राधाकृष्ण डुम्रे
वालिङ, पुस १ गते । स्याङ्जाले दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको छ । गृह मन्त्रालयले १६ जिल्लाका सिडिओ हेरफेर गर्ने क्रममा स्याङ्जामा दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी पाएको हो ।
गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार स्याङ्जामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुनिता नेपालले पाउनु भएको छ । सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहनु भएकी नेपाललाई स्याङ्जाको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । स्याङ्जाका हालका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको गृह मन्त्रालयमा सरुवा भएको छ । यो भन्दा पहिले सहसचिव इन्दु घिमिरेले पहिलो प्रजिअको रूपमा जिल्लाको कमान्ड सम्हाल्नु भएको थियो ।