• १३ असोज २०८१, आइतबार

मुख्यमन्त्री यादवविरुद्ध प्रदर्शन, प्रजिअलाई ज्ञापनपत्र

blog

प्रमुख जिल्ला अधिकारी सापकोटालाई ज्ञापनपत्र बुझाउँदै पीडित पक्ष । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, मङ्सिर २८ गते ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजिनामा माग गर्दै पीडित पक्षले बिहिबार कलैयामा प्रदर्शन गरेका छन् ।

सिम्रौनगढ नगरपालिकामा दुई पक्ष बिच भएको विवादमा बुधबार प्रहरीको गोली लागी लक्ष्मी मुखिया बिनको मृत्यु भएपछि बिहीबार पीडित पक्षले विरोध प्रदर्शन गरेको हो । 

मुख्यमन्त्री यादवकै मौखिक आदेशमा सो घटना भएको आरोप लगाउँदै पीडित पक्षले मुख्यमन्त्री यादवको राजिनामा माग गर्दै नगरपालिका प्रमुख किशोरी प्रसाद कलवारलाई कारवाहीको माग गरेको हो ।

कलैया उपमहानगरपालिका–१ रामजानकी मन्दिरको प्राङ्गणमा निर्वाचन क्षेत्र नम्बर–१ को नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवम् सिम्रौनगढका नगरप्रमुख बिजयशंकर यादवको नेतृत्वमा रहेका स्थानीयले मुख्यमन्त्री यादव राजिनामा माग गर्दै नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

मृतक लक्ष्मी मुखिया बिनलाई शहिद घोषणा गर्न, नगरप्रमुख कलवारमाथि ज्यान मारेको भन्दै मुद्दा दर्ता गर्न, मृतकको परिवार र छोराछोरीको रोजगारीको ग्यारेन्टी गर्न, गोली चलाउन आदेश दिने प्रहरी निरीक्षक रवीभूषणप्रसाद यादवको कल डिटेल चेक गरी निलम्बन गर्न माग गरिएको छ । 

पीडित पक्षले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । पीडित पक्षघरको माग २४ घण्टाभित्र पूरा नभए पूर्वपश्चिम राजमार्ग निजगढमा बन्द गरी कडा आन्दोलनमा जाने धम्की दिइएको छ । 

ज्ञापनपत्र बुझदै प्रजिअ सापकोटाले यो सबै माग मैले एक्लै गरेर नहुने हो, यसका लागि कानूनी प्रक्रिया रहेकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तत्कालका लागि घटनाको बारेमा विस्तृत अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी नायब उपरीक्षकसहित तीनजनाको छानबिन समिति आजै बनाएर प्रक्रिया अगाडि बढाउने जानकारी उहाँले दिनुभयो ।