• २३ वैशाख २०८१, आइतबार

लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक : प्रमुख निर्वाचन आयुक्त

blog

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया

काठमाडौं, मङ्सिर २२ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

एसियाली निर्वाचन सरोकारवाला सङ्घ को ‘दिगो लोकतन्त्रको निर्माणः निर्वाचनका चुनौती र अवसरहरुको सम्बोधन’ विषयक मङ्सिर २० र २१ गते काठमाडौंमा भएको सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धतालाई थप सुदृढ गर्न यस फोरमले थप मार्गदर्शन दिने विश्वास व्यक्त गर्नुहुँदै उहाँले निर्वाचनमा व्यापक सहभागिता खोज्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले निर्वाचन आयोगले संवैधानिक रुपमा स्वतन्त्र निकायका रुपमा काम गरेको र तीन तहको निर्वाचनलाई पटक–पटक सम्पन्न गरेको बताउनुभयो । उहाँले स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नका लागि विद्यामान निर्वाचन कानुन परिमार्जन गर्न सरकार तयार रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख वक्ता पूर्व भारतीय प्रमुख निर्वाचन आयुक्त एस.वाई. कुरैशीले निर्वाचन व्यवस्थापन सुधारको विषय बृहत्, निरन्तर र चुनौतीपूर्ण रहेको र यस्ता फोरमहरुबाट असल अभ्यासको सिकाइ सबै निर्वाचन व्यवस्थापन निकायका लागि एक महत्त्वपूर्ण अवसरको रुपमा रहने बताउनुभयो ।