• २३ वैशाख २०८२, मङ्गलबार

मुग्लिन पोखरा सडक : आँबुखैरेनीमा थप साढे तीन किलोमिटर कालोपत्र

blog

दमौली,  मङ्सिर २९ गते । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीमा थप साढे तीन किलोमिटर खण्ड कालोपत्र भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डले आँबुखैरेनी–३ मा सडक कालोपत्र भएको हो । 

योसहित पूर्वी खण्डमा हालसम्म १२ दशमलव पाँच किलोमिटर एकतर्फी कालोपत्र सकिएको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । गत मङ्सिर २२ गते आँबुखैरेनी –३ गाउँपालिकाचोकदेखि पहिले कालोपत्र भइसकेको मार्कीचोकसम्म थप कालोपत्रको काम अगाडि बढाइएको थियो । 

उहाँले भन्नुभयो, “यसअघि बरादीदेखि मार्कीचोकसम्म कालोपत्र भइसकेको खण्डमा गाउँपालिका चोकदेखि कालोपत्र जोडिएको छ । अब अर्कोतर्फ कालोपत्रको काम अगाडि बढाउने तयारी गरिएको छ ।”

यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म तीन दशमलव पाँच र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । उहाँले भन्नुभयो, “दुई ठाउँमा एकतर्फी रुपमा १२ दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपछि अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।”

पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा हालसम्म ४२ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर दूरीको छ । 

आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको पाण्डेको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । 

राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि रु. २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । 

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भ २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलब ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशत मात्रै सकिएको बताइउको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु. सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । 

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।  रासस