• १३ साउन २०८१, आइतबार

बागलुङमा सुन्तलाको उत्पादनमा कमी

blog

फाइल तस्बिर

गलकोट (बागलुङ), मङ्सिर २३ गते । बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ । सुन्तला गाउँका रूपमा चिनिएको जिल्लाको सिगाना गाउँमा बर्सेनि औँसा कीराको सङ्क्रमण बढ्दै गएकाले उत्पादनमा कमी आएपछि किसान चिन्तित बनेका छन् ।

सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काको बगानमा यसपटक मात्रै नौ प्लाष्टिकका बोरामा झरेका सुन्तला सङ्कलन गरिएको छ । सुन्तला बढी उत्पादन हुने सिगाना, बिउँ र सर्कुवालगायत क्षेत्रमा औँसा कीराको सङ्क्रमणले सुन्तला झर्न थालेपछि उत्पादनमा गिरावट आएको हो । बजेट अभावमा औँसा कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्न नसक्दा पछिल्लो समय बागलुङमा सुन्तला उत्पादनमा कमी आएको खड्काले बताउनुभयो । 

बोटमा नै कीरा लागेर भुईँमा सुन्तला झर्न थालेको उहाँको भनाइ थियो । “वार्षिक दुई लाखदेखि तीन लाखसम्मको आम्दानी सुन्तलाबाटै गर्दै आएको छु । बर्सेनि सुन्तलामा औँसाको सङ्क्रमण बढ्दै गइरहेको छ”, खड्काले भन्नुभयो, “बगानमा झरेकै सुन्तला नौ प्लाष्टिकका बोरा भइसके । रोग दिन प्रतिदिन बढ्दै गएको छ । स्थानीय सरकारले कुनै चासो दिएको छैन । बागलुङ नगरपालिकाले सुन्तला किसानलाई प्रदान गर्दै आएको अनुदानसमेत काट्यो ।”

पाक्ने बेलाका सुन्तलामा औँसा कीरा देखिएपछि बिक्री गर्ने तयारीमा जुटेका किसानलाई निराश बनाइ दिएको छ । अहिले एउटा बोटबाट १० देखि २० प्रतिशतसम्म सुन्तला झरेको बताउँदै यो क्रम बर्सेनि बढ्दै आएको किसानको भनाइ छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका कृषक समस्यामा परेका छन् । जिल्लाको धेरै सुन्तला उत्पादन हुने क्षेत्रमा औँसा कीरा समस्या दिन थालेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताउनुभयो । 

उहाँका अनुसार सिगाना, बिउँ र सकुर्वालगायत स्थानमा सुन्तला खेतीमा औँसाका सङ्क्रमण देखिएको छ । झरेका फल व्यवस्थापन गर्नका लागि प्लाष्टिकका बोरा प्रदान गरे पनि गत वर्ष बजेट अभावमा उपचार गर्न सम्भव नभएको बताउँदै पुनले यस वर्ष औँसा नियन्त्रणका लागि छ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो । अन्नबाली छाडेर व्यावसायिक सुन्तला उत्पादनमा लागेका किसान फल झरेपछि मर्कामा परेका छन् । 

“बर्सेनि औँसाको समस्या बढ्दै आएको छ । कीराका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको छ”, पुनले भन्नुभयो, “झरेका सुन्तलाको सही व्यवस्थापन गर्न आवश्यक छ भने यस पटक सिगाना र बिउँमा औँसाको उपचार गर्ने योजनामा छौँ । यसका लागि बजेटकोसमेत व्यवस्थापन भइसकेको छ ।” सुन्तलालगायत अमिलो प्रजातिका फलफूलमा औँसा कीराको सङ्क्रमण देखिएपछि केन्द्रले किसानको बगैँचामा पुगेर त्यसको अध्ययनका साथै रोकथाम र व्यवस्थापनबारे सचेत गराउँदै आएको छ । 

यस वर्ष भने केही स्थानमा उपचार पनि गरिने पुनले बताउनुभयो । उहाँका अनुसार सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको सङ्क्रमण फैलिरहेको छ । रासस