• २० असोज २०८१, आइतबार

सीता–राम विवाह पञ्चमी महोत्सव जनकपुरधाममा सुरु

blog

धर्बेन्द्र झा   

धनुषा, मङ्सिर २६ गते । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको छ  ।

विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शनको कार्यक्रम भएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिनुभएको छ । भगवान राम र सीताको प्रतिक बनाइएका बालबालिकालाई रथमा बसाएर पहिलो दिन जनकपुरधाम नगरको दर्शन गराइएको छ । 

नगर दर्शन कार्यक्रममा साधु सन्तले विभिन्न प्रकारका झाँकीसहित सयौंको संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न प्रकारका मांगलिक गीत प्रस्तुत गरिएको थियो । पहिलो दिनको कार्यक्रम सकिएको र बुधबार दोस्रो दिन फुलबारी लिलाको कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकारी दिनुभयो । 

उहाँका अनुसार तेस्रो दिन जानकी मन्दिरको प्राङ्गणमा धनुषा यज्ञको आयोजना, चौथो दिन तिल्कोत्सव पाँचौ दिन मटकोर, छैठो दिन दिउँसो स्वम्बर र राति विवाह र सातौ तथा अन्तिम दिन राम कलेवा अर्थात जन्तीको विदाइ गरी सात दिवसीय महोत्सव सम्पन्न हुने उहाँले बताउनुभयो ।