• १३ असोज २०८१, आइतबार

नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौँ महानगरपालिका

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर ३० गते । काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।

महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो । 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका दाबी गर्नुभयो । उहाँले फोहोरजन्य चिजलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्नेतिर महानगरले काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको कुरा छ । यो नेपवेस्ट भन्ने संस्था हो । यो भन्दा पहिला नेपाल सरकारले लगानी बोर्डमा पास गरेर पठायो, त्यसमा अधुरा कुराहरू भएको कारणले लगानी बोर्डले निर्णय गर्न सकेन । नगरपालिकामध्येको महानगरपालिका भएको कारणले गर्दा यो प्रोजेक्टलाई महानगरपालिका भित्र ल्याइयो र यसलाई गहिरो अध्ययन गरिसकेपछि नेपवेस्ट भन्ने कम्पनी काठमाडौँ महानगरपालिका लगायतका लागि अझै अधुरै नीति नियम भएकाले फेरि यसलाई महानगरपालिका काठमाडौँले यसलाई नेपाल सरकारतिर नै लगिएको अवस्था छ ।’’ 

उहाँले भन्नुभयो, ‘‘त्यसको कारणले गर्दा बन्चरे डाँडामा रहेका यी समस्याको समाधान नहोला भन्नेकुरा होइनन् । हामी आफैँ पनि सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी अब हामीले विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका छौँ र फोहोरजन्य चिजलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्नेतिर हामी अघि बढिसकेको अवस्था छ ।’’ 

यता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गर्नुभएको छ ।

उहाँले फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा गर्नुपर्ने बताउनुभएको थियो । काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र सङ्घ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभएको थियो, ‘‘हामीले गर्ने कामहरू केही अझै बाँकी छन् । काठमाडौँ महानगरपालिकाले वाचा गरेका कामहरू धेरै बाँकी छन् । फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र सङ्घ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’’

महानगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गरे केही हदसम्म फोहोर व्यवस्थापन हुनेछ । नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट सहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ । त्यसका लागि घर र भान्साबाट फोहोर वर्गीकरण गर्न जान्नुपर्ने विज्ञहरूको राय छ ।