• ४ जेठ २०८१, शुक्रबार

महानगरको स्वर्णिम योजना सम्पन्नपछि राजधानीको मुहार फेरिन्छ : उपप्रमुख

blog

२९ औं महानगर दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख सुनीता डङ्गोल । तस्बिर: केशब गुरुङ

काठमाडौं, मङ्सिर २९ गते । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै सङ्घीय राजधानीको मुहार फेरिने दाबी गर्नुभएको छ ।

शुक्रबार २९ औं महानगर दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं महानगरपालिकाले बृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएको बताउनुभयो ।

उपप्रमुख डङ्गोलले नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभइ नयाँ कामको पनि थालनी गरिरहेको जानकारी दिनुभयो । उहाँले हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढङ्गले पहुँच पुर्‍याउन निःशुल्क कानुनी सेवा उपलब्ध गराएको पनि बताउनुभयो । उहाँले महानगरका कामबाट महानगरवासी खुशी भएको अनुभूति गरेको बताउनुभयो ।

‘‘काठमाडौं महानगरपालिकाले बृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएका छौँ । नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभएर त्यस अलावा १० गौरवका योजनाहरु र २५ स्वर्णिम योजनाहरु अघि सारेका छौँ । ति योजनाहरु सफल र सम्पन्न भएसँगै काठमाडौं महानगरपालिका सङ्घीय राजधानीको मुहार फेरिनेछ ।,’’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘‘महानगरपालिकामा न्यायिक सुशासन कायम गर्नका लागि न्यायिक क्षेत्रमा विभिन्न आमूल परिवर्तन आउने नयाँ पाइला चालेका छौँ । हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढङ्गले पहुँच हुनुपर्छ भनेर हामीले निःशुल्क कानुनी सेवा उपलब्ध गराएका छौँ । मेलमिलापको सेवा पनि निःशुल्क प्रदान गरेका छौँ । महानगरपालिकामा अहिले न्यायमा पहुँच वृद्धि भएको छ । महानगरवासी भने खुशी भएको अनुभूति गरेका छौँ ।’’

उपप्रमुख डङ्गोलले महानगरपालिकाले विभिन्न नयाँसँगै सिर्जनात्मक क्रियाकलाप अघि बढाइरहेको बताउनुभयो ।