• १५ वैशाख २०८१, शनिबार

नौ प्रतिशत लाभांश वितरण गर्ने ग्लोबल आईएमई बैंकको घोषणा

blog

काठमाडौं, मङ्सिर २८ गते । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताउनुभएको छ ।

बिहीबार ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा बोल्नुहुँदै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले बैंकको ७७ जिल्लामा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताउनु भयो ।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताउनुभयो । उहाँले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको जानकारी दिनुभयो ।

उहाँले बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १ प्रतिशत बानेस शेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गर्नुभयो ।

ढकालले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप चार खर्ब ६९ अर्ब  र कर्जा तीन खर्ब ७४ अर्ब रहेको दाबी गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि  भएको जानकारी दिनुभयो । उहाँले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी एक हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप चार खर्ब ५६ अर्ब, कर्जा तीन खर्ब ७५ अर्ब पुगेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले बैंकले पहिलो त्रैमासमा एक अर्ब २२ करोड बढी मुनाफा कमाएको बताउनुभयो । उहाँले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको जानकारी दिनुभयो ।