• ९ मंसिर २०८१, आइतबार

विद्युत् निर्यात उत्साहजनक

blog

काठमाडौँ, मङ्सिर ८ गते । भन्सार विभागको तथ्याङ्कले मुलुकको अन्तर्राष्ट्रिय व्यापार खस्कँदै गएको देखाइरहँदा मुलुकको विद्युत् निर्यातमा भने उत्साहजनक प्रगति देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपियाँको विद्युत् भारतर्फ निर्यात  गरेको छ । 

कात्तिकमा मात्रै दुई अर्ब ६९ करोड ७० लाख रुपियाँ बराबरको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । मुलुकभित्र खपत भएर बढी भएको विद्युत् निर्यात गर्दा पनि  प्राधिकरणले चालु आवको साउन, भदौ, असोज र कात्तिकमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड आठ लाख रुपियाँ आर्जन गरेको छ । 

दसैँ लागेसँगै आन्तरिक खपत कम भएका बेला प्राधिकरणले उत्पादित सबै बिजुली बिक्री गर्न पाएको थिएन । दसैँतिहारका समयमा कतिपय दिनमा ५०० मेगावाटसम्म विद्युत् खेर गएको थियो । विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाख रुपियाँले बढी हो । 

गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख रुपियाँ आर्जन गरिएको थियो ।  प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपियाँ आर्जन भएको छ । 

प्राधिकरणले साउनमा दुई अर्ब १४ करोड ७६ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख रुपियाँको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्रीदर प्रतियुनिट नौ रुपियाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्रीदर प्रतियुनिट सात रुपियाँ ७६ पैसा थियो ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा विद्युत् निर्यातबाट सात अर्ब ८४ करोड ८० लाख भारतीय रुपियाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिती र नेपाल र भारतबिचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताउनुभयो । 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि हालसम्म ५२२ मेगावाट विद्युत् बिक्रीको स्वीकृति दिएको छ सोमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । यसबाहेक भारतको एनभिभिएनलाई पनि प्राधिकरणले ११० मेगावाट विद्युत् मध्यकालीन सम्झौता अनुसार बिक्री गरिरहेको छ । यस अनुसार नेपालले कुल ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।