सुनसरीका १२ वटा स्थानीय तहमध्ये इनरुवा नगरपालिका जिल्लाको सदरमुकाम हो । यो नगरपालिकामा कुल १० वटा वडा छन् । विसं २०७९ वैशाखमा भएको दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित हुनुभएका नगर प्रमुख केदार भण्डारीसँग गोरखापत्रका लागि इनरुवा समाचारदाता जयकृष्ण यादवले स्थानीय सरकारको कामकारबाही तथा उपलब्धिका विषयमा गर्नुभएको कुराकानी अंश :
चुनावमा जनतासामु गर्नुभएका प्रतिबद्धता कति पूरा गर्दै हुनुहुन्छ ?
जनताको घरदैलोमा जाँदा मैले गरेका प्रतिबद्धतालाई प्राथमिकीकरण गरेर सम्बोधन गर्दै छु । पहिलो वर्ष डेढ वर्षको अवधिमा करिब ३० प्रतिशत प्रतिबद्धता पूरा गरेको छु । मप्रति जनताको माया र आशा अनुसार इमानदार भएर सबै वडावासीलाई छुने गरी सन्तुलित रूपमा काम गरिरहेको छु । सबै वडामा कुनै न कुनै साना ठुला सडकमा कालोपत्रे गरेका छौँ । शिक्षाका लागि चालु आर्थिक वर्षमा मात्रै एक करोड रुपियाँभन्दा बढी बजेट विनियोजन गरेर शैक्षिक सुधारको प्रयास थालेको छु ।
भौतिक पूर्वाधारको विकासमा के के काम गर्नुभयो ?
अहिले इनरुवा ३ नम्बर वडा कार्यालयको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पु-याएको छु भने २ नम्बर वडाको वडा कार्यालय भवन निर्माण प्रव्रिmया अगाडि बढेको छ । डम्पिङ साइट निर्माण सम्पन्न भएको छ । इनरुवा–१ को शान्तिचोकदेखि जिल्ला अस्पतालको गेटसम्म ढलनालासहितको फराकिलो कालोपत्रे सडक निर्माण गरिएको छ । साबिक जल्पापुर हालको इनरुवा–१० मा पहिलो पटक कालोपत्रे गरिएको छ । नगरको विभिन्न वडामा आरसिसी ढलान कालोपत्रे र उच्चस्तरीय ग्राभेलको कामलाई निरन्तरता दिएका छौँ । त्यसै गरी इनरुवा–७ को चान्दबेलास्थित बछर्वादेखि वडा कार्यालयसम्म, बलाहा बहुमुखी क्याम्पस जाने बाटोमा कालोपत्रेको काम सुरु भएको छ । इनरुवा दुहबी हुलाकी सडक खण्डको शङ्करपुर शाखा नहरको जीर्ण पुल निर्माण र बलाहा पुलको निर्माण सुरु गरेका छौँ । सबै वडामा सडक सञ्जाल विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ ।
विकासलाई जनमैत्री बनाउने विषय कत्तिको कार्यान्वयन भएको छ ?
नगरपालिकाको कुनै पनि विकास निर्माणलाई जनमैत्री, पारदर्शी, गुणस्तरीय र जनसहभागितामूलक बनाउने विषयमा हामी निकै सजग छौँ । कुनै पनि विकास निर्माणबाट जनता प्रत्यक्ष लाभान्वित हुनु पर्छ भन्नेमा हामी अडिग छौँ । सोही अनुसार योजना बनाएका छौंँ ।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न के कस्ता काम भइरहेका छन् ?
नगरपालिकावासीलाई कृषिमा आत्मनिर्भर बनाउन किसानलाई जग्गाको क्षेत्रफल अनुसार धान, गहुँ, मकैको बिउमा ५० प्रतिशत अनुदान, विपन्न वर्गका व्यक्ति तथा परिवारलाई स्वरोजगारका लागि ‘एक घर एक सुँगुर, एक परिवार एक बाख्रा’ अनुदान कार्यव्रmम ल्याएका छौँ । नगरपालिकाले सिलाइकटाइ, जुत्ता चप्पल बनाउने तालिम र मेसिनसमेत प्रदान गरेर स्वरोजगार बन्न प्रेरित गरेको छ । फोहोरलाई मोहोर बनाउने कार्यक्रम, साना, घरेलु तथा मझौला उद्योग खोल्न प्रोत्साहन गरिरहेका छौँ । मल बिउ वितरण गरेर मौसमी तथा बेमौसमी तरकारी खेतीलाई प्राथमिकता दिएका छौँ । अवस्था र मागका आधारमा विपन्न वर्गलाई बङ्गुर र बाख्रा वितरण पनि गरिएको छ । सबै वडामा एक सय जनाभन्दा बढीले प्रधानमन्त्री रोजगार कार्यव्रmममार्फत सय दिने रोजगारी पाएका छन् ।
शिक्षा र स्वास्थ्यतर्फ कस्तो सुधारका काम भइरहेका छन् ?
विद्यालय शिक्षातर्फ सरस्वती माध्यमिक विद्यालय बबियासहित पाँच वटा नयाँ सुविधासम्पन्न विद्यालय भवन निर्माण गरेका छौँ । नगर क्षेत्रका ३० वटै सामुदायिक विद्यालयको अनुगमन गरेर पृष्ठपोषण दिने, भौतिक पूर्वाधार सुधार गर्ने, शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्ध सुधार्ने र सहकार्य गर्ने काम गरेका छौँ । स्थानीय पाठ्यव्रmम लागु गरी पठनपाठन सुरु गरेका छौँ । वर्षाको बेलामा डुबानमा पर्दै आएका विद्यालय वरपरका क्षेत्रमा माटो पुर्ने काम, गर्मीका लागि पङ्खाको व्यवस्था, आवश्यक फर्निचरको व्यवस्था गरिएको छ । वडा नं. ४ को स्वास्थ्य चौकीमा प्रसूति सेवा दिन व्यवस्था भएको छ भने मधेशा स्वास्थ्य चौकीमा प्रसूति गृह निरन्तर सञ्चालन भएको छ । बबिया स्वास्थ्य चौकी, चान्दबेला स्वास्थ्य चौकी, जल्पापुर स्वास्थ्य चौकी र मधेशा स्वास्थ्य चौकीको भवनका लागि प्रयासमा छौँ । यसका साथै ठुलो क्षेत्रफल भएको वडा नम्बर ७ र ९ मा थप नयाँ आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने तयारीमा जुटेका छौँ ।
विपन्न गरिब, असहाय, दलित, सीमान्तकृत समुदायका लागि पनि केही गर्नुभएको छ कि ?
विपन्न गरिब, असहाय, सीमान्तकृत समुदायका लागि स्वास्थ्यमा पहुँच स्थापित गर्न प्रत्येक वडामा ६० परिवारका दरले निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था, उनीहरूका बालबालिकालाई उच्च शिक्षासम्मको अध्ययन निःशुल्क, मुस्लिम, दलित र सीमान्तकृत समुदायका छात्रालाई कक्षा १० पास गरेपछि ११ र १२ पढ्न साइकलको व्यवस्था, आयआर्जनका लागि सिलाइकटाइ तालिमपछि मेसिन वितरण गरिएको छ । विपन्न गरिब, असहाय, दलित, सीमान्तकृत समुदायका व्यक्तिको निधन भएको खण्डमा किरिया खर्चबापत १० हजार रुपियाँ दिँदै आएका छौँ ।
फोहोर व्यवस्थापन र सरसफाइको रणनीति के छ ?
इनरुवा नगरपालिकाका लागि मात्रै नभई देशभर नै फोहोर व्यवस्थापन समस्या देखिएको छ । यसमा हाम्रो नगरपालिकाले आफ्नै फोहोर विसर्जन र फोहोरबाट मोहोर बनाउने प्रयासस्वरूप डम्पिङ साइटको निर्माण गरेको छ । लामो प्रतीक्षा र रस्साकस्सीपछि इनरुवा–८, बङ्कुलवामा डम्पिङ साइट निर्माण गर्न सफल भएका छौँ । दैनिक नगरको बजार क्षेत्र र वडा क्षेत्रमा सरसफाइको काम भइरहेको छ भने नगरपालिकाको आफ्नै ट्याक्टर र ट्रकसहितको साधन प्रयोग गरेर विसर्जन गर्ने काम भइरहेको छ ।
वर्षौंदेखि ठेक्का लागेर पनि काम सुरु नभएको बबिया जल्पापुर खड्क सडकखण्डका लागि के गरिरहनुभएको छ ?
हामीले यसबारेमा सङ्घीय सरकार, ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराएका छौँ तर विडम्बना वर्षौंदेखि दबाब दिँदासमेत ठेक्का लागेर पनि काम सुरु नभएको इनरुवा कौवाखोचको सडकको बबिया जल्पापुर खड्क खण्डको कार्यप्रति चिन्तित छु । त्यो नगरको बजेट नभएकाले समस्या देखिएको हो । कारबाही गर्न पनि नसकिएको स्थिति छ । हामीले सक्ने नगरको बजेटबाट भने गुद्रीदेखि बसचोकसम्मको सडक, इनरुवा नपा कार्यालयदेखि महेन्द्रचोकसम्म, इनरुवा डुम्राहासहितलाई चव्रmपथ बनाउन डिपिआर बनाएर अगाडि बढेका छौँ ।
नगरको विकासका लागि कस्ता चुनौती छन् ?
सरकारी संरचनाबाट भएका अतिक्रमण, सडक तथा सडकपेटी अतिक्रमण, जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिमा कमी ल्याउन सकिएको छैन । दशकौँदेखि रहेको सडकबत्तीको करिब तीन करोड रुपियाँ बक्यौता तिर्नुपर्ने दायित्व देखाएकाले त्यो अर्को चुनौती बनेको छ । त्यसको समाधानको प्रयासमा लागेको छु ।