सङ्ला स्वच्छ सफा नदी र झरना ह्यूँताल छाँगाहरू
आभा सुन्दर शारदी किरणका फैलाइ ज्वोत्स्नाहरू
धर्ती व्योम दुवै हिमाद्री तटमा भर्खर नुहाएसरी
तिम्रो काव्य रसाल मिष्ठ मधुरो मानौँ सुधाको झरी ।
माथि लेक पहार ताप्न बसिछन् झैँ लाग्छ शैलेश्वरी
घुम्टो ओढी मुहारमाथि हँसिलो फुक्दै मिठो बाँसुरी
प्यूँदै काव्यसुधा तरङ्गित बनी हृत्तन्त्रीका तारमा
सन्ध्यादीप जलाई लक्ष्मी बसिछन् झैँ लाग्छ सङ्घारमा ।
बोल्छौ दर्द टिपी अनाथ टुहुरा वृद्धा र बालापन
छुन्छौ कष्ट र मर्म दुःखीजनका घाउ मुसारीकन
साना शावक चञ्चले छुनुमुने खेलाउँदै काखमा
भर्छौ काव्यिक वाणी मिष्ठ मधुरो झन् झन् नयाँ रागमा ।
नाना रङ्ग सुवास बास छरदै फुल्ने बगैँचा तिमी
झुल्ने बाली लरक्क लैबरि गरी ढाकेर बाँझो जिमी
पाकेका लटरम्म स्याउ र किवी या सुन्तलाका रुख
लर्केका भइँ छाम्न आतुर हुँदै झैँ लाग्छ तिम्रो सिप !
तिम्रो स्पर्शमहाँ छ जादु र टुना छाम्दै छुँदै लठ्ठिने
मात्रा वर्ण र वाक्य रेफ जति जे छोयो त्यही टल्किने
नेपाली स्वरवर्ण वाङ्मयभरी बन्दै खुला व्यापक
बाँचे वर्ष हजार, हे नयनका तारा महान् साधक !