“अजिङ्गरको पुछारमा छौँ हामी, टाउको समात्न जाऊँ !” आमदिङबाट हिँड्ने बेलामा निमा आङजु लामाले मलाई भनेथे । अघिल्लो दिन काठमाडौँबाट यहाँ आइपुग्दा गाला ताछ्ने चिसो र हावाको लाछलुछ मेरा लागि शैलुङको स्याँठभन्दा फरक थिएन ।
बिहानै भुटेको मकै र अरू खित्रिङमित्रिङ झोलामा हालेर निमा घर छेउको बुद्ध प्रतिमातिर लगे । पाँच रङ्गे लुङ्ता घरअघिल्तिर गोलुङ र जङ्गलमा रिलुङ फिर्फिराइरहेथे । नदी र पुलमा टाँगिने लुङ्तालाई जुङलुङ भनिने रहेछ ।
“हामी पुग्ने ठाउँ निकै जाडो हुन्छ । बाक्लो बक्खु बोक्नु है ।” ज्याकेट थन्क्याउन आँट्दा निमाले सतर्क बनाए । हामी निमाका बुबा दावा छिरिङले ३० औँ वर्ष चौँरी र भेडा चराएर बिताएका ठाउँतिर जाँदै थियौँ ।
आमदिङ पुग्नै एक दिन लागेथ्यो । फलाट वा कटुस बेस्सरी फल्ने पाखालाई शेर्पाहरू आमदिङ भन्दा रहेछन् । त्यै भएर गाउँको नामै आमदिङ । घामले पखेटा फिँजाउँदा लामासँग उकालो लागेँ मै पनि । दावा बुढाले दह्रो लट्ठीमा पनि हात लगाएर भनेथे, “उकालोमा भाइ तर ओरालोमा यो बन्छ दाइ ।’’
दोलाङ्साको उकालोतिर लाग्दा बाटामा भैँसीलाई घाँस हाल्ने गाउँहरू भेटिए । अचेल चौँरी छोडेर भैँसी पाल्नेहरू बढेछन् आमदिङमा । वरिपरि पहाडै पहाड र माझमा फाँट जस्तो लाग्ने यो पठार सिन्धुपाल्चोकको उत्तरी कुना र दोलखाको पश्चिमी चेपसँग अँगालिएको लेकाली बस्ती रहेछ । “ऊ त्यो हो नि छत्रे महादेव !” पूर्वतिर कालिञ्चोक हाराहारीको थुम्कामा अर्को शिव–ढुङ्गो थियो । शेर्पैर्शेर्पाले घेरिएका बस्ती भए पनि शिवको सम्मान नि अग्लै देखियो ।
०००
दोलाङ्सामा निकै भव्य गुम्बा रहेछ । गाउँको बिचमा ढुङ्गामाथि ढुङ्गा खप्टेर बसेको हुनाले शेर्पाहरूले दोलाङ्सा भनेका रहेछन् । “अचेल चौँरी जङ्गलतिरै छन् । बिस्तारै तल झर्छन् ।” बाटैमा भेटिएकी चेङा शेर्पाले भनिन् ।
गाउँको माझैबाट एउटा ढुङ्गेनी गोरेटो मास्तिर गयो । सगरमाथा जाने पुरानो पदमार्ग रहेछ यो । कुनै बेला तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले यो बाटो सगरमाथा आरोहणका लागि प्रयोग गरेका थिए रे । बाह्रबिसेमाथिका आमदिङ, दोलाङ्सा, पारसोल, खामाथाङ, जोमटोक, ठेकिनासा, टउसिङ, छारेगाङ, च्याङर्गुसा, मनिगाङ, चर्मगाङ, नर्गपा जस्ता लेकाली बस्ती शेर्पाहरूको मूल थलो रहेछ ।
दोलाङ्साबाट दक्षिणतिर फाँटैफाँट देखियो । पाटनमा बस्ती बस्दै, जङ्गलतिर चौरी पाल्दै शेर्पाहरूको सभ्यता यहाँ बाँचेको देखिन्थ्यो । ठाउँ ठाउँमा शेर्पाले दुधका गाग्री नाम्लो लगाएर गइरहेका देख्दा निमाले भन्थे– “आज साइत प¥यो ।”
बाटोमा भत्केको गुम्बा देखिन्थ्यो । मन्दिर होस् कि गुम्बा त्यसरी भत्किएको हेरिरहने नैतिकता न समाजलाई छ न सरकारलाई । एउटा गुम्बा नासिँदा कति धेरै इतिहास, धर्म, चाडपर्व, बोली व्यवहार र रीतिथिति ओझेल पर्छ भन्ने कुराको पनि सबैले हेक्का राख्नुपर्ने हो ।
थालसिपु पुग्दा निकै थाकेथ्यौँ । त्यहाँ टारमा तीन चार माने थिए । एउटा मझौला खालको गुम्बा, पाँच, छवटा टहरा थिए । जङ्गलभरि चौँरीका बथान र भेडा मस्तले चरिरहेका थिए । तिनका गोठाला थिए भोटे कुकुर ।
एउटा काठे छाप्रोमा छिराए निमाले । छोराछोरी काठमाडौँ पठाएर यो जङ्गलमा भेडा, चौँरी र कुखुरासँग जीवन डो¥याइरहेकी डोमाले दुध तताएर खुवाइन् । छुर्पी भुटेर थालभरि राखिदिइन् । राता र ताता छुर्पीका दानाको स्वाद मेरा लागि जीवनकै पहिलो र अलौकिक थियो । भोक, थकान सबै सामसुम भए ।
०००
उकालो र जङ्गलको गोरेटोमा हामी लाग्यौँ । पहाडे कागज बनाउने अर्किलीका पोथ्रा जङ्गलैभरि थिए । सुनाखरीले छपक्कै ढाकेको वनैवन उक्लेका छौँ । ढुङ्गा छापिएको गोरेटो खच्चड, चौँरी र भेडाका पेलाइमा परेर पूरै बिग्रेको छ । कति ठाउँका ढुङ्गा भीरतिर छन्, लेउ उम्रेर टेक्न नहुने । उत्तरतिर गएको बाटोले तेर्छोमा पुगेर सास फे¥यो जस्तै हामी पनि लामो सुसकेरा हाल्यौँ ।
लारे मानेमा बाटोका माझमा लहरै माने देखेँ । शेर्पाहरूले मनि रेङग्पु भनेर सम्मान दिने रहेछन् । परापूर्व कालका यी मानेहरू अहिले माटैमा मिसिने अवस्थामा थिए । यहीँबाट अग्ला, काला पहाड र हिउँ बोकेर चम्चमाइरहेका हिउँचुलीका चुचुरा लस्करै देख्यौँ । “यो डुमथली,’’ लामाले चिनाए । छाप्रा छेउछाउतिर फाट्टफुट्ट चौँरीका बाच्छा चरिरहेका थिए । डुमथलीमा बसेर पानी पिएर पसिना सुकाउन केही समय खर्चियौँ । बर्खे खोलाको पुल तरेर फाँट पुग्दा माने भेटियो । मानेका ढुङ्गामा चव्रm कुदिएका अनमोल चित्र खर्क, गोठ थली वरपर छरपष्ट देख्ता नमीठो लाग्थ्यो । हामी आएको चाल पाएर दस बाह्र चौँरी ठाड्ठाडा कान लगाएर एकोहोरिए ।
०००
चौर कटेपछि छपक्कै सप्रिएका सुरिला लालीगुराँसको जङ्गल भेटियो । “यहाँ पन्ध्र बिसथरीका गुराँस यहाँ फुल्ला,” निमाले अनुमान लगाए । वास्तवमा यो सुनकोशी नदीको शिर रहेछ । निकै लम्केपछि अर्को चौरसँगै कल्कलाएको पानी हुर्हुराएको भेटियो ।
ठाउँ ठाउँमा बँदेलले खनेर खेतै सम्याए जस्तो देखिन्थ्यो । तह तह भएर अग्लिएको टारमा पाँच, छ छाप्रा थिए मान्द्रोले छानो हालिएका । “यी भेडाका खर्क ।” निमाले यसो भन्दै उभ्याए । फेरि टार टुप्लुक देखियो । पाँच, छ छाप्रा भित्तामा छाना टाँसेर राखिएका भेटिए । भर्खरै मेला सकिएको अनुमान गरे निमाले । “यो भालुकोरे । हामी त कि दोर्जे भन्छौँ ।” निमाले ठाउँ चिनाए । यहाँका मानेका ढुङ्गा छरिएका थिए । एक दुई वटा त उठाएर मिलाएँ । तर के पो साध्य ?
०००
उकालो र निर्जन जङ्गल तर्दै पहाडका भित्ता छुन आँटेछौँ । बल्ल झर्ना कलकल र हावाको बेतोड, बादलको गडगडाहट सुसेली सुनियो । निमाले जङ्गलको तेर्पेतिर डो¥याए ।
अलिक मास्तिर हरियै खर्क रहेछ । केरोक रहेछ यो पाखोको नाउँ । कुनै समय निकै भव्य गुम्बा थियो रे यहाँ । यहीँ नजिकै गुफा पनि रहेछ । गुफामा कति मानिसहरू उहिल्यै थुनिएका थिए रे ।
अझ गतिलै उकालो काटेपछि मात्र हामी पुग्ने ठाउँ भेटिन्थ्यो । बिहानैदेखि त्यही ठाउँका लागि हामीले शरीर गलाएथ्यौँ । खुट्टा अडिन नसक्ने ढुङ्गेभीर सामुन्ने थियो ।
“यो त रेड पाण्डाका क्षेत्र हो क्यारे ।” उकालोमा चिप्लेका खुट्टा रोक्दै भनेँ, “पाण्डासँग देखभेट के होला, पत्तो छैन । तर यो बादलले पानी नपारिदिए हुन्थ्यो ।” भरे फर्किंदा भेटिने ओराली र थाकेको ज्यान सम्झिएर भक्कुचुर डराएँ ।
०००
उकालो सुरु भयो । एउटा खच्चड पनि मुस्किलले अट्ने साँघुरा गोरेटो । दाह्रा उछिट्टिएका ढुङ्गा । त्यसमा पनि लेउ र झ्याउ पलाएर टेक्नै मुस्किल । रुख लडेर, काठ कुहिएर, पातपतिङ्गर बाटैमा माडमुरिएको डरलाग्दो उकालो । मनले हिँडे, खुट्टाले पाइला मात्र चाले ।
निर्जन जङ्गल, बाटो, भीर, पाखो र उकालीले मनमा डर, त्रास र उकुसमुकुस बनाएको छ । माथि देखिएको एउटा पाँचरङे रिलुङ पताका पर पर गएको झँै लाग्छ ।
अर्को छोटो र छिटो खालको गोरेटो पनि देखिएथ्यो । “त्यो बाटोमा धेरै जना भीरबाट खसेर मरेथे ।” निमाले त्यो भीरको चिप्लो औँल्याएर बताउँदा मैले मुटुको चाल बढ्यो । अनि हामीले घुमाउरो र फन्के गोरेटोलाई नै रोज्यौँ । “अब दस थोपा पसिना निकाल्नुस्, अनि हामी ठिङ्साङ पुग्छौँ ।” निमाले यसो भनेर हौस्याइरहे । बिस्तारै उकालो, तेर्पे र कुइनेटो उक्ली, उक्ली हामी स्वाट्टै माथि डाँडामा पुग्यौँ । ओहो, अचम्म पो ! माथि त दोलखातिरबाट बाटो आएको रहेछ । हरिया लोठ सल्ला, लेकाली सल्लाहरू झन् हरिया, भरिला र चखिला भएर लेकमा उभिएका । जाडो एकाएक चम्कियो । बादल अघिल्तिर गुजुल्टियो । फेरि फैलेर लेकैभरि पोखियो । “म बादल समात्छु है,” सेताम्मे भुइँकुइरो समात्न दगुरेँ ।
०००
“कहाँसम्म हामी जाने ?” मैले त्यो चिसो लेकमा पुगेर भनेँ । “पाथी चुली, गौरीशङ्कर, जेठाजुबुहारी हिमाल हेर्ने चौरसम्म त पुग्नैपर्छ,” निमाले भने ।
त्यसपछि हामी लगातार उत्तरतिर लागिरहँदा बालद पनि सँगसँगै लाग्यो । दिउँसै अन्धकार भयो । जाडो, कुइरो र हावा थर्थराए, दाँत किटेँ । बाटामा भेटिएका मानेमा श्रद्धा, भक्ति र सम्मान चढाएर घुमेँ । जीवनमा एकाएक आउने त्यस्ता भावलाई म ईश्वर भन्छु, देउता भन्छु र भगवान् भन्छु । एकान्त, सुन्दरता र उज्यालोमा भेटिने त्यस्तो रहस्यपूर्ण भावना नै जीवनलाई डो¥याउने उत्कृष्ट ऊर्जाशील मन्त्र जस्ता लाग्छ ।
एकोहोरो उत्तर लाग्दा कुइराको मुस्लो साथी भएर हिँडिरह्यो । तीन चार कुइनेटा पार गरेपछि उत्तरपट्टि तिब्बतको सिमाना नजिकैको बस्ती देख्न पाउने आशमा थियौँ । तर कालो बादलले सबै घ्वाप्प छोकेथ्यो । पाटन जस्तो ठाउँमा मान्द्रोले छाइएका कटेरामा कतै छानो, कतै ढोका, कतै बारबेर भत्किएका थिए । कतै हिउँ थेग्न नसकेर छानो लच्केका थिए । स्याल, पाण्डा र मृगले भताङभुतुङ्ग पारे जस्ता देखिन्थे ।
तीन चार मानेमा खादा चढाएपछि मकै, चिउरा र उसिनेका पिँडालु खायौँ । चिसो दिनमा चिसा खानेकुरा खाँदै मन पनि चिसै भयो । “कत्रो इच्छा थियो, हिमाल हेर्नै नपाउने भइयो ।” दुःखी भइरहेँ । तर बिस्तारै बादल फाट्यो । हरिया पहाड र लोभलाग्दा हिउँचुलीको लस्कर हाम्रासामु देखापरे । ३,३१५ मिटर उचाइको ठिङसाङ चौरमा पुगेर खुसीले पानी जस्तै पग्लिएँ म । लामबगर, बिगु जाने सडकलाई चौरबाट तलतिरै पठाएर यताउता रमाउन थाल्यौँ । “यहाँबाट चार घण्टामा बिगु पुगिन्छ । म त एक धार्नी आलु खाँदै कति पटक यो बाटो हिँडेको थिएँ ।” निमाले आफ्नो बचपना सम्झे । “ऊ हिमाल !” सेता, चमचम र हृदयको पर्दामा आनन्द हिमाल निमाले चिनाए– “त्यो गौरीशङ्कर हिमाल । त्यो चाहिँ पाथीचुली, अर्को जेठाजुबुहारी हिमाल ।” आँखा अगाडि मुस्काएका हिमाल भावविभोर भएँ । हिमाललाई देखेर हृदयले सोध्यो– “तिमी यति टाढा हुनु मेरो परीक्षाले प्रत्येक पटक आपूmलाई निखार्न नै हो त ?” हिमाल र मनको प्रश्नसँग समयका पाइला डोर्रिने रहेछन् । मैले आँखामा बसिरहेका उज्याला हिउँचुली थन्क्याएर ज्यानमा पूmर्ति सजाएँ ।
आज फेरि चिनियो नेपाल !