• १३ असोज २०८१, आइतबार

राजदूतहरूको रोजाइमा सूर्योदय

blog

नेपालका लागि अस्ट्रेलियन जापान र स्विसका राजदूत इलाममा तस्बिर खिचाउनुहुँदै । तस्बिर: गोरखापत्र

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम) मङ्सिर २९ गते । सूर्योदय नगरपालिका पर्यटनमा अब्बल छ । स्वदेशी पर्यटकको रोजाइमा रहेका कन्याम र अन्तुमा विदेशी पर्यटकको समेत नजर पर्न थालेको छ । नमुना नगरको रूपमा विकास भइरहेको सूर्योदयमा अवलोकन भ्रमण आउनेको ताती लाग्ने गरेको छ । 

पछिल्लो समय सूर्योदय नगरपालिका विभिन्न देशका राजदूतको समेत गन्तव्य बनेको छ । मङ्सिर महिनामा मात्र तीन देशका राजदूतले नगरको भ्रमण गरी थप सहकार्यमा काम गर्न चासो राख्नु भएको छ । नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, नेपालका लागि स्विस राजदूत डेनियल म्युली र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सूर्योदयको भ्रमण गर्नु भयो ।  

उक्त अवसरमा स्विस राजदूत डेनियल म्युलीले स्विस सरकारको साझेदारीमा सञ्चालित साना सिँचाइ आयोजनाको उद्घाटन गर्नु भयो ।  नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापान सरकारको सहयोगमा निर्माण गरिएको बर्थिङ सेन्टरको उद्घाटन गर्नु भयो । 

सूर्योदय नगरपालिका आर्थिक विकास तर्फ देशकै उत्कृष्ट नगरपालिका हो । यो नगरपालिका बालमैत्री र पर्यटकीय नगरी समेत घोषणा भैसकेको छ । 

इलामको पर्यटन प्रवर्धन गर्न अस्ट्रेलियन राजदूत फेलिसिटीको इच्छा  

नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क केही दिनअघि इलामको सूर्योदय नगरपालिका आउनु भयो । राजदूत फेलिसिटीले इलामका चर्चित पर्यटकीय स्थल अन्तु डाँडा पुगेर सूर्योदयको दृश्यावलोकन गर्नु भयो । उहाँले कन्याममा जातीय पोसाकका तस्बिर खिचाउनु भयो । 

सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रममा राजदूत फेलिसिटीले सूर्योदय सहित इलामको पर्यटन प्रवर्धन गर्न आफू सद्भाव दूत बन्ने इच्छा सार्वजनिक कार्यक्रममै व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो‘नेपाल बसाइँमा देशका धेरै जिल्ला गए तर, यतिको सुन्दर ठाउँ कतै भेटिएन, तपाईँहरूलाई खाँचो भए म पर्यटन दूत बनेर काम गर्ने छु ।’

राजदूत फेलिसिटी जसरी घामको पहिलो झुल्को अन्तुबाट झुल्किन्छ त्यसरी नै , सूर्योदय नगरपालिका देशमा झुल्किएको आफूले पाएको बताउनु भयो । ‘पर्यटन प्रवर्धन गर्दा वातावरणलाई पनि ख्याल राख्नु पर्छ, वातावरण जोगियो भने मात्र पर्यटन प्रवर्धन हुन्छ’राजदूत फेलिसिटी भन्नु भयो । इलामको सूर्योदय नगरपालिका भ्रमणका क्रममा राजदूत फेलिसिटीले सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई सँग नगरको आर्थिक , सामाजिक विकास , पर्यटन प्रवर्धन लगायतका विषयमा अस्ट्रेलियन सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो । 

नगर प्रमुख राईले नगरले गरेका राम्रा कामले अस्ट्रेलियन राजदूत फेलिसिटी निक्कै खुसी भएको बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘हाम्रो कामको चर्चा उहाँले विभिन्न सामाजिक सञ्जालमा गर्नु भएको छ र आगामी दिनमा थप सहकार्यमा काम गर्ने छौ ।’सूर्योदय नगरको भ्रमणका क्रममा पर्यटन र बालबालिकाको क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको नगर प्रमुख राईले बताउनु भयो ।

फेलिसिटीले  सूर्योदय  नगरपालिका वालमैत्री वातावरणका लागि नमुना रहेको उल्लेख गर्दै लैङ्गिक हिंसारहित परियोजनाका लागि सहकार्य गर्ने उल्लेख गनु भएको छ । जलवायु परिवर्तन, लैङ्गिक समानता, पछाडि परेका वर्गको उत्थान र नेपालको पर्यटन क्षेत्रको विकासका लागि अस्ट्रेलियाले काम गरिरहेको छ । अस्ट्रेलिया सरकार र नेपालका केही पालिकाको सहकार्यमा दिगो परियोजनाहरू सञ्चालित छन् । स्थानीय सरकार सबलीकरण कार्यक्रममा अस्ट्रेलियाले सहकार्य गरेको छ ।

शक्ति समूहले आयोजना गरेको कार्यक्रममा राजदूत फेलिसिटील सँगै शक्ति समूहका अध्यक्ष चरीमाया तामाङ समेत सहभागी हुनुहुन्थ्यो ।