• २० असोज २०८१, आइतबार

विवाहपञ्चमी महोत्सव मनाइँदै

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, मङ्सिर ३० गते । त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र जगतजननी माता सिताविच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने सप्ताहव्यापी सिताराम विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लाससाथ मनाइँदै छ । 

जानकी मन्दिरमा आइतबार हुने वैवाहिक कार्यक्रममा बेदी निर्माणका लागि मंगलबार मटकोर कार्यक्रम सम्पन्न भएको छ । आज जानकी मन्दिरवाट बाजगाजाका साथ हजारौको संख्यामा निस्केको साधुसन्तसहित मैथलानी महिलाको लावालस्कर जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरी पुगेको थियो । 

महिलाले गंगाासागरवाट माटो निकालेर जानकी मन्दिर लगेका थिए । मटकोर कार्यक्रममा धनुषा क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतोसहितका महिला नेतृहरु र गायिकाहरुले विभिन्न किसिमका वैवाहिक माँगलिक गितहरु प्रस्तुत गर्दै मटकोर हेर्न आउने श्रद्धालुलाई मनोरञ्जन गराएका थिए । 

जानकी माताको मटकोर हेर्न हजारौको संख्यामा सर्वसधारणको उपस्थिति रहेको थियो । जानकी मन्दिरलाई झकिझकाउ पारिएको छ । आइतबार भगवान राम र सिताको डोलाविचमा स्वम्वर र राति जानकी मन्दिरको प्राङ्गनमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो । 

दुवैकार्यक्रमको तयारी पुरा भएको वैवाहिक कार्यक्रममा भारतका अयोध्यावाट जन्तीको रुपमा आउने साधुसन्त र स्थानीय सवै क्षेत्रका व्यक्तिको व्यापक सहभागिता रहने उहाँले बताउनुभयो । विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन जानकी मन्दिरको प्राङ्गनमा धनुषयज्ञ र चौथो दिन तिल्कोत्सवको कार्यक्रम सम्पन्न भइसकेको छ ।