• २३ वैशाख २०८२, मङ्गलबार

बागलुङ लिफ्टिङ खानेपानी योजना अलपत्र

blog

बाढी र पहिरोले क्षति पुर्‍याएको खानेपानी योजनाको पाइपलाइन । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर २७ गते । निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि बागलुङ बजारको लिफ्टिङ खानेपानी परियोजना सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र प्राकृतिक विपत्तिका कारण बागलुङ नगर सह-लगानी खोनेपानी परियोजना सम्पन्न गर्न ढिलाइ भएको हो । 

परियोजना पूर्ण रूपमा सम्पन्न नहुँदा बागलुङवासीले खानेपानीको समस्या भोग्दै आएका छन् । बागलुङ नगरपालिका ३ स्थित काठेखोलाको पानी लिफ्टिङमार्फत् रातमाटामा तानेर शुद्धीकरणपछि बजारमा वितरण गर्न २०७५ सालदेखि लिफ्टिङ खानेपानी परियोजना निर्माण थालिएको थियो । उक्त खानेपानी परियोजना दुई वर्ष भित्रमा सम्पन्न गर्न २०७५ असार ३१ गते कनकाई जयमाता जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । २०८० असार १७ मा पछिल्लो चौँथो पटक थपेको म्याद पनि समाप्त भएको छ । २०७७ असार ३१ गते योजना सम्पन्न हुनुपर्ने हो ।  

ठेकेदारको ढिला सुस्ती र प्राकृतिक विपत्तिका कारण समयमै योजना सम्पन्न हुन नसकेको बागलुङ, मुस्ताङ र म्याग्दीका योजनाहरू हेर्ने गरी बेनीमा स्थापना भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बेनीका इन्जिनियर नवीन सुवेदीले बताउनुभयो । उक्त परियोजना तत्कालीन डिभिजन खानेपानी कार्यालय बागलुङबाट हस्तान्तरण भएको हो । उहाँका अनुसार हालसम्म परियोजनाको ८७ प्रतिशत भौतिक प्रगति भएको छ । विगत तीन वर्षदेखि परियोजनाको पाइप लाइनमा पहिरोले क्षति पुर्‍याउँदै आएको उहाँले बताउनुभयो । तीनसय देखि चारसय मिटरसम्म लिफ्टिङको मुख्य पाइप लाइनमा पहिरोले क्षति पुर्‍याएको छ । 

उहाँले भन्नुभयो, "पछिल्लो पटक थपिएको म्याद पनि गत असार १७ गते सकिएको छ । योजना सम्पन्न नहुँदै बाढी र पहिरोले योजनाको पाइपलाइनमा क्षतविक्षत बनायो । योजना सम्पन्न नभएकाले ठेकेदारले नै पुनः पाइपलाइन निर्माण आयोजना कार्यालयको भनाइ छ । ठेकेदार मानिरहेको छैन । ठेक्काको म्याद पनि सकिएको छ । अब के गर्ने भन्ने बारेमा आयोजनाले सोचिरहेको छ ।" पानी प्रशोधन केन्द्र, ट्याङ्की लगायतका संरचनाहरू निर्माण भइसकेका छन् । 

कोरोना महामारी लगायतका अन्य प्राविधिक समस्याले समयमै काम सम्पन्न गर्न कठिन भएको निर्माण कम्पनी कम्पनी कनकाई जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीले भन्नुभयो । ठेक्काको म्याद थपेमात्र काम अगाडी बढाउन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार मुख्य पाइपलाइन पहिरोले बगाएपनि अर्को पाइपलाइनबाट पुरानो ट्याङ्कीमा पानी हालेर बजारमा खानेपानी सञ्चालन गरिएको अधिकारीले बताउनुभयो । 

कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको इन्जिनियर अधिकारीले बताउनुभयो । पानी जम्मा गर्नका लागि पाँच व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि नौ र वितरणका लागि दुई वटा ट्याङ्की तयार गरिएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो । 

योजनाका लागि पानी लिफ्टिङमा प्रयोग हुने ६३० केभीएको ट्रान्सफरर्मर जडान सम्पन्न भएको छ । योजनाबाट बजार क्षेत्रका ६० हजार उपभोक्ता लाभान्वित हुने आयोजनाले जनाएको छ । काठेखोलाको पानी ‘लिफ्टङ’ प्रविधिबाट तानेर बागलुङ नगरपालिका–३, रातामाटा पुर्‍याइने छ । काठेखोलादेखि सात सय मिटरमाथि रातामाटामा निर्माण भएको पाँच लाख लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण गर्ने योजना छ । 

बागलुङ बजारमा खानेपानीको समस्या समाधानका लागि तत्कालीन डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सह लगानीमा लिफ्टिङ परियोजना निर्माण थालिएको थियो ।