड दिएका छन् । 

खाद्यका लागि कृषि अभियानले आइतबार आयोजना गरेको आवधिक योजनामा खाना र खेतीपाती : पर्यावरणीय कृषिको प्रस्तावना विषयक छलफल कार्यक्रममा सो धारणामा जोड दिएका हुन् । १६ औँ आवधिक योजना निर्माणको पूर्वसन्ध्यामा भएको कार्यक्रममा कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले पर्यावरणीय र वातावरणीय हानिविहीन प्रविधिको विकास गर्न जोड दिनुभयो । 

पारिवारिक खेतीले मात्र किसान टिकाउन नसकिने बताउँदै उहाँले कृषि विकासका लागि वातावरणीय विकासमा जोड दिनुका साथै सामूहिक खेतीमा जोड दिनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले विभिन्न देश आवधिक योजनाबाट समृद्ध बनेको उदाहरण दिँदै योजनाका लक्ष्य कोरोना र अन्य प्रतिकूल अवस्थाको कारणले पूरा हुन नसकेको बताउनुभयो । असल योजनाको निर्माण भए पनि कार्यान्वयनको प्रश्न उठेको उहाँले बताउनुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले कृषि क्षेत्रको आयातको तथ्याङ्कलाई सतही व्याख्या हुने गरेको बताउनुभयो । योजना निर्माण गर्ने क्रममा दिगो खेतीका कुरा छलफल गरी समावेश गरिएको बताउँदै उहाँले योजनामा संलग्न गरिएका कुरा कार्यान्वयन हुन नसके पनि दिगो कृषि विकासका कुरा समेटिएको बताउनुभयो । नेपालको कृषि विकासमा पूर्ण पर्यावरणीय कृषि तत्कालै सम्भव नहुने बताउँदै उहाँले रसायन र पर्यावरणको अतिवादबाट बिचको बाटो खोज्नुपर्ने बताउनुभयो । 

कृषिविज्ञ छवि पौडेलले पर्यावरणीय कृषिलाई पारम्परिक कृषि नभई विज्ञानका रूपमा बुझ्नुपर्ने र पारिवारिक कृषिलाई फराकिलो रूपमा बुझ्नुपर्ने बताउनुभयो । त्यस्तै राष्ट्रिय किसान समूह महासङ्घका महासचिव रिता बस्ताकोटीले पारिवारिक कृषिको मर्म सरकार र सरोकारवालाले नबुझेको गुनासो गर्नुभयो । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्रसार निर्देशक महेश जैसीले कृषि प्रसार, कृषि अनुसन्धान र विकासको सहअस्तित्व निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।