• १३ साउन २०८१, आइतबार

घाँसखेतीबाट कृषकको जीवन उकासिँदै

blog

ब्याबसायिक रुपमा उत्पादन गरिएको घाँस काटदै कृषकहरु । तस्विर : होमराज रानाभाट

होमराज रानाभाट

नवलपरासी, मंसीर १५ गते । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१२ का कृषकहरू अहिले समूह नै बनाएर व्यावसायिक घाँस खेती गर्न थालेपछि उनीहरूको जीवनस्तर उकासिन थालेको छ । 

गैँडाकोट नगरपालिकाको भेडाबारीको सडक छेउसँगै कृषकले घाँस खेती सुरु गरेसँगै किसानलाई घाँस बिक्री गर्न भ्याइनभ्याई रहेको छ । पशुलाई चाहिने पौष्टिक तत्त्व प्रशस्त पाइने हुँदा श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फार्मका सञ्चालक विष्णु भट्टले लगाएको घाँस अहिले जिल्लामा धेरैको रोजाइमा परेको छ । 

झट्ट हेर्दा उखु बारीजस्तै देखिने सुपर नेपियर जातको घाँसको माग अहिले जिल्लामा अत्यधिक बढेको र जस्तोसुकै हावा पानीमा पनि राम्रोसँग बढ्ने हुँदा पशु किसानहरूको रोजाइमा परेको कृषकको भनाइ छ । अहिले फार्मबाटै प्रतिकिलो नौ देखि दश रुपियाँका दरले हरियो घाँस बिक्री हुनेगरेको छ । 

आठ बिघा क्षेत्रफलमा सुरु गरिएको घाँस खेतीमा घाँससँगै अन्य बिरुवाहरू पनि लगाइएको छ । अघिल्लो वर्ष ७४ लाखभन्दा बढीको घाँस र बिउँ बिक्री गरेका यहाँका कृषकको घाँस राम्रो आम्दानीको स्रोत बन्दैगएको छ । 

स्थानीय कृषक विष्णु भट्टका अनुसार यहाँको घाँस स्रोत केन्द्रबाट अहिले दैनिक ३० देखि ४० हजार बराबरको घाँस बिक्री हुनेगरेको छ । पाँच वर्षअघिदेखि सुरु भएको फार्ममा २२ बढी प्रजातिका घाँसहरू रहेको उहाँले बताउनुभयो । फार्ममा दैनिक दर्जन बढी समूहहरू अध्ययन अवलोकनका लागि आउने गरेको फार्म सञ्चालक भट्टले बताउनुभयो ।  

भट्टका अनुसार खेतबारीका डिल, थोरै खाली जग्गाहरूमा यो घाँस लगाउन सकिने भएर नै यस्ता घाँसहरूको माग बढ्दो छ । सुरुमा दुई बिघा क्षेत्रफलमा घाँस खेती गरेका उहाँ अहिले आठ बिघा क्षेत्रफलमा घाँस लगाएको बताउनुभयो ।  

हेर्दा उखुका घारोजस्तै देखिने घाँस अहिले प्रतिबोरा दुई हजार पाँचसयका दरले बिक्री हुदैंआएको उहाँले बताउनुभयो । कृषक भट्टले निषादीरहित उत्पादनलाई अभियानकै रूपमा लैजाने र पशुलाई चाहिने आहारमा आत्मनिर्भर बन्ने बाटोमा लाग्नेगरी काम गरेको दाबी गर्नुभयो ।