• १२ साउन २०८१, शनिबार

तारेको माछा, टोकरीमा व्यापार

blog

तारेको माछा टोकरीमा राखेर बेच्ने कर्णाली चिसापानीका स्थानीय युवा ।तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

चिसापानी (कैलाली), मङ्सिर २३ गते ।  कैलालीको लम्कीचुहा–३, कर्णाली चिसापानी हुँदै यात्रा गर्ने र घुम्न जानेको पहिलो रहर हुन्छ– चिसापानीको माछा चाख्ने । तिनै यात्रु र पर्यटकलाई माछा बेचेर स्थानीय युवाले जीविका चलाउँदै आएका छन् । चिसापानीमा गाडी रोक्नासाथ या नयाँ मानिस देख्नासाथ ‘माछा माछा’ भन्दै तारेको माछा टोकरीमा लिएर पछि लागिहाल्छन् स्थानीय युवा । कर्णालीकै हो त ? भन्दै यात्रु र पर्यटक पनि माछा चाख्न छुटाउँदैनन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुदूरपश्चिम प्रवेशद्वारका रूपमा रहेको चिसापानी पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण छ । हिजोआज कर्णाली चिसापानीमा जलयात्रा गर्न र पुल अवलोकनका लागि आन्तरिक पर्यटकको भिड लाग्ने गर्छ । चिसापानी पुग्ने जोकोही कर्णाली चिसापानीको माछा भनेपछि स्वाद नलिई हिँड्दैनन् । चिसापानीमा बस्ने गरी पुगेकाको त बेग्लै कुरा, केही बेर बस्नेका लागि समेत तारेको माछा टोकरीमा बोकेर युवाले स्वाद चखाउँदै आएका छन् । तारेको माछा टोकरीमा बेच्नेमध्ये लम्की बहुमुखी क्याम्पस, लम्कीमा स्नातक तहमा अध्ययनरत स्थानीय रोशन धमला पनि एक हुन् । तारेको माछा टोकरीमा बेचेरै पढाइ खर्चको जोहो र घर खर्च जुटाउँदै आएका धमलाले भन्नुभयो, “म जस्ता विद्यार्थीका लागि राम्रो व्यवसाय बनेको छ ।”

चित्रबहादुर सुनारले तारेको माछा बेच्न थालेको पाँच वर्ष भयो । माछा बेचेर राम्रै आम्दानी हुने गरेको अनुभव उहाँको छ । तारेको माछा बेचेर दैनिक पाँच सयदेखि दुई हजार रुपियाँसम्म कमाउने गरेको उहाँको भनाइ छ । २५० रुपियाँ किलो माछा किनेर घरमा तारेर बेच्दा पाँच सय रुपियाँ आम्दानी हुने सुनारले बताउनुभयो । एउटा तारेको माछा एक सय रुपियाँका दरले बेच्ने गरेको युवा व्यवसायी बताउँछन् । 

चिसापानीकै मोहन कलौनी, कमल नेपालीलगायत अन्य २५ जना युवाले समेत दैनिक तारेको माछा डुलाएर बेच्दै आएका छन् । सुरुमा दुई/तीन जनाले सुरु गरेको व्यवसायमा अहिले ३० भन्दा बढी युवा आबद्ध छन् । धेरै भएपछि व्यवसायमा प्रतिस्पर्धा भएको कमल नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला गाडीमा चढेर माछा बेच्न पाइन्थ्यो, अब त गाडीवालाले बस्न पनि दिँदैनन् । धेरै जना भएपछि माछाको रेट घटाएर दिन्छन् ।”