• ४ जेठ २०८१, शुक्रबार

संविधानले उपलब्ध गराएका अधिकार जनताले महसुस गर्न पाउनुपर्छ : उपसभामुख

blog

उपसभामुख इन्दिरा राना

काठमाडौं, मङ्सिर २८ गते । उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार सङ्घीय संसद् सचिवालयद्वारा १७ औँ सङ्घीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले संविधानले उपलब्ध गराएका अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताउनुभएको हो ।

उहाँले कसैले पनि संविधानको विरोधमा बोल्ने आँट गर्न नसक्नेगरी अधिकारहरू जनताले पाउनुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेख गरिएका समावेशिताका कुराहरू हरेक क्षेत्रमा लागू हुनुपर्ने बताउनु भयो । उहाँले जातीय र वर्गीय आधारमा पनि समावेशिता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

‘‘कर्मचारीहरूलाई हरेक महिना केही न केही अवसर दिनुपर्छ । तालिम लिने अवसरहरू दिनुपर्छ । सांसदहरू विभिन्न देशमा गएर ज्ञान साटफेर गर्छौ भने कर्मचारीले पनि सिक्नु आवश्यक छ । त्यसो भएर यता बोलाएर हुन्छ कि अरू देशमा गएर हुन्छ कि उहाँहरूलाई कसैलाई पनि विभेद नहुने गरेर कार्यक्रमहरू हुनुपर्छ । हाम्रो संविधानले उपलब्ध गराएको जतिपनि अधिकारहरू छ, त्यो जनताले महसुस गर्न पाउनुपर्छ । ताकि अरूले संविधानको विरोधमा बोल्ने आँट नगरोस् ।,’’ उपसभामुख रानाले भन्नुभयो, ‘‘संविधानमा जुन लेखिएका छन्, समावेशिताका कुराहरू, हरेक कुराहरू हामीले छानबिन गर्दाखेरी समावेशिता हुनुपर्छ । जसरी यहाँ विभिन्न विभागमा काम गर्नुभएको होला, कोही प्राविधिक, कोही गार्डेनमा, कोही ड्राइभिङमा काम गर्नुभएको होला । सबैको हरेक विभागको क्षेत्रबाट छानिनुपर्छ र त्यसमा पनि जातीय समावेशिता पनि हुनुपर्छ । वर्गीय समावेशिता पनि हुनुपर्छ भन्नेकुरा म यहाँ राख्न चाहन्छु ।’’

उपसभामुख रानाले सङ्घीय संसदका कर्मचारीहरूलाई हरेक महिना नयाँ–नयाँ अवसरहरू दिनुपर्ने बताउनु भयो । उहाँले कर्मचारीहरूलाई तालिमको व्यवस्था गर्नुपर्ने र विभिन्न देशमा अनुभव आदान–प्रदानका कार्यक्रमहरूमा समावेश गराएर वृत्ति विकास गराउनुपर्ने बताउनुभयो ।