काठमाडौं, मङ्सिर २९ गते । चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ । बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो ।
केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.बीच सम्झौता भएको थियो । सम्झौतामा समिति र प्रा.लि.बीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुरुप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टिआरएस लोजिपार्कले लिएको छ ।
सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरु निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताउनुभयो । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपियाँभन्दा बढी आम्दानी गर्न सकेको उहाँले जानकारी दिनुभयो ।
‘‘विधिवत रुपमा चोभारको सुख्खा बन्दरगाह निजि क्षेत्रमार्फत सञ्चालन र व्यवस्थापन हुँदैछ । अब हामी कन्ट्रयाक म्यानेजमेन्टको पार्ट हेर्छौ । सुपरभिजन, कन्ट्रोलिङ नेपाल इन्टर मोडल यातायात विकास समितिबाट हुन्छ । सञ्चालन र व्यवस्थापन निजी क्षेत्रमार्फत हुन्छ । निजि क्षेत्रमार्फत् हामीले हातेमालो गर्दै सञ्चालन र व्यवस्थापन गर्ने गरेको छौँ । निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर पनि बढ्ने ।,’’ निर्देशक गजुरेलले भन्नुभयो, ‘‘र हाम्रो राज्यलाई आउने आम्दानी पनि बढ्ने देखिन्छ । नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सात वटा पोर्ट सञ्चालन भइरहेको छ । सबै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइराखेको छ । हामीले अघिल्लो वर्ष पनि पोर्ट सञ्चालनबाट १३५ करोड रुपियाँभन्दा बढी स्तरीय सेवा दिएर आम्दानी गरेका छौँ ।’’
निर्देशक गजुरेलले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताउनु भयो । उहाँले सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानी पनि बढ्ने जानकारी दिनुभयो । उहाँले सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिदाँ सेवा र आम्दानीको हिसाबले राम्रो परिणा देखाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सार्वजनिक, निजी साझेदारीको जुन अवधारणा छ, हामीले हाम्रो पोर्टहरुमा अप्लाइ गरिरहेका छौँ । यसले राम्रो परिणाम देखाएको छ । सेवाको हिसाबमा, आम्दानीको हिसावले र व्यवस्थित सञ्चालनको हिसाबले । हाम्रो राज्यका अन्य निकायले पनि यो सिक्नका लागि राम्रो केस स्टडी हुन्छ । यसलाई पूर्ण क्षमतामा चलोस् भन्ने हाम्रो उद्देश्य । जबसम्म काठमाडौं–तराई फाष्टट्रयाक बन्दैन तबसम्म यो पूर्ण क्षमतामा चल्दैन र पनि निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्छौं ।’’
उहाँले सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफुहरुको उद्देश्य रहे पनि काठमाडौं–तराई÷मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताउनुभयो । यद्यपि आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोशिस गर्ने बताउनुभयो ।
सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.ले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमुनाको रुपमा विकास गर्ने बताएको छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा.लि.का प्रतिनिधि अनन्त सिंहले आफूहरुले विराटनगर, काँकडभिट्टा, वीरगञ्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताउनुभयो । उहाँले चोभार सुख्खा बन्दरगाहलाई राम्रोसँग सञ्चालन गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।