• १३ असोज २०८१, आइतबार

अवधि भाषा र साहित्यको संरक्षणमा जोड

blog

अवधि सांस्कृतिक प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष र सदस्यहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर ३ गते । पश्चिम नेपालको अवध क्षेत्र मानिने बाँके र बर्दियामा सदियौँदेखिको अवधि संस्कृति, भाषा र साहित्यको संरक्षण र संवर्द्धनमा विशेष पहल गर्नुपर्नेमा अगुवाहरूले जोड दिएका छन् । 

यहाँ आयोजना गरिएको अवधि सांस्कृतिक प्रतिष्ठान नेपाल नेपालगन्जको तेस्रो अधिवेशनको अवसरमा मन्तव्य राख्ने अधिकांश अवधिभाषि अगुवाले अवधि संस्कृति, भाषा र साहित्यको उचित संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको चिन्ता व्यक्त गर्दै संरक्षणमा जोड दिएका हुन् । 

वरिष्ठ अवधि साहित्यकार रामगोपाल गुप्ताले अवधि संस्कृति र साहित्यको संरक्षणमा निजीक्षेत्र र सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गोरखापत्र दैनिकले अवधि भाषामा छुट्टै पृष्ठ प्रकाशित गरेर अवधि भाषा, साहित्य र संस्कृतिको संरक्षणमा अहम् भूमिका खेल्दैआएकोमा पत्रिकाप्रति आभार पनि व्यक्त गर्नुभयो । 

यसैगरी अवधि पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले नेपालमा अवधि भाषा र साहित्यको विकासको उपलब्धि र अवधि क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा वरिष्ठ साहित्यकार पूर्व प्राज्ञ सनत रेग्मी, महेन्द्र पुस्तकालयका सदस्य कृष्णमुरारीप्रसाद भट्ट, अधिवक्ता विश्वजीत तिवारी, साहित्यकार मधइसिंह सिख्ख, सब्बीर रहीमानीलगायतले अवधि भाषा, साहित्य र कला क्षेत्रको विकासका लागि अवधि क्षेत्रका लोकगीत, कथा कहानीलाई सङ्कलन गरी अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिष्ठानको तेस्रो अधिवेशनले रमेशचन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा मधईसिंह सिख्ख, वीरेन्द्र यादव, कृष्णा पाठक, जहिरुल हक जीनु, चन्दा सिंह, अल्पना वैश्य, नीलम शर्मा, सतीश पाठक, नितेष विश्वकर्मा, सुशीला वैश्यलाई सर्वसम्मत चयन गरिएको छ ।

सर्वसम्मत रूपमा चयन भएको समितिको बैठकले विभिन्न पदाधिकारी चयन गर्ने प्रतिष्ठानका संस्थापक विष्णुलाल कुमालले बताउनुभयो । सो अवसरमा साहित्यकारहरू मधईसिंह सिख्ख, सब्बीर रहीमानी र नितेश विश्वकर्मा विभिन्न रचनाहरू प्रस्तुत गर्नुभएको प्रतिष्ठानका सदस्य जहिरुल हक जीनुले बताउनुभयो ।