होमराज रानाभाट
बुलिङटार (नवलपरासी), मङ्सिर २६ गते । गाउँमा बिजुली पुगेपछि नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका-२ डाडाँझेरी मथारका दलसिहँ ठाडा मगर खुसीले दङ्ग हुनुहुन्छ ।
उमेरले ८६ वर्ष पुग्नुभएका बुलिगँटार गाउँपालिका-२ का पूर्व वडाध्यक्ष एवम् स्थानीय प्रेमबहादुर थापा मगर भन्नुहुन्छ, "मर्ने बेलामा गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बुढाबुढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छन् ।"
स्थानीय समाजसेवी राजेन्द्र राजभाटका अनुसार अहिलेसम्म पहाडी गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य थिए तर अहिले गाउँमा बिजुली पुगेकोमा यहाँका जनता खुसी छन् ।
मट्तीतेलकाे टुकी बालेर जीवन बिताउन बाध्य भएका गाउँलेले गाउँमा राष्ट्रिय प्रसारणको बिजुली पुग्ला भन्ने कहिल्यै कल्पना समेत गरेका थिएनन् ।
कावासोती वितरण केन्द्रबाट वितरण गरिएको विद्युत बुलिङटार गाउँपालिका-२ मा बिजुली पुगेको एक हप्ता भयो । अहिले डाडाँझेरीका एक सय २० घरमा राष्ट्रिय प्रसारणको बिजुली बालिएको छ र यो क्रम चलिरहेको छ र सकेसम्म वडाका सबै गाउँ र टोलमा यसै वर्ष बिजुली बालिने कावासोती विद्युत प्राधिकरणले जनाएको छ । अहिले सबैभन्दा समस्या सालको रुख कटान आदेश नहुँदा केही समस्या आएको प्राधिकरणले जनाएको छ ।
पहाडी क्षेत्रमा रहेका दुई गाउँपालिका बुलिङटार र बौँदीकालीमा यसै वर्ष सबै वडामा राष्ट्रिय विद्युतीकरण पुर्याउने उद्देश्यका साथ काम अगाडि बढेको र बोझापोखरीमा रहेको ट्रान्समिटरमा बिजुली जडान गरी बिजुली बालिएको प्राधिकरणले जनाएको छ ।
गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले गण्डकी सरकार सबै क्षेत्रमा उज्यालो पुर्याउन आफूहरू लागि परेको बताउनुभयो । उहाँले राजनीतिक रूपमा पूर्वाग्रही बनेर कसैले पनि विकासलाई रोक्न नहुने र कसैलाई पनि विकासमा अवरोध नगर्न अनुरोध गर्नुभयो ।
यस्तै, समृद्ध बुलिङटार निर्माणलाई प्राथमिकतामा राखेर विद्यमान ऊर्जा सङ्कटलाई समाधान गर्ने तथा यसै वर्षभित्र करिब दुई हजारभन्दा बढी घरधुरीमा मिटर बक्स लगेर राष्ट्रिय प्रसारण लाइन जोड्ने काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले जानकारी दिनुभयो ।