• २ जेठ २०८२, शुक्रबार

पाल्पामा छ जना स्रष्टा सम्मानित

blog

सम्मान कार्यक्रममा सहभागीहरू । तस्विर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर १७ गते । पाल्पामा छ जना स्रष्टाहरू सम्मानित हुनुभएको छ । सम्मानित हुनेहरुमा पोखराथोक साहित्य सङ्गमका निवर्तमान अध्यक्ष हरि भट्टराई, उपप्राध्यापक तथा साहित्यकार शारदा खनाल, साहित्यकार धातानन्द शर्मा गैरे, साहित्यकार तथा सञ्चारकर्मी छवि ज्ञवाली, संस्थाका मधु नेपाल र साहित्यकार रोहितप्रसाद ज्ञवाली हुनुहुन्छ । 

पोखराथोक साहित्य सङ्गमको वार्षिकोत्सवको अवसरमा उहाँहरूलाई दोसल्ला, माला र सम्मानपत्रले सम्मान गरिएको हो । छ जना साहित्यकारलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. श्यामप्रसाद न्यौपानेले सम्मान गर्नुभयो । 

सो अवसरमा उहाँले साहित्यको साधनामा लाग्नु जीवनलाई सार्थक बनाउनु हो भन्ने विचार राख्नुभयो । विशिष्ट अतिथिका रूपमा डा. टङ्कप्रसाद पन्थले वार्षिकोत्सवको अवसरमा विमोचित ‘वाटिका’ साहित्यिक पत्रिकाका बारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा संस्थाका संरक्षक कृष्णप्रसाद कोइराला, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, अध्यक्ष पुष्करराज रेग्मी, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्यालले धारणा राख्नुभयो। यस्तै, साहित्यकारहरू मन गहिरे, डा. शङ्करप्रसाद गैरे, नारायण अधिकारी, रामप्रसाद अर्याल, तिलकप्रसाद लुइँटेल, मिलन समीर, शम्भु अर्याललगायतले रचना वाचन गर्नुभयो ।