• १३ असोज २०८१, आइतबार

नेपाली संस्कृतिको प्रचार गर्न आग्रह

blog

काठमाडौँ, मङ्सिर ३० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक अभ्यासमा जीवित रहेको नेपाली संस्कृति, परम्परा र कलाको प्रवर्धन गरी पर्यटनसँग जोड्ने अवसरको सदुपयोगका लागि आह्वान गर्नुभएको छ । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले परापूर्वकालदेखि नै हस्तकलाको संस्कृतिसहित समाजवादमा आधारित जीवन्त अभ्यास भइरहेको नेपाली समाज, परिवेशलाई अब पर्यटन र रोजगारीसँग जोड्नेतर्फ सोच्नुपर्ने बताउनुभएको हो  । 

मन्त्री किरातीले भन्नुभयो, “विश्वका अन्य मुलुक भौतिक विकास र प्रविधिका कारण धेरै अगाडि पुगेको यथार्थलाई नेपालसँग तुलना गरेर नेपाली समाजमा केही भएन भन्नु त्यति सान्दर्भिक छैन । बरु नेपालमा विविध जातजातिले मान्ने, पुज्ने फरक संस्कृति, कला, पहिरन, नृत्यको आकर्षणमार्फत पर्यटकको बसाइ लम्ब्याउने अवसरतर्फ ध्यान दिनु पर्छ ।” प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले १५ औँ प्राज्ञसभाको अवसरमा प्रतिष्ठानका भावी योजना, कार्यक्रमबारे प्रतिष्ठान परिवारसँग बृहत् छलफल हुने बताउनुभयो । 

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठान परिवारले ललितकलाको संवर्धन, प्रवर्धनका लागि देशभर विविध कला गोष्ठी, प्रशिक्षणको आयोजना गरी कलामार्फत शिक्षा, पर्यटन, अर्थसँग जोडिन प्रेरित गरिरहेको बताउनुभयो । उहाँले प्रतिष्ठानका आगामी कार्यक्रम योजनाबारे छोटो चर्चा गर्दै नक्सालस्थित सीता भवनलाई अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालयका रूपमा विकास गर्ने, नेपालका विभिन्न स्थानलाई सेरामिक, थाङ्का हब बनाउनेलगायतका योजना बनेको बताउनुभयो । 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति शम्भु राईले ललितकला क्षेत्रको उज्ज्वल भविष्यका लागि देशभर विविध गतिविधि सञ्चालन गर्ने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लक्ष्य फक्रिँदै जाओस् भन्ने शुभकामना दिनुभयो । प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले ललितकला विषयलाई पाठ्यक्रममा समावेश गरी अनिवार्य विषयका रूपमा पठनपाठन गराउन सके थुप्रै रोजगारी सिर्जना हुनुका साथै कलाकार जन्माउन पनि प्रेरित गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।