• २४ पुस २०८१, बुधबार

ठेकेदार सम्पर्कविहीन

blog

रामेछाप समाचारदाता

रामेछाप, मङ्सिर ३ गते । रामेछापको खाँडादेवी गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउन सुरु गरेको साढे तीन वर्षभन्दा बढी समय भइसक्यो तर लामो समयदेखि काम रोकिँदा अहिले उक्त अस्पताल भवन निर्माण सम्पन्न भएको छैन । 

गुणस्तरीय सेवा दिनका लागि गाउँपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माणको काम सुरु गरेको थियो । खाँडादेवी गाउँपालिका–५, पकरबासस्थित सुलिथम्का सामुदायिक वनमा आत्रिया शिवको बस्नेत जेभीले तीन करोड ७२ लाख रुपियाँमा साढे तीन वर्षअघि नै खाँडादेवी अस्पतालको भवन निर्माण सुरु गरेको थियो । तोकिएको समयमा अस्पताल भवन नबन्दा यहाँका नागरिकले स्तरीय स्वास्थ्य सेवा लिन पाएका छैनन् जसले गर्दा उपचारका लागि जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौँलगायतका अस्पतालमा जान बाध्य छन् । 

निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल निर्माणमा ढिलाइ भएको खाँडादेवी गाउँपालिका–५, पकरबासका वडाध्यक्ष मनोज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले लापरबाही गर्दा समस्या भयो । अस्पताल ढलानको काम सकिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म पाँच शøयासम्मको भए पनि अस्पताल सञ्चालन हुन्छ ।” निर्माण कम्पनीले गाउँपालिकाको पटक पटकको ताकितापछि गत आर्थिक वर्षको जेठ महिनामै अस्पताल ढलानको काम गरेको थियो । निर्माण कम्पनीलाई ढलानसम्मको काम गर्न लगाउन गाउँपालिकालाई ठुलै कसरत गर्नु परेको थियो । ढलान गरेर निर्माण कम्पनीले अन्य बाँकी काम नगरेपछि अस्पताल निर्माणको काम अहिले अलपत्र अवस्थामा छ । 

निर्माण कम्पनीले सम्झौता अनुसारको काम नगरी अस्पताल निर्माणमा लापरबाही गर्दासमेत गाउँपालिकालगायत अन्य कुनै पनि निकायले निर्माण कम्पनीलाई कारबाहीको आवश्यक प्रक्रिया अगाडि बढाउन सकेका छैनन् । निर्माण कम्पनीको चरम लापरबाहीका कारण समयमै अस्पताल बन्न नसकेको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै अस्पताल निर्माण गरेर प्रभावकारी स्वास्थ्य सेवा दिने गाउँपालिकाको लक्ष्य हो तर निर्माण कम्पनीको चरम लापरबाही भयो । निर्माण कम्पनी सम्पर्कमा नआउँदा गत आर्थिक वर्ष गाउँपालिकाको एक करोड ३० लाख रुपियाँ बजेटबाट काम नै हुन सकेन । चालु आर्थिक वर्षमा पनि सङ्घीय सरकारबाट प्राप्त ४८ लाख रुपियाँ स्वीकृत भएको छ । यो बजेटबाट पनि काम हुने वा नहुने अन्योल छ ।”