छविलाल पाण्डे
बुटवल, मङ्सिर ७ गते । रुपन्देहीको सैनामैनामा बुधबारदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव २०८० सुरु भएको छ ।
सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकको विश्वास छ ।
आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नारासाथ सैनामैना उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सवले सैनामैनासँगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवबाट स्थानीय उपभोक्ताले स्थानीय तहमा नै सकेसम्म सस्तोमा विविध सामान खरिदबिक्रीको अवसर प्राप्त गर्ने, उद्योगी व्यवसायीले आफ्ना उत्पादनको प्रवर्धन गर्ने अवसर पाउने बताउनुभयो ।
सैनामैना नगरपालिका–३, मुर्गियाको पुरानो हाटबजार तथा दुर्गा मन्दिर परिसरमा सुरु भएको महोत्सवको बुधबार सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उद्घाटन गर्नुभयो । महोत्सव मङ्सिर १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक खड्काले महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले सैनामैना पुरातात्विक क्षेत्रको ऐतिहासिक स्थल पनि भएकाले महोत्सवबाट उद्योग व्यापारको प्रवर्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आयोजक सैनामैना उद्योग वाणिज्य सङ्घका महासचिव लोकनाथ अधिकारीले महोत्सवमा औद्योगिक उत्पादन, स्थानीय कृषि उत्पादन र स्थानीय कला संस्कृतिको प्रदर्शनी हुने बताउनुभयो ।
महासचिव अधिकारीका अनुसार महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण गर्न मद्दत पुग्नुका साथै स्थानीय उत्पादन र कृषिको प्रदर्शनी गरिने छ । महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार, पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावनाबारे गोष्ठी तथा अन्तव्र्रिmयालगायत कार्यक्रम आयोजना गरिने जनाइएको छ । महोत्सवको साढे तीन लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन् ।