• १ जेठ २०८२, बिहिबार

छोटी भन्सार पुनर्स्थापना गर्न प्रधानमन्त्रीसँग माग

blog

प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै नेपालगन्ज उद्योग वाणिज्य संघको टोली । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २६ गते । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक ज्ञापनपत्र बुझाएर सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका छोटी भन्सार पुनः सञ्चालन गर्न माग गरेको छ । 

रोल्पाबाट नेपालगन्ज फर्किनेक्रममा शुक्रबार साँझ नेपालगन्ज पुग्नुभएका प्रधानमन्त्रीलाई उद्योग वाणिज्य सङ्घको एक प्रतिनिधिमण्डलले भेटेर ज्ञापनपत्र बुझाउँदै छोटी भन्सार पुनर्स्थापनालगायत तस्करी रोक्न निर्देशन दिन माग गरेको हो । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले दिनुभएको जानकारीअनुसार सङ्घका अध्यक्ष टङ्क धामीको नेतृत्वमा रहेको पदाधिकारीको टोलीले प्रधानमन्त्रीलाई भेटेर दुई पृष्ठको ज्ञापनपत्र बुझाएको बताउनुभयो । 

ज्ञापनपत्रमा सीमापारिबाट हुँदैआएको अवैध आयात र तस्करीले गर्दा नेपालगन्जको व्यापार व्यवसाय धराशायी भएको जनाउँदै सो रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिन प्रधानमन्त्रीसँग माग गरिएको छ । 

सङ्घका वरिष्ठ उपाध्यक्ष ओलीका अनुसार ज्ञापनपत्रमा सशस्त्र युद्धका बेला बन्द गरिएका बाँकेका सातवटा छोटी भन्सार तत्काल पुनर्स्थापना गर्नुपर्ने, जमुनाहा नाकामा रहेको स्क्यानर मेसिन बिग्रिएकोले तत्काल सोको मर्मत गराउनुपर्ने, नाकाबाट आवागमन गर्नेको परिचयपत्र हेरेर मात्र आवागमन गर्न दिनुपर्ने, सीमा नाका नजिकै धेरै नाकाहरू रहेकाले सबै ठाउँमा सुरक्षा निकाय खटाउनुपर्ने लगायतका माग गरिएका छन् । 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीका मागलाई गम्भीरतापूर्वक लिएको जनाउँदै काठमाडौँ पुगेर सम्बन्धित मन्त्रीसँग छलफल गरेर नाकामा देखिएका कमीकमजोरी र छोटी भन्सार पुनर्स्थापनाबारे निर्णय लिने बताउनुभएको वरिष्ठ उपाध्यक्ष ओलीले बताउनुभयो ।