• ८ मंसिर २०८१, शनिबार

आँसु (कविता)

blog

हामी आँसु बहाइरहेछौँ 

जो भूकम्पले पुरिएर गए

जो पहिरोले लछारिएर गए  

हामीले विषादमा नरोएको भए

अनुभूतको आकाशबाट आँसु नबहेको भए

शुष्क पृथ्वी छट्पटाइरहन्थ्यो

आद्र्र आँसु स्वर्गबाट खसेको 

सञ्जीवनी अमृत

दुधको धारा

मुलायम मख्खनको मालिस 

संसारको कुन मानिस छ नरोएको ?

जन्मदै आँखामा आँसु लिएको नवजात शिशु होस्

वा अभिन्न सम्बन्ध जोडिएकाको मृत्यु होस्

दुःखमा होस् वा सुखमा होस्

मानवीय भावनाको मनोवेग आँसु ।

आँसु हाँसोको भत्करु

आँसु मरेको मनमा मलजल

आँसु प्रकृतिले दिएको उपहार

आँसु मुहान फुटेर निस्केको स्वर्गीय जल

आँसु छ र हामी छौँ 

सम्पूर्ण करुणालाई आँखाबाट विरेचित गरेर 

हामी रोऔँ, खुब रोऔँ

आँसु हाम्रो जीवन, हाम्रो शक्तिको ऊर्जा

हाम्रो नवीन गन्तव्यको नयाँ पाइला ।