• १६ भदौ २०८१, आइतबार

‘नमुना काम गरेका छौँ’

blog

नरेन्द्रकुमार चौधरी अध्यक्ष, डुडुवा गाउँपालिका

पश्चिम नेपालको सुगम र ठुलो उपमहानगर नेपालगन्जसँगै जोडिएको छ, डुडुवा गाउँपालिका । विकास निर्माणमा छिटो अगाडि बढ्ने चुनौती सामना गर्दै नरेन्द्रकुमार चौधरी लगातार दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । शिक्षा, स्वास्थ्य, पशुपालन र कृषिका क्षेत्रमा देशमै नमुना काम गरेको उहाँको दाबी छ । प्रस्तुत छ, गाउँपालिकाका अध्यक्ष चौधरीसँग गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानले गर्नुभएको कुराकानी :

 जनप्रतिनिधिका रूपमा यस अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

डुडुवा गाउँपालिकाको छट्टै पहिचान रहेको छ । मेरो दोस्रो कार्यकालको हालसम्मको मूल्याङ्कन गर्दा राम्रै बितेको छ । गएको वर्ष बजेट अभावमा खासै विकास निर्माणलगायतको कार्य प्रगति नभए पनि विशेष गरी रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको छ । दोस्रो कार्यकालको पहिलो वर्षमा डुडुवाले स्वास्थ्य, पशु र कृषिमा नमुना काम गरेपछि त्यसलाई अझ प्रभावकारी र निरन्तरतासँगै अब शिक्षालाई विशेष जोड दिइएको छ । शिक्षा क्षेत्रमा सुधारका लागि अहिले अघि बढेका छौँ । गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माणपश्चात् सेवाको गुणस्तरीयतासँगै कार्यसम्पादनमा सहज भएको छ । पालिकाले पशु स्वास्थ्य सेवा अभियान अन्तर्गत निःशुल्क पशुको परीक्षण तथा औषधोपचार र नश्ल सुधार कार्यक्रमले किसान लाभान्वित भएका छन् । घर घरमा स्वास्थ्य सेवा अभियान अन्तर्गत स्वास्थ्योपचारको सेवा प्रभावकारी बनाइएको छ । तीन स्थानमा निःशुल्क प्रयोगशाला स्थापना गरी सेवा दिइरहेका छौँ । 

पालिकाको विकासका लागि काम गर्न कति चुनौती छ ? 

अहिले काम गर्न निकै चुनौतीपूर्ण अवस्था छ । विपक्षी दलहरूको भूमिका नकारात्मक रहेकाले काम गर्न अप्ठ्यारो परेको छ । उनीहरू वास्तविक कुरामा नगई निश्चित स्वार्थका लागि बेलाबखत अनावश्यक रूपमा विभिन्न सूचना माग्ने, बखेडा झिक्ने र सामाजिक सञ्जालमा गलत सूचना प्रवाह गरिरहेका छन् । कुनै कुरामा असहमति छ भने प्रत्यक्ष रूपमा भेटेर कुरा गर्न म तयार छु । वास्तविक कुरा नबुझी सत्य तथ्य नखोजी हावाका भरमा कोही पनि जानुहुँदैन । 

पालिकाले के काममा आफूलाई नमुना बनाउन खोजेको छ ? 

डुडुवा गाउँपालिकाले पशुपालनमा विशेष ध्यान दिएको छ । अहिले विशेष गरी पशु र पशु स्वास्थ्यमा देशकै नमुनाका रूपमा डुडुवाले काम गरिहेको छ । किसानले पालेका गाईवस्तुलगायतका जनावरको निःशुल्क औषधोपचार गरिएको छ भने गाईभैँसीको नश्ल सुधार गरी उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिएको छ । घर घरमा पशु सेवा कार्यव्रmम अन्तर्गत सम्पूर्ण किसानको घरमा स्वास्थ्यकर्मीको टोली पुगेर पशु जाँच, निःशुल्क औषधी वितरण गरिएको छ । पशु अभियानले औषधी उपचार अभावमा थुप्रै जनावरको मृत्यु हुने कार्य नियन्त्रणमा आएको छ । पालिकाले सुरुकै वर्षदेखि पशु स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको छ । 

जनस्वास्थ्य सेवाको अवस्था कस्तो छ ? 

पालिकाले स्वास्थ्यको क्षेत्रमा पनि नमुनाका रूपमा काम गर्दै छ । घर घरमा स्वास्थ्य सेवा अभियान अन्तर्गत अहिले पालिकाको तीन स्थानमा निःशुल्क प्रयोगशाला, २४ सै घण्टा प्रसूति सेवा, सरकारबाट तोकिएको औषधीबाहेक अन्य सबै औषधी निःशुल्क रूपमा वितरण गरिएको छ । फोन गर्नेबित्तिकै स्वास्थ्यकर्मी घरमा पुग्ने गरेका छन् । ‘ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन भएपछि ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले घरमै उपचार सेवा पाएका छन् । घरमा उपचार सम्भव नभए पालिकाको स्वास्थ्य संस्थामा ल्याइन्छ । त्यहाँबाट पनि उपचार सम्भव नभए नेपालगन्जका ठुला अस्पतालमा लगेर राम्रो उपचार गराइन्छ । गाउँपालिकाका अध्यक्षसँग जोडिएको यो महत्वपूर्ण कार्यक्रमबाट ज्येष्ठ नागरिकले धेरै राम्रो लाभ लिएका छन् । 

कृषि उत्पादन, प्रशोधन र बजारीकरण कसरी हुँदै छ ? 

डुडुवा गाउँपालिकाले धान, गहुँ, मकै र मसुरोको बिउ उत्पादनलाई जोड दिएको छ । किसानलाई बिउमा आत्मनिर्भर गराउने पालिकाको रणनीति छ । धान, गहुँ, मकै, मसुरोको बिउ प्रशोधनका लागि प्रशोधन प्लान्ट जडान गरिसकिएको छ । अब त्यो सञ्चालनको प्रक्रियामा रहेको छ । बिउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि ६०० मेट्रिक टन क्षमताको बिउ भण्डारण घर निर्माण गरिएको छ । कोल्ड स्टोरमा आलु, प्याज, लसुन राख्न सकिन्छ । अब पालिकाका किसानले बाहिर गएर कोल्ड स्टोरमा आलुको बिउ राख्न पर्दैन । पालिकाले बिउमा आत्मनिर्भर गराउने योजना अघि सार्दा किसानलाई प्रत्यक्ष फाइदा हुने भएको छ । कृषिमा ठुलो लगानी गरिरहेको पालिकाले बगर खेतीलाई अगाडि सार्ने योजना बनाएको छ । राप्ती नदी र डुडुवा नालाले ठुलो जमिनलाई बगर बनाएको छ । त्यहाँ तोरी, मसुरो, लहरे बाली लगाउने रणनीति बनाइएको छ ।

तपाईका भावी योजना र कार्यक्रम के के हुन् ? 

डुडुवामा देशकै नमुनाका रूपमा स्वास्थ्य, पशु र कृषि क्षेत्रमा निकै फड्को मारिएको छ । विकास निर्माण, सामाजिक विकासका क्षेत्रमा नियमित काम भइरहेको छ । डुडुवामा यस वर्षदेखि पाँचवर्षे रणनीति बनाइएको छ । अब पहिलो प्राथमिकता शिक्षा रहेको छ, अहिले शिक्षा क्षेत्रमा सुधारका लागि विशेष योजना तयार गरिएको छ । पालिकामा शिक्षा, स्वास्थ्य, कृषि, पशु, विपत् व्यवस्थापन, बेरोजगारी, भूमिहीन समस्या, वन वातावरण र पर्यटनमा विशेष जोड दिइएको र विकास निर्माणमा गाउँ, टोल, समुदायमा सडक, नाला व्यवस्थापनका लागि पाँचवर्षे विशेष योजना निर्माण गरी कार्यान्वयन सुरु गरिएको छ । गरिब तथा अति विपन्न परिवारका छोरीको सामूहिक विवाह, कन्या मुद्दती शिक्षा योजनाले समाजको बालविवाहजस्ता कुरीति तथा सांस्कृतिक परम्परा न्यूनीकरणमा जोड दिइने लक्ष्य लिइएको छ । 

निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धताको अवस्था कस्तो छ ? 

पहिलो पाँच वर्षभित्र पनि मैले अध्यक्षको रूपमा धेरै काम गरेको छु । डुडुवाको हित र समग्र विकासका लागि थुप्रै लक्ष्य, उद्देश्यसाथ अघि बढेको र धेरै कामको सुरुवात गरेको तर ती कार्यलाई अब दीर्घकालीन बनाउनका लागि अझै फेरि एक पटक मौका पाएको छु । जनताको विश्वासलाई खेर जान दिने छैन । मेरा सबै प्रतिबद्धता अहिले कार्यान्वयनको चरणमा रहेका छन् । मेरो कामलाई जनताले प्रत्यक्ष रूपमा हेरिरहेका छन्, त्यसैले मैले गर्ने हरेक कामलाई प्रतिफल र जनताको हितमै गर्ने प्रतिबद्धता समेत गर्दछु । 

प्रदेश र सङ्घीय सरकारसँग समन्वय र सहकार्य कस्तो छ ? 

प्रदेश र सङ्घीय सरकारसँगको समन्वय पनि राम्रो छ । मैले गर्न नसकेको काममा प्रदेश र सङ्घीय सरकारबाट सहयोग माग्दै आएको छु र सहयोग प्राप्त पनि भइरहेको छ । सबैको सहयोगले मात्र विकास सम्भव छ ।