• १३ असोज २०८१, आइतबार

पर्यटन प्रवर्द्धन गर्दै श्रम संस्कृति उद्यान

blog

फाइल तस्बिर

धरान, मङ्सिर २३ गते । सुनसरीको धरान उपमहानगरपालिका-१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षारोपणले सबैको मन आनन्दित हुन्छ । 

पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन् । काठमाडौँबाट साथी धनरत्न महर्जनका साथमा उद्यान घुम्न पुग्नुभएका राजेन्द्र राई खेर गएको ठाउँको सदुपयोग गरेर आकर्षक उद्यान निर्माण गरेको थाहा पाएपछि औधी खुसी हुनुभयो । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उहाँका सहयोगीले निर्माण गरेको उद्यान पछिल्लो समय धरानको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । 

सर्दु खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा धरानको नमुना निर्माण गरिएको छ । त्यसको छेउमा किरात संस्कृतिमा महत्त्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ । उद्यानको वरिपरि विभिन्न मनकारीले आफन्तका नाममा पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिदिएका छन् । 

उद्यानका ठाउँ ठाउँमा ‘साउन्ड बक्स’ राखिएका छन् । त्यसबाट सङ्गीतको धुन गुन्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ । उद्यानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म घुम्नका लागि पुग्ने गरेका छन् । उद्यान युवापुस्ताका लागि साथीहरूसँग घुम्ने आकर्षक गन्तव्य बनेको छ । इटहरीकी रमा लिम्बु साथीहरूको समूहमा उद्यान घुम्न पुग्नुभयो । “यहाँ फूल संरक्षण गरिएको साह्रै मनपर्छ”, उहाँले भन्नुभयो, “खानेपानी, शौचालयलगायत सुविधा छ, यहाँ बारम्बार आउन मन लाग्छ ।”

उद्यान निर्माण हुनभन्दा पहिला सर्दु खोला पुल छेउमै बिपी उद्यान र ओशो उद्यान निर्माण गरिएका थिए । धरानमा पुराना रङ्गकर्मी तथा निर्देशक खगेन्द्र पन्धाक र गायक कञ्चन थलङ यो क्षेत्र पदयात्राका लागि पनि उपयुक्त भएको बताउनुहुन्छ । “यहाँबाट भेडेटारसम्मको पदमार्ग निर्माण गरेर यो उद्यानलाई प्रस्थान विन्दु बनाए पर्यटनको विकासमा मद्दत पुग्छ”, गायक थलङले भन्नुभयो । उद्यानमा नियमित पुगिरहने रङ्गकर्मी तथा निर्देशक पन्धाक धरानमा नयाँ पर्यटकीयस्थल थपिएकामा खुसी हुनुहुन्छ । “यो ठाउँमा उद्यान निर्माण भएपछि धरानको पानीको स्रोत पनि संरक्षण भएको छ”, उहाँ भन्नुहुन्छ । 

धरान उपमहानगरपालिकाले उद्यान, यस क्षेत्रमा भएको वृक्षारोपण र खानेपानीको मुहान संरक्षण गर्न दैनिक छदेखि सात जना नगर प्रहरी परिचालन गर्ने गरेको छ । उद्यान क्षेत्रमा खटिएकी नगर प्रहरी कविता कार्कीका अनुसार यो क्षेत्र घुम्न दैनिक दुई सयदेखि तीन सय आन्तरिक पर्यटक आउने गरेका छन् । उद्यान घुम्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतका सिक्किम, दार्जिलिङदेखि पनि पर्यटक आउने गरेका छन् ।  

स्वतन्त्र नागरिक समाजको अगुवाइमा चौतारा निर्माण गरिएको छ । दाताको ११ लाख सहयोग जुटाएर चौतारा निर्माण गरिएको हो । चौतारामा सुस्ताउँदै गरेकी भेटिनुभएकी  बेलायतबाट आउनुभएकी देविका राई (लिम्बू) आफूले सानो छँदा देखेको खोलाको बगर र झाडीमा अहिले ढकमक्क फूल फूलेको र उद्यान बनेको देखेर हर्षित हुनुहुन्छ । बेलायतबाट आउनुभएका धरान समाज युकेका सल्लाहकार किरणकुमार सुब्बा उद्यान धरानको पर्यटन विकासका लागि महत्त्वपूर्ण माध्यम बनेको बताउनुहुन्छ । उद्यान निर्माणका लागि उहाँले तीन लाख सहयोग जुटाउनुभएको थियो । उद्यानमा न्यूनतम प्रवेश शुल्क राखेर त्यसबाट उठ्ने रकमले यसको व्यवस्थापन गर्नुपर्ने सुब्बाको सुझाव छ । रासस