• १३ साउन २०८१, आइतबार

धनकुटामा सुन्तला उत्पादन बढ्यो

blog

धनकुटा नगरपालिका-३ सिप्तीङमा उत्पादन गरेको सुन्तला ग्रेडिङ गर्दै स्थानीय कृषकहरु ।

कबिराज घिमिरे 

हिले, मङ्सिर २९ गते । पछिल्लो समय सुन्तला उत्पादन निरन्तर ओरालो लागेको धनकुटामा यस वर्ष भने उत्पादन केही बढ्ने देखिएको छ । विशेषगरी खोकु स्थानीय र धनकुटा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको छ । 

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा आर्थिक वर्ष ०७७-७८ मा तीन हजार एक सय ५१ मेट्रिक टन, आर्थिक वर्ष ०७८-७९ मा तीन हजार एक सय २७ मेट्रिक टन र गत वर्ष दुई हजार ८ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष भने उत्पादन केही बढ्ने अनुमान छ । 

सुन्तला टिपाइ र बिक्रीको कार्य भइरहेकोले आधिकारिक तथ्याङ्क नआए पनि यस वर्ष १० देखि १५ प्रतिशत बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताउनुभयो । “निरन्तर ओरालो लागेको सुन्तलाको उत्पादन यो वर्ष भने धनकुटामा बढ्ने देखिएको छ । यो वर्ष सुन्तलाको लागि उपयुक्त मौसम भएकाले यसको उत्पादन बढेको हो,” रानाले भन्नुभयो ।

जिल्लाभरि आठ सय ७७ हेक्टरमा सुन्तला खेती हुने गरेको भए पनि पाँच सय १ हेक्टर क्षेत्रमा मात्रै उत्पादन हुने गरेको छ । उत्पादन भएको सुन्तला बगानबाटै प्रतिकेजी ५० देखि एक सय  रुपियाँमा बिक्री भइरहेको छ । गएको वर्ष सुन्तलाको उत्पादन निराशाजनक भए पनि यसपटक भने राम्रो उत्पादन भएको किसान राधा राईले बताउनुभयो । “यो वर्ष उत्पादन पनि छ र मूल्य पनि ठिकै छ खासै गुनासो गर्ने ठाउँ छैन,” राईले भन्नुभयो ।

धनकुटाका ७ वटै स्थानीय तहमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका जिल्ला हुँदै काठमाडौंसम्म पुग्छ । धनकुटाको सहिदभूमि गाउँपालिकाको खोकुमा उत्पादन भएको सुन्तलालाई एसियाकै गुलियो सुन्तला रुपमा लिने गरिएको छ ।