काठमाडौँ, कात्तिक २५ गते । त्रिपुरेश्वरस्थित लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखिएका बाजा क्यानभासमा उतारिएका छन् । लोकबाजा सङ्ग्रहालय र योङ पिकासोद्वारा शुक्रबार सङ्ग्रहालय परिसरमा आयोजित लोकबाजा कला कार्यशालामा सहभागी कलाकारले नेपाली लोकबाजाका चित्रहरू बनाउनुभएको हो । लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले विसं २०५२ देखि नेपालका सबै भूभाग र जातजाति, समुदायमा पुगेर सङ्कलन गर्नुभएको ६५५ वटा लोकबाजा संरक्षण गरेर राख्नुभएको छ ।
चित्रकला प्रशिक्षणको अभियानमा जोडिएको संस्था योङ पिकासोका निर्देशक कलाकार अजय देसारको संयोजकत्वमा आयोजित चित्रकला कार्यशालामा सहभागी २७ जना कलाकारले त्यहाँ सङ्कलन गरिएका बाजामध्ये छनोट गरी चित्रकला तयार गर्नुभएको हो । सो अवसरमा गुठी संस्थानका अध्यक्ष डा. शिवराज पण्डितले लोकबाजा सङ्ग्रहालयको व्यवस्थापनका लागि आफूले सक्दो सहयोग र आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । भद्रकालीदेखि सुरु भएको लोकबाजा सङ्ग्रहालय स्थायी भवनको अभावमा २८ वर्षदेखि गुठी संस्थानको मातहतको सत्तलमा अस्थायी रूपमा राख्दै आएको छ । पाटन सङ्ग्रहालयका कार्यकारी निर्देशक सुरेश लाखेले रामप्रसाद कँडेलले व्यक्तिगत पहलमा देशभरको लोकबाजा सङ्कलन गर्नु सराहनीय काम हो भन्दै लोकबाजालाई सङ्ग्रहालयको नीतिनियमसहित व्यवस्थित बनाउनुपर्ने सुझाव दिनुभयो । लोकबाजा सङ्कलक रामप्रसाद कँडेलले भन्नुभयो, “नेपाली सभ्यताको संरक्षणका लागि थालिएको बाजा सङ्कलन र प्रवर्धन गर्दा पाएको दुःख भनिसाध्य छैन तर हार नमानी विगत २८ वर्षदेखि केही समर्थक र सहयोगीको भरमा सङ्ग्रहालयका रूपमा राखिएको छ, बाजालाई क्यानभासमा उतार्न योगदान दिने कलाकार र कार्यशाला संयोजकको सहयोगले भावुक बनाएको छ ।” सो अवसरमा अभियन्ता हरिवंश किराँत, प्रा. राधेश्याम मुल्मी र ललितकला क्याम्पसका सङ्गीत विभाग प्रमुख प्राडा धुर्वेसचन्द्र रेग्मीले रामप्रसाद कँडेलको मेहनतलाई राज्यले कदर गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कला कार्यशालामा कलाकारहरू आर्शिया देसार, आध्या देसार, अमिरा शाक्य, कमल श्रेष्ठ, अच्युत महर्जन, रिया वज्राचार्य, रुनादेवी महर्जन, राजेश महर्जनलगायत २७ जना कलाकारले विभिन्न बाजाको चित्र बनाउनुभएको थियो । सङ्ग्रहालयमा विभिन्न जातजातिको सांस्कृतिक पर्व, संस्कार, पूजा प्रार्थनामा बजाइने ती बाजा आधुनिक प्रविधि, रहनसहनमा आएको परिवर्तन, बसाइँसराइलगायतका क्रियाकलापसँगै लोप हुने अवस्थामा पुगेका थिए । लोकबाजा सङ्कलक कँडेलले त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा स्थापना गर्नुभएको लोकबाजा सङ्ग्रहालयमा लोकबाजाका साथै प्रत्यक्ष गायन–सङ्गीत प्रस्तुतिका लागि मञ्च पनि बनाउनुभएको छ ।
तामाङ, गुरुङ, मगर, नेवार, हायु, क्षेत्री, ब्राह्मण, राई, लिम्बू, गन्धर्व, थारू, शेर्पा, किसान, कुमाल, सौंका, मुसहर, झाँगड, थामी, सन्थाल, राउटे, कुुसुन्डालगायत लोपोन्मुख, सीमान्तकृत सबै जातजातिका बाजा सङ्कलन गरिएका छन् । लोकबाजाको अवलोकनका लागि विद्यार्थी, सर्वसाधारण र स्वदेशी÷विदेशी पर्यटक, सङ्गीतका पारखी, लेखक, अनुसन्धानकर्तासमेत आउने गरेका छन् । सङ्ग्रहालयमा बालबालिकाले खेल्दा प्रयोग गर्ने बाजागाजासमेत हेर्न पाइन्छ ।