• ९ मंसिर २०८१, आइतबार

घरजग्गा कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट

blog

काठमाडौँ, मङ्सिर ४ गते । कात्तिक महिनामा घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट आएको छ । दसैँतिहार जस्ता ठुला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको हो । दसैँतिहार एकै महिनामा पर्दा कात्तिक महिनामा सार्वजनिक बिदा धेरै हुँदा घरजग्गाको कारोबारमा कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ । विभागका असोजमा ३९ हजार ८८१ लिखत पारित भएकोमा कात्तिकमा घटेर २६ हजार ४६ लिखत पारित भएको छ । कात्तिकमा जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको छ । 

साउनमा ३९ हजार २६३ लिखत पारित हुँदा भदौमा ३५ हजार ६८६ लिखत पारित भएको थियो । गत आर्थिक वर्षको पहिलो चार महिनामा एक लाख २२ हजार २८२ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक लाख ४० हजार ८७६ वटा लिखत पारित भएको थियो ।

घरजग्गाको कारोबार घटेसँगै राजस्व सङ्कलनमा समेत कमी आएको छ । कात्तिकमा घरजग्गा कारोबारको सेवा कर, रजिस्ट्रेसन दस्तुर र पुँजीगतसमेत दुई अर्ब १६ करोड ३१ लाख ६१ हजार रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

जसमध्ये सेवा कर २० करोड १५ लाख ३५ हजार रजिस्ट्रेसन दस्तुर एक अर्ब ३७ करोड आठ लाख ४४ हजार, पुँजीगत लाभकर ७७ करोड नौ लाख १६ हजार लाभकर सङ्कलन भएको विभागको तथ्याङ्क छ । अघिल्लो असोज महिनामा घरजग्गाको कारोबारबाट चार अर्ब ४३ करोड रुपियाँ राजस्व सङ्कलन गरेका थिए ।

घरजग्गा कारोबार गर्दा मालपोत कार्यालयले विभिन्न शीर्षकमा राजस्व उठाउँछन् । कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रजिस्ट्रेसन दस्तुर शीर्षकमा मात्रै एक अर्ब ३५ करोड रुपियाँ बढी राजस्व उठाएका छन् । यस्तै यसै अवधिमा पुँजीगत लाभकरको शीर्षकमा राजस्व कार्यालयले ७७ करोड नौ लाख बढी राजस्व उठाएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार मधेश प्रदेशका मालपोत कार्यालयले पछिल्लो समय घरजग्गाको कारोबारमा मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क पनि उठाउने गरेका छन् । मधेश प्रदेशका १८ मालपोत कार्यालयले उक्त कोषका लागि भन्दै घरजग्गा कारोबारबाट दुई करोड २३ लाख रुपियाँ उठाएका छन् । सरकारले सेवा कर २० करोड १५ लाख, डोर सुविधा शुल्क दुई लाख ३८ हजार, विलम्ब शुल्क दुई लाख ३५ हजार र रोक्का दस्तुर पाँच लाख १९ हजार रुपियाँ उठाएको छ ।

कात्तिकमा सबैभन्दा बढी राजस्व उठाउने मालपोत कार्यालयको पहिलो स्थानमा भने लगनखेल मालपोत कार्यालय छ । यो कार्यालयले कात्तिक महिनामा मात्रै १८ करोड ९४ लाख रुपियाँ राजस्व उठाएको छ । यसै गरी धेरै राजस्व उठाउने मालपोत कार्यालयको दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा क्रमशः डिल्लीबजार, भक्तपुर, चावहिल र कलङ्की मालपोत कार्यालय छन् । यी कार्यालयले कात्तिकमा क्रमशः १८ करोड १५ लाख, १४ करोड २६ लाख, १३ करोड १८ लाख र १२ करोड ४४ लाख रुपियाँ राजस्व आर्जन गरेका छन् ।

घरजग्गा कारोबारको सङ्ख्यालाई आधार मान्दा भने सबैभन्दा बढी कारोबार इनरुवा मालपोत कार्यालयबाट भएको देखिन्छ । कात्तिकमा यस कार्यालयबाट मात्रै एक हजार १८२ लिखत पारित भएका छन् । यस्तै कात्तिकमै जनकपुरधाम मालपोतबाट एक हजार १०७, भद्रपुर मालपोतबाट एक हजार ११ र सप्तरीको राजविराज मालपोत कार्यालयबाट ८९५ लिखत पारित भएका छन् ।