• २८ पुस २०८१, आइतबार

मालिका धुरी मन्दिरमा आन्तरिक पर्यटक (फोटो फिचर)

blog

धार्मिक तथा पर्यटकीयस्थल मालिकामा पुगेका आन्तरिक पर्यटक । तस्विर : साधन घर्ती

साधन घर्ती

म्याग्दी, कात्तिक २५ गते । वरिपरि घना जङ्गल । नाकैअगाडि सेताम्मे हिमाल । दृष्टिले भ्याएसम्म देखिने पहाडका अग्ला चुचुरासहितका सुन्दर ग्रामीण वस्तीहरु छन् । बाटोमा फुलेका वनफुलहरु र पहाडको टुप्पोबाट देखिने सुर्योदयको मनोरम दृश्य, सुन्दर बस्ती, गुराँसे–जङ्गल र प्राकृतिक सौन्दर्यले सजिएको छ म्याग्दीको मालिका ।

प्राकृतिक दृष्यको धनी, धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे मालिका यस्ता कयौं दृश्यावलोकनको केन्द्र हो । जिल्लाका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित मालिका धुरी पर्यटकीय एवं धार्मिक क्षेत्र हो । 

समुन्द्री सतहदेखि तीन हजार १७० मिटर उचाइमा अवस्थित मालिकाबाट धौलागिरी, निलगिरी अन्नपूर्ण, मनास्लु, माछापुच्छ«े, गुर्जा, चुरेन, पुथा, मानापाथी लगायतका दर्जनौं हिमशृंखला देख्न सकिन्छ ।

बैशाखको चण्डीपूर्णिमा, ज्यष्ठीपूर्णिमा, कात्तिकेपूर्णिमा र बालाचतुर्दशीमा विशेष पूजाआजासहित मेला लाग्ने मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । मालिकाको पूजाआजा, दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण वर्षेनी सयौंको सङ्ख्यामा भक्तजन त्यहाँ पुग्नेगरेका छन् । 

मालिका मन्दिरको साथमा कालिका र जाल्पादेवीका मूर्ति पनि सँगै राखिएका छन् । १९१० सालदेखि पूजा गर्न थालिएको मालिकामा वि.सं. १९६८ देखि मन्दिर निर्माणगरी विधिवत रुपमा पूजाआजा गरिँदैआएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पाईजाको भनाइ छ । 

मालिकामा दर्शन र पूजाआजा गरेमा मनोकामना पूरा हुने पाईजाले बताउनुभयो । यहाँ म्याग्दीसँगै छिमेकी जिल्ला बागलुुङ, पर्वत, स्याङजा, गुल्मी, कास्की तथा काठमाडौंलगायतका जिल्लाबाट समेत भतmजनहरु पूजा गर्न आउने गर्छन् ।

सडकदेखि करिब दुई घण्टाको पैदलमार्ग हुँदै मालिका धुरी पुग्न सकिन्छ । यसअघि एक हजार २ सय ७१ मिटर पदमार्ग निर्माण गरिएको छ । मालिका गाउँपालिकाले सडक निर्माण गरेको छ । मालिका धुरीमा सत्तल निर्माण गरेको छ । 

गाउँपालिका अध्यक्ष बेग्रप्रसाद गर्बुजाले सडकलगायत पूर्वाधार निर्माण भएको बताउनुहुँदै गाउँपालिकाले सडक विस्तार, व्यवस्थित पूर्वाधार संरचना निर्माण गर्ने बताउनुभयो । उहाँले धार्मिक तथा पर्यटकीय मालिका धुरीबाट आर्थिक लाभ लिन सकिने बताउनुभयो ।