• १३ साउन २०८१, आइतबार

फल्नुअघि नै तनहुँका कृषकको आलु बिक्री

blog

व्यास नगरपालिका–४ सिमलटारमा लगाइएको आलु । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, मङ्सिर २३ गते ।  आलु उत्पादन गर्ने यहाँका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु फल्नु अघि नै खरिद गरेर लैजाने सम्झौता भएका छ । उत्पादन गर्ने किसान र आलुका परिकार बनाउने कम्पनीबिच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता गरिएको हो । समुदाय स्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसान र कम्पनीबिच सम्झौता गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र तनहुँ, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबिच उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत गोपालप्रसाद लामिछानेले जानकारी दिनुभयो । जिल्लामा पहिलो पटक यो कार्यक्रम लागू भएको बिक्रीको सुनिश्चित भएकाले किसान उत्साहित भएको उहाँले बताउनुभयो । 

लामिछानेले भन्नुभयो, ‘‘आलु उत्पादन गर्ने समूह सहकारीलाई निःशुल्क विषादी, ढुवानी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराएका छौँ ।’’ सम्झौता भएपछि  हाल  किसान खेतमा आलु लगाउन व्यस्त छन् । कार्यक्रम अन्तर्गत ७५ देखि ८५ प्रतिशत सम्म अनुदानको व्यवस्था गरिएको छ ।  आलु लगाउने किसानलाई बिउमा ७५ प्रतिशत अनुदान रकम प्रदान गरिएको लामिछानेले बताउनुभयो । 

लामिछाने भन्नुभयो, ‘‘सम्झौता गरी विक्रीको सुनिश्चित गरेका छौँ र आलुको बोरामा समेत ७५ प्रतिशत अनुदान  प्रदान गरेर कृषकको लागत मूल्य घटाएर प्रोत्साहन गरेका छौँ ।’’ 

केन्द्रका अनुसार जिल्लाका विभिन्न १२ वटा कृषक समूह मार्फत एक हजार  रोपनी क्षेत्रफलमा आलु लगाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट प्रमाणित भएका खुमल उज्ज्वल, खुमल विकास, जनकदेव जातको आलु लगाउने काम भइरहेको केन्द्रले जनाएको छ । 

उत्पादन भएको आलु बजारमा चलनचल्तीको दरबमोजिम कम्पनीले खरिद गर्नेछ । नेपालमा उत्पादन भएको आलु भन्दा भारतबाट आयात गरेको आलु सस्तो पर्ने भएपनि कम्पनी नेपाली किसानलाई प्रोत्साहनको लागि खरिद सम्झौता गरेको लामिछानेले बताउनुभयो ।

किसानले उत्पादन गरेको परिमाणका आधारमा कृषि ज्ञान केन्द्रले प्रतिकेजी दुई रुपियाँ प्रोत्साहन रकम अनुदान उपलब्ध गराउने लामिछानेले जानकारी दिनुभयो  आलु लगाउनु पूर्व नै बजारको सुनिश्चितता भएपछि अहिले समूह सहकारीहरू आलुखेतीको विस्तारमा लागेको लामिछाने बताउनुहुन्छ । गण्डकी प्रदेश सरकारले अगाडि सारेको यो कार्यक्रमले उत्पादन, प्रशोधन र बजारलाई जोड्ने मुख्य उद्देश्य रहेको केन्द्रले जनाएको छ । 

यस कार्यक्रमले आगामी वर्षमा यसले थप व्यावसायिक उत्पादन र क्षेत्र विस्तारमा सहयोग पुग्ने अपेक्षा केन्द्रले लिएको छ । खुमल उज्ज्वल, खुमल विकास, खुमल उपहार र जनकदेव जातका उत्पादित आलु रुपन्देहीको शुद्धोदन गाउँपालिकाको मैनियामा रहेको फस्ट च्वाइस फुड्स प्रालिले खरिद गर्ने सम्झौतामा उल्लेख छ । 

यस वर्ष कम्पनीले आलुबाट फ्रेन्च फ्राई, चिप्स उत्पादन गर्ने तयारी गरिरहेको र त्यसका लागि खुमल जातका आलु उपयुक्त हुने लामिछानेले जानकारी दिनुभयो । कृषक समूहले एक हजार पाँच सयको रोपनीमा सम्झौताको लागि माग गरेको भएपनि भौगोलिक विकटता भएका ठाउँमा कम्पनीले नमानेकोले यो वर्ष  एक हजार रोपनीको सम्झौता गरिएको छ ।

सम्झौतामा आबद्ध समूहलाई अहिले सम्झौताअनुसार आलु लगाउन भ्याइनभ्याई छ । सम्झौता भई कार्यक्रम लागू भएका स्थानमा अहिले किसान खेतमै व्यस्त देखिन्छन् । बजारको सुनिश्चितता पहिले नै भएकाले अहिले किसान आलु लगाउन निकै उत्साहित र सक्रिय भई लागेका हुन् । 

लामिछानेका अनुसार साढे दुई अर्ब रुपियाँको लगानीमा निर्माण गरिएको फस्ट च्वाइस फुड्स प्रालिले आलुबाट बन्ने फ्रेन्च फ्राइज उत्पादन सुरु गरेको छ । फस्ट च्वाइस फुड्स प्रालिले गत साउन २ गतेदेखि गरेको परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक रूपमै उत्पादन थालेकोले सम्झौता गरेको उहाँले बताउनुभयो ।

आलुबाट तयार हुने उद्योगको मुख्य उत्पादन फ्रेन्च फ्राइज हुने छ भने त्योसँगै आलु टिक्की, आलु बर्गर, आलु चिप्स, आलु समोसा, आलु पकौडालगायत आलुकै करिब एक दर्जन परिकार उत्पादन हुने बताइएको छ  ।  

उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको आलुका लागि गत वर्ष दुई सय टन बिउ ल्याएर रुपन्देही, नवलपरासी, चितवन, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, बर्दिया, कैलाली, दाङ र पाल्पामा परीक्षण खेती गरिएको थियो ।