• ४ जेठ २०८१, शुक्रबार

गैरकानुनी भर्तीको जोखिम

blog

वैदेशिक रोजगारीका क्रममा खास गरी खाडी मुलुकमा गएका नेपाली नागरिकको विविध कारणले ज्यान गएको समाचार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाकसमा शव नआएको दिनै हुँदैन । स्वदेशमा रोेजगारीको पर्याप्त अवसर नभएका कारण परिवारको भरणपोषणका लागि विदेश जानु धेरै नेपालीको बाध्यता भएको छ तर विदेश जानेहरू सबै बाध्यतावश नै गएका होइनन् कि भन्ने दुःखलाग्दो अर्को तथ्याङ्क पनि बाहिर आइरहेकै छ । लाखौँ रुपियाँ खर्च गरेर अवैधानिक बाटोबाट विदेश जानेहरूका दुःखका कारुणिक समाचार आइरहेका छन् । दलाललाई ७०/८० लाख रुपियाँ बुझाएर विभिन्न देश हुँदै महिनौँको सङ्घर्षपूर्ण यात्रापछि अमेरिका छिर्नेका कथाव्यथा सञ्चार माध्यममा सार्वजनिक भइरहेकै छन् । यस्तै गरी अन्य विकसित मुलुकमा छिर्नका लागि दलाललाई मोटो रकम बुझाएर हन्डर खेपेका धेरै छन् । यसमा पछिल्लो नयाँ गन्तव्य रुस थपिएको छ । ठुलो धनराशि खर्च गरेर जसरी पनि विदेश जाने मानसिकताको विकास हुनेखाने नेपालीमा समेत किन भइरहेको छ भन्नेतर्फ सम्बन्धित निकायले सोच्न आवश्यक छ । 

स्वदेशमै सानातिना उद्यम, व्यापार व्यवसायमा लगानी गरेर परिवारसँग रमाएर बस्नुको विकल्पमा विदेश नै जाने प्रवृत्ति बढ्दै गइरहेको छ । कमाउने लोभमा विदेश जानेहरूले धन गुमाउनुका साथै दुःख बेहोरेर फर्किने गरेका घटना त सामान्य हुन्, ज्यानै गुमाएका दुःखद घटनाले परिवारको मात्र नभएर आमनेपालीको मन लामै समयदेखि उद्वेलित बनाइरहेको छ । विसं २०६१ भदौ १५ गते इराकमा भएको १२ जना नेपालीको हत्याका कारण सिङ्गो देश रोएको थियो । केही समयअघि इजरायलमा पढ्न गएका दस जना विद्यार्थीको हमासको आक्रमणमा परेर भएको निधनले अर्को पीडा थपेको थियो भने यसरी विदेशमा नेपालीको हत्या हुने क्रम बढिरहनु थप चिन्ताको विषय भएको छ ।

यतिबेला युद्धग्रस्त मुलुक रुसको सरकारी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा ज्यान गुमाएका छ जना नेपाली युवाका कारण परिवारको बिचल्ली हुनुका साथै आमनेपालीको मन अमिलिएको छ । रुसी सेनामा भर्ती भएर गएको असारयता युद्धमा ज्यान गुमाउनेहरूमा कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । यसै गरी युक्रेनले बन्दी बनाएका विवेक खत्रीको अवस्था पनि सार्वजनिक हुन सकेको छैन । यसरी युद्धसेनामा जानाजान  आशक्त हुने विकृति प्रवृत्ति तत्काल रोक्नु वान्छनीय भएको छ ।

रुस र युक्रेनबिच झन्डै दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धकै क्रममा रुसी सेनामा भर्ती गराउन नेपालबाट भूतपूर्व सुरक्षाकर्मी मात्र नभएर बहालवाला सुरक्षाकर्मीलाई समेत मोटो रकमको लोभ देखाएर लाखौँ असुल्दै रुस पु¥याउन सक्रिय गिरोहको पर्दाफास भएको छ । पर्यटक भिसामा रुस पु¥याएर सेनामा भर्ती गराउने गिरोहका नाइके उदयपुर जिल्लाको कटारी नगरपालिका–६ का भूतपूर्व सैनिक हरिबहादुर विश्वकर्मा (हरि विक) सहित अन्य सहयोगी ११ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गिरोहले अहिलेसम्म १८ जनालाई रुस पु¥याइसकेको र थप १५ जनालाई उडाउने तयारी गरिसकेको अवस्थामा उनीहरू पक्राउ पर्नुले थप नागरिक जोखिममा पर्नबाट जोगिएका छन् । पक्राउ परेकाहरूको साथबाट ठुलो मात्रामा राहदानी बरामद हुनुले वैदेशिक रोजगार व्यवसायी र शैक्षिक परामर्शदाताको आवरणमा उनीहरूको धन्दा लामो समयदेखि चल्दै आएको अनुमान गरिएको छ ।

युद्ध चर्किंदै जाँदा रुसले विदेशी नागरिकलाई समेत सेनामा भर्ती खोलेपछि नेपाली सुरक्षाकर्मी दलालमार्फत गैरकानुनी बाटोबाट रुस पुग्नुको पछाडि आर्थिक प्रलोभन नै मूल कारण देखिन आउँछ । भारत, साउदी अरब, कतारलगायतका मुलुक हुँदै रुस पुगेर युद्धरत देशको सेनामा भर्ती हुनु भनेको आफ्नो जिउज्यानको माया मार्नु नै हो । छ जनाले युद्धमा ज्यान गुमाएपछि मात्र सार्वजनिक भएको यस घटनामा अन्य कति जना रुसी सेनामा भर्ती भएका छन् भन्ने तथ्याङ्क सरकारले कूटनीतिक तवरबाटै तत्काल खोज्न आवश्यक छ । युव्रmेनी सेनामा पनि उसरी नै भर्ती भएका पनि हुन सक्छन् । नेपाली नागरिकले बेलायत र भारतीय सेनामा मात्र वैधानिक रूपमा भर्ती हुन पाउने प्रावधान छ । जुन देशको सुरक्षा निकायमा नेपाली नागरिक भर्ती हुन सक्ने भन्ने दुई पक्षीय सम्झौता छैन, त्यस्तो मुलुकमा भर्ती गराउने गिरोहको जालो तोडेर कारबाहीको दायरामा ल्याउन अनुसन्धानलाई अझै फराकिलो बनाउनुपर्ने हुन्छ । नेपाली नागरिकलाई यथार्थ नबुझी जोखिम मोलेर दलालको भरमा विदेश नजान सम्बन्धित निकायबाट जनचेतना अभिवृद्धि गरिनु पनि उत्तिकै आवश्यक देखिन आउँछ ।