• १८ फागुन २०८०, शुक्रबार

भैरहवा विमानस्थल सञ्चालनका लागि दबाब

blog

सिद्धार्थनगर समाचारदाता

सिद्धार्थनगर, मङ्सिर २१ गते । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेपछि विभिन्न दबाबका कार्यक्रम घोषणा गरिएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीले विरोध प्रदर्शन गर्दै विमानस्थल पूर्ण रूपमा सञ्चालनको मागसहित यही मङ्सिर २२ गतेदेखि दबाबका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

विगत लामो समयदेखि विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा रुपन्देहीको व्यावसायिक, औद्योगिक तथा पर्यटकीयलगायतका क्षेत्रमा गरिएको लगानी जोखिममा परेको भन्दै बाध्य भएर आन्दोलन गर्नु परेको सिद्धार्थ सञ्जाल रुपन्देहीका संस्थापक अध्यक्ष अनिल ज्ञवालीले बताउनुभयो  । 

उहाँले भन्नुभयो, “यसको तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ, यो पहिलो धक्का भएकाले सबैको साथ खोजेका छौँ ।” उहाँले आफ्नो अध्यक्षता तथा चन्द्रप्रकाश श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल सङ्घर्ष समिति गठन गरेको बताउनुभयो । 

यसअघि प्रधानमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई भेटेर माग पूरा गराउन ज्ञापनपत्र दिइएको थियो ।