काठमाडौँ, मङ्सिर ३० गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अहिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाटै सुधारको काम सुरु गर्नुपर्ने देखिएको बताउनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १३ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै सचिव दुवाडीले भन्नुभयो, “सहकारी क्षेत्रमा हाल देखिएको समस्या समाधानका लागि माथिल्लो निकायबाट काम सुरु गर्नुपर्ने देखियो ।
सहकारीमा देखिएका समस्या तलबाट सुधार गरेर भएन । अब लेखा जाँच कडाइसाथ गर्छौं । ऐन तथा नियम पालना पनि कडाइसाथ गराउँछौँ ।” सञ्चालक र सदस्यहरूमा विश्वासको सङ्कट उत्पन्न हुँदा समग्र सहकारी क्षेत्र नै धर्मराएको भन्दै उहाँले सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आएको स्पष्ट पार्नुभयो ।
केही सहकारीमा आएको सुशासनको कमीले गर्दा समग्र सहकारीमा समस्या देखिएको भन्दै उहाँले सञ्चालक र सदस्यहरू नियमनमा बाँधिन नसक्दा समस्या आएको दोहो¥याउनुभयो ।
सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले सहकारी क्षेत्रको समस्या समाधानका लागि कार्यदलले दिएको सुझाव कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । पछिल्लो समय सहकारीमा विश्वासको वातावरण अभाव हुँदा पनि ठुलो सङ्टक आएको भन्दै उहाँले यो समस्या समाधानका लागि सबैले आआफ्ना ठाउँबाट समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
समस्या समाधानका लागि अभियानकर्मी र नियामकको सहकार्य औँल्याउँदै उहाँले भन्नुभयो, “हामीबाट पनि विगतमा केही कमीकमजोरी भएको हुन सक्छ । त्यसलाई सुधार गरी अगाडि बढ्नुपर्ने चुनौती सबैमा छ । सदस्यहरूमा विश्वासको वातावरण सिर्जना गर्नुपर्ने दायित्व हामी सबैको हो ।”
कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामहरि बजगाईं, जिल्ला सहकारी सङ्घ काठमाडौँका सचिव बालकुमार बास्तोला, सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईं, पूर्वअध्यक्ष डिल्लीप्रसाद सापकोटा र निवर्तमान अध्यक्ष खिलानाथ दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सिजेएनमा नयाँ कार्यसमिति
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १३ औँ साधारण सभाले काजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया, सहसचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधवकुमार खड्का चयन हुनुभएको छ । सदस्यमा बलराम बुढाथोकी, नमिता दुलाल रहनुभएको छ ।