बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङसिर २७ गते। जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य र सम्बन्ध विच्छेद लगायतका घट्नाले नागरिकता बनाउनेको भिड बढेको कार्यालयले जनाएको छ। कार्यालयले नागरिकता बनाउन चार ठाउँमा व्यवस्था गरे पनि भ्याइनभ्याई भएको कर्मचारीको गुनासो छ।
कार्यालयका अनुसार नागरिकता बनाउन दसैँ तिहारको बिचमा हुने सेवाग्राहीको भिड मङ्सिर महिना सकिन लाग्दा पनि उस्तै छ। सेवाग्राहीलाई सहज सुविधा दिन अन्य फाँटका कर्मचारीलाई पनि नागरिकता फाँटमा काम गर्न लगाइएको छ। दैनिक २५० वटासम्म नागरिकता वितरण हुने गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरिनु र सम्बन्ध विच्छेद लगायत घटनाका कारण नागरिकता बनाउने सेवाग्राहीको चाप बढेको आफूले बुझेको बताउनुहुन्छ।
सम्बन्ध विच्छेद भएर पतिको नाम हटाउने र थप्नाले पनि काम थपिएको उहाँको भनाइ छ। सम्बन्ध विच्छेदका घट्ना बढ्दै जाँदा यो समस्या आएको उहाँको भनाइ छ।
प्रजिअ नेपालका अनुसार सबै कर्मचारी गरी कार्यालयमा २२ जनाको दरबन्दी रहेकोमा प्रशासकीय अधिकृत एक, नायब सुब्बा एक, खरिदार दुई र कम्प्युटर अप्रेटर एक गरेर पाँच जना कर्मचारीको दरबन्दी खाली छ। कार्यालयमा जनशक्तिको अभावले पनि कर्मचारीलाई कामको बोझ थपिएको छ।