• १३ असोज २०८१, आइतबार

परम्परागत वाद्यवादनमा आकर्षण बढ्दै

blog

काठमाडौँ, मङ्सिर २५ गते । युवाको सक्रियता बढेसँगै कीर्तिपुर क्षेत्रमा केही वर्षदेखि निरन्तर रूपमा बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खी, काँ बाजा बजाउन आकर्षण बढेको छ। यसअघि दुई दशकसम्म यहाँका युवा पाश्चात्य सङ्गीतमा रमाउने गर्थे।

वरिष्ठ सङ्गीतकार तीर्थ मालीले केही वर्षदेखि बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खीलगायतका बाजागाजामा युवा पुस्ताको आकर्षण बढेकाले आफूहरूलाई भ्याइनभ्याइ हुने बताउनुभयो। कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक पहिचानसहितको विशेष नगर घोषणा पछि यहाँका गुठीगाना, खलः पुच, सांस्कृतिक समूह र नाट्यमण्डलीको जन्म भइरहेको छ। 

हरेक हप्ता कुनै न कुनै समूहद्वारा वाद्यवादन, सांस्कृतिक नृत्यहरू, गायनकला र मौलिक पोसाकहरूलाई पुनः जीवन्त गर्ने काम भएका हुन्छन्। यसैबिच कीर्तिपुर नगरपालिकाको वडा नम्बर ७ स्थित यतुगः बाँसुरी खलः ले सातमहिने बाँसुरी वादन सफलतापूर्वक प्रशिक्षणपछि आइतबार पाँगास्थित नाट्यश्वेर मन्दिरमा सार्वजनिक गरेको छ।

करिब तीन दर्जनको हाराहारीमा १६ वर्षदेखि ७२ वर्ष उमेरसम्मका प्रशिक्षार्थीले बाँसुरीको प्रशिक्षण लिएका थिए। सङ्घीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्वसहितको समाजवादी राज्य व्यवस्था निर्माण गर्ने दिशामा रहेका बेला ९० प्रतिशत महिला सहभागितामा उक्त प्रशिक्षण सम्पन्न भएको हो। हाकुपटासी र गरगहनामा ज्यापू पहिरनमा सजिएर बाँसुरी बजाइरहनुभएकी सगुन तिमिल्सेनाले मौलिक पहिचानसहित नेपालको संस्कृतिमा टेवा पु¥याउने र समाजप्रति उत्तरदायित्व वहन गर्नका लागि आफूले गैरनेवार समुदाय भए पनि प्रशिक्षण लिएको प्रतिक्रिया दिनुभयो।

नेपालका सबै संस्कृति देशको सम्पत्ति भएकाले सबै नेपालीले अपनत्व लिँदै वास्तविक नेपाल निर्माणका लागि यस्ता बाजागाजालगायतका संस्कृतिको संरक्षण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण हुने मङ्गल बहुमुखी क्याम्पसमा अध्ययनरत तिमिल्सेना बताउनुहुन्छ। यस्तै उज्ज्वल शिशु निकेतनमा अध्यापन गर्नहुने उरुशा महर्जनले परापूर्वकालदेखि चल्दै आएको संस्कृति, रीतिरिवाज, बाजागाजा, वेशभूषालाई अन्तर्राष्ट्रियकरण गर्न सके नेपालको पर्यटनको क्षेत्रमा थप समृद्ध हुने छ, भन्नुभयो। यतुगः बाँसुरी खलः का व्यवस्थापन सदस्य अर्जुन महर्जनका अनुसार सातमहिने प्रशिक्षण वरिष्ठ वाद्यगुरु फूलबहादुर महर्जन, वरिष्ठ सङ्गीतकार तीर्थ माली र वाद्यगुरु पङ्कज महर्जनले सञ्चालन गर्नुभएको हो।