फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर २२ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश अहिले झन् सङ्कटतिर गएको दाबी गर्नुभएको छ । नेतृत्वको असक्षमताका कारण देश ओरालो लागेको उहाँको भनाइ छ ।
एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको समृद्धिका लागि संकल्प यात्राको नवौं दिन शुक्रबार पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वर्तमान सरकारले विकास, निर्माण र जनताका सरोकारमा कुनै ध्यान नदिएको आरोप लगाउँदै अध्यक्ष ओलीले गठबन्धनको ध्यान सरकार टिकाउनमा मात्र रहेको चर्चा गर्नुभयो ।
“एमालेबाहेक अरु कसैले यो देश बनाउन सक्दैन भन्ने त स्पष्ट भइसक्यो । जनताको समस्या समाधानमा सरकारको ध्यान छैन” अध्यक्ष ओलीले थप्नुभयो, “अहिले देखिएको अवस्थामा सुधार ल्याउन एमालेको एकल बहुमत आवश्यक पर्छ ।”
देशलाई समृद्ध बनाउन सबै जनता सचेत, संगठित र आन्दोलित हुनुपर्ने उहाँको भनाइ छ । बैतडी झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म हुने संकल्प यात्राबाट आगामी निर्वाचनमा एमालेको एकल बहुमतको आधार तयार हुने उहाँको दावी छ । यात्राका क्रममा जनताको समस्या बुझ्ने, सुन्ने, माग सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।
पोखरामा शुक्रबार बिहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापणपछि यात्रा सुरु गर्नुभएका उहाँले जिरो किमीदेखि तालचोकसम्मको सडकमा पैदल हिंडेर स्थानीयसँग संवाद गर्नुभयो ।
तालचोकमा भएको सभामा उहाँले पोखराको कला, साहित्य, संगीतबारे समेत चर्चा गर्नुभएको छ । पोखरालाई नेपालको पर्यटकीय राजधानी मानिए पनि मुग्लिन–पोखरा सडकखण्ड स्तरोन्नतिमा भएको ढिलाइले पर्यटन क्षेत्र र सर्वसाधारण समेत नराम्ररी प्रभावित भएको उहाँले चर्चा गर्नुभयो । कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख समेत रहनुभएकी एमाले केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले सारङ्गी उपहार दिनुभयो ।
बिहीबार साँझ कास्की आइपुगेको सङ्कल्प यात्रा शुक्रबार बिहान तालचोकमा कार्यक्रमपछि रुपागाउँपालिकाको तालबेसी, पीपलेबजार हुँदै लमजुङतर्फ गएको छ ।