माघको चिसो सिरेटोमा कुहिरोको कवजभित्र म आफू तातो महसुस गर्दै हिँडिरहेको थिएँ । नरकटको झाडी र कालोपुलको खोला आफ्नै सुरमा सुसाइरह्यो । हिडँदा हिँडदै केही मानिस मेरो सुराकी लागेँ । समयले केही नयाँ रहस्य अचानक खोतल्दै गरेको आभाष हुँदै थियो । यात्रामा म एक्लो तर कमजोर देखिइन तर पछाडिको आकृतिसँग आँखा जुधाउन पनि समर्थ भईन् । नजिकै थियो कलेज तर डरको डिग्री अझ नजिक थियो । यसैबिच आफू उभिएको ठाउँबाट उज्यालो ओझेलमा पर्यो । तैपनि म असहज नदेखिन नक्कल पारेर सकेसम्म छिटो छिटो हिँड्न खोज्थे । मानव रूपी दानवलाई हेर्दिनथेँ । तथापि आफैँभित्र जन्मिएको मुटु काप्ने वास्तविकताबाट अब म मुक्त रहिनँ । योजनाबद्ध रूपमा ती दानवहरू पो हिँडेका थिए । डरले मन र तन दुवै अत्तालिए । बाँच्ने रहरबाहेक अर्को कुनै चाहना थिएन ।
साथीहरू कहिलेकाहीँ तीनमुखे बाटोमा पीपलबोटनिर साँझ बिहान मिरमिरेमा भूतको कथा सुनाउँथे तनाव बढाउँथे । डुम्म कुहिरोको अँगालोमा फर्केर नहेर्दा डरको डिग्री उच्च हुन्थ्यो । भट्याक भट्याक फेरि हिँडेको आवाज गुन्जिन्थ्यो । एकछिन वातावरणमा कोलाहल छायो । हिँडिरहेका हाम्रो खुट्टा टक्क रोकिन्थे । को हो हँ, हाम्रो पछाडि हिँड्ने । फेरि सर्याक सर्याक हिँडेकै आवाज । को हो हँ, तर्साउने ? हामी भुतभुताउँदै, कराउँदै हिँड्थ्यौँ । यी सब क्रियाकलाप अचानक हुन्थे । आखिर को होलान ती ? यतिका बिहानै यसरी पछ्याउँदै हिँड्ने । यो त अचाक्ली भयो । यताउता हेर्दा केही देखिँदैन । अहो ! अझै बाँचेका छौँ, साथीहरू हामीहरू त । आआफ्नै शैलीमा चिसो मन गुटमुटाउँदै हिँडेका ती अप्ठयारा पलहरू सम्झेँ । शून्य परिवेश सम्झेँ । रित्तो आँखा मुहार सम्झेँ । थरर्र कापेको मन तथा शरीरहरू सम्झेँ ।
तर आज डिल्लीबजार सडकपेटीमा पुग्दा मेरा खुट्टाहरू कापिरहे । डर, आक्रोश र तनावले ओठ कलेटी परेका थिए । केही बोल्न नसक्ने अवस्थामा चुपचाप हिँडिरहेँ । मलाई शङ्का लाग्यो, अब मृत्यु नजिक छ । यी दानवहरूले मेरो निर्दोष कोमलतालाई लुच्छन् । हात, खुट्टा मुहार र शरीरमाथि गिद्धे नजर दौडाउँछन् । ती बौलाहा, राक्षसी अपराध विकृतिकाले मेरो सम्पूर्णतालाई नष्ट पार्छन् । मन अझैँ पनि अस्पष्टतामा अल्मलिएको थियो ।
के गलत के सही म छुट्याउन सकिरहेको थिईनँ । ‘के गर्ने मेरो भाग्यमा यस्तै लेखेको रहेछ’ भन्दै म आत्तिँदै र हतारिँदै हिँड्दै थिएँ ।
मेरो अन्तरमनको आत्माले मलाई सरापिरहेको थियो । किन र कहिलेसम्म सधैँ छोरी, दिदीबहिनी, बुहारी, भाउजू र आमाहरू डराउनुपर्ने ? । कुण्ठित र सङ्कुचित नेपाली समाजका ती दानवहरू हराउन अगाडि बढ्दै थिए तर मेरा हातहरू झापड हिर्काउन सकिरहेका थिएनन् ।
के परम्परादेखि चलिआएको कुरीतिविरुद्ध म आफैँ आवाज उठाउन सक्दिनँ । सधैँ कति चुपचाप सहने सोझी, लाटी डराउने पात्रको विम्ब बोकेर । अनि कति बाँच्नु ? अब लाटी केटी होइन, लाठी बनेर बर्सिनु थियो ती दानव माथि । एकाएक बल्ल मभित्र उज्यालोको ज्योति बलेको थियो । मैले आफूलाई पूर्ण रूपमा सरल सहज वातावरणमा पाएँ । डर, चिन्ता र उकुसमुकुसले बेरिएको थिइनँ बरु कालो बादललाई स्वच्छ वर्षाले सङ्घर्ष गरे झैँ बाँच्न, लड्न र विकल्प खोज्न सिकाए । आफूभित्रको विद्रोहको चेतनाको ज्वाला बलेपछि अब म कुनै पनि ज्यादतीहरू सहेर बस्न बाध्य थिइनँ । अहिले मभित्र आक्रोशका झिल्काहरूले दोहरी खेल्दै छन् तर म दोधारमै उभिएको छु । मनमनै नानाथरिका कुराहरू खेल्छन् ।
यो सहरमा उच्च शिक्षा हासिल गर्न आफ्नो घर छोडी बस्ने म जस्ता हजारौँ युवाको जमात छन् । डेरामा कोही साथी मिलेर त कोही आफन्तकहाँ बसेर पढ्थ्यौँ । बिहान कलेज, दिउँसो स्कुल र बेलुका ट्युसनबाट थकित भएर सबै आफ्नो डेरामा फर्कन्थ्यौँ ।
राति खाना खाइसकेपछि सबै भेला हुन्थ्यौँ । आआफ्नो कथा व्यथासहितको दिनचर्या सुनाउँदै सुत्ने तरखरमा हुन्थ्यौँ । कोही गीत गुन्गुनाउँथे भने कोही डायरी लेख्दै हुन्थे । रात परेपछि चारैतिर शून्यता छाउँथ्यो । कहिलेकाहीँ साथीहरूसँग मिलेर रातको गम्भीरतामा कालोपुलको खोला बगेको स्वर सुनिन्थ्यो । अनि नरकटको झाडीबाट स्यालको हुई... हुई आवाज गुन्जयमान हुन्थ्यो । त्यसपछि त साथीहरू डरले चिरनिद्रामा विलीन हुन्थे ।
तर म निदाउनै सक्दिनँ । मन अशान्त छ । झ्यालबाट एक पटक बाहिर नियाल्छु । कालो बादल मडारिँदै छ । मभित्र पनि अशान्तिको राँको सल्किएको छ । डरले हातखुट्टा लुलाएका थिए । बिहान हिँड्दा मेरा पदचापहरू पछ्याउँदै हिँड्ने कुनै भुत थियो कि जीव । पछाडि फर्किएर हेर्ने आँट र मन दुवै थिएन । एकाएक मुटुको ढुकढुकी बढ्यो, सास फुल्यो ।
केही दिनसम्म कसैलाई केही भनिन् । कसैसँग कुरा गर्दा पनि खोलिन । मन बाँधेर राख्थे । एक कुनामा थुचुक्क ओइलाएको फूल झैँ बस्थे । मानौँ म भित्रभित्रै जल्दै थिए, गल्दै थिए । मितिनी कलेजबाट आउँदा आफ्ना सारा कथा बेलिविस्तार लगाउँथिन तर म एउटै पीडा लुकाएरै बस्थे ।
आफँैलाई अनौठो लाग्थ्यो, साँच्ची के हो केटीको जात । सधैँ दोस्रो दर्जामा जिउनुपर्ने हो र ? केही बोल्न, गर्न खोजे उल्टो अर्थ लगाइदिने समाजको कुरीति । जतिसुकै असल संस्कार र परिवारकी केटी नै किन नहोस् एक्लै बाटोमा हिँडेको देखापर्नै नहुने । कहिले झुटो आरोपमा फसाउन खोज्ने, कहिले र्याल चुहाउँदै झम्टिन खोज्ने । फेरि के विधिको खेदो गर्ने उनीहरूको निर्णयलाई ? के सडकमा एक्लै हिँड्नु पाप हो । बाटोमा ठिङ्ग उभिएको दानवहरूसँगै लड्दै आफ्नो सुरक्षा गर्दा मुहारमा मुस्कान पछिसम्म पछ्याइरहन्छ तर त्यो कहालीलाग्दो समयलाई सम्झँदा जिउ नै सिरिङ हुन्छ । म केही बोल्न सक्दिनँ । खालि डरले घाँटीमा कुरो अड्किरहेको हुन्छ ।
ए मितिनी, दिउँसै ढोका लाएर कोठामा एक्लै बस्ने, के हो यस्तो अनौठो पारा । ऊ बाहिरबाटै बोलाउँछे । उ बारम्बार मलाई प्रश्न तेर्साउँछे । ऊ फेरि सोध्छे, “भन न केही भन्नु छ कि ?” तँलाई । होइन, यस्तै हो । केही होइन । म उसलाई पुलुक्क हेर्दै फिस्स हाँस्छु ।
चिसो मन लिएर, अनि किन तँ ‘सधैँ मुहारमा ग्रहण थापेर बस्छेस् । नभनी किन घाँटीमा अड्काई राख्ने त्यो रहस्यको पोको । कुनै पनि कुरो भन्न सङ्कोच गर्नुपर्दैन–ऊ भन्थिन् । मनको गाँठो फुका, खुलस्त कुरा गर । निरन्त निरन्तर ऊ बालक झैँ मसँग जिद्धी गर्दै छे । मेरो पाखुरा च्याप समात्दै किन आफूलाई दुःखको सागरमा होमेकी, फेरि घचघच्याउँदै सोध्छे, “ल भन तैले भन्न नसकेको कुरो नभनी हुँदैन । ल भन ल ।”
आखिरमा उसको आँखामा आँखा जुधाउँदै म भन्न विवश हुन्छु, “केही समय एक्लै कोठा लिएर बसु कि ?” आफ्नो खुसी नै पर पर सरेको अनुमान लाएपछि उसको मुहारको कान्ति कताकता हराउँछ, ओठको मुस्कान कताकता बिलाउँछ । सोच्दै नसोचेको कुरा सुन्नु परेपछि, ‘तेरो दिमाग त ठिक छ’, ऊ झर्कंदै बोल्छे । तलाई मसँग बस्दा के अप्ठ्यारो छ कि नयाँ मितिनी बनाईस्, ऊ प्रश्न ठडाउँछे । तेरो मनमा के छ खुलस्त पोख । मलाई आफ्नै सम्झी, ऊ पुनः रिसाउँदै बोल्छे ।
झट्ट हेर्दा लाग्छ, म सामान्य रूपमा बसेको छु तर भित्र–भित्र निराशा र वेदनाले निमोठिएको छु । दोधारमा थिचिएर पिल्सिएको छु । तैपनि नयाँ रहस्य गाँठो खुल्ने विचारसहित नजिकै बसेकी मितिनीको हात समाउँदै बिस्तारै अगाडि बढ्छु । बल्ल हिम्मत र साहस बटुल्दै छु । आफूलाई निकै हलुङ्गो अनुभव गर्छु, उसको साथले तर रित्तिएको मनमा व्यथाको सागर उर्लिएकै छन् ।
उफ् ! बल्ल त खुत्लने भयो समयले त्यो रहस्यको ठेली । मितिनीकै हात च्याप्प समातेर म भक्कानिँदै – पीडाको कथा ओकल्दै थिएँ । अस्ति तलाई याद छ, म ज्यादै डराउँदै कोठामा हुत्तिएको थिएँ । त्यो बिहानी असन्चो तथा थकानले तँ सुतेको थिईस् । मेरो पदचाप पछ्याउँदै त्यो पनि कोठासम्म आइपुगेको थियो तर हामीसँगै देखेपछि त्यो बाहिरैबाट फर्कियो । सम्पूर्ण शरीर डरले काँपेको थियो । आवाज नै मुखबाट निस्किएन । त्यहीँ दिन हो म अस्मितासँगै हतारमै होस्टेल सरेको थिएँ ।
तलाई छोडेर जाने मन त थिएन तर आफ्नो शरीरको सुरक्षाका लागि त्यो ठाउँ छोडी हिँडेँ, आफन्तहरूको साथ खोज्दै थिएँ । त्यो मिर्मिरेमा कलेज नपुग्दा बाटोमा कसैले मेरो पाखुरा च्याप्प समात्यो । आफ्नो रक्षा आफैँ गर्न म सडकमै लड्दै थिएँ । केही ढोगी मलाई एक्लो भेटाएर मेरो सम्पूर्णता लुट्न खोज्दै थिए । म के देख्छु हाताहातमा प्रमोद दाईको मुखुन्डो लाएको मुहार उदाङ्ग थियो । मैले देखेँ ऊ त्यँही त हो नि –“बहिनी बहिनी भनेर कहिल्यै नथाक्ने मितदाइ, मुखुन्डो लाएर मलाई अँठ्याउन अगाडि बढ्दै थियो ।”