इमानसिं राना
रामपुर (पाल्पा), कात्तिक २३ गते । वर्षा ऋतुको अन्त्य शरदमा सामान्यतया चारैतिर हरियालीले भरिएको हुन्छ भन्ने सबैको बुझाइ छ । तर पाल्पाको निस्दी गाउँपालिका –५ स्थित बुढिकोट सामुदायिक वनमा रहेको सालका बोटहरु कात्तिक महिनामै फागुन–चैतको झल्को दिनेगरी उजाड भइसकेको छ ।
सल्लेरी वनमा पात झरेर नभई झुसिलकिराको प्रकोपले यस्तो भएको हो । झुसिलकिराले रुखका पातहरु खाएर रुखहरु रित्तै भएको छ । वर्षा रोकिएपछि देखापरेको झुसिलकिराले वनका रुखहरु उजाड पारिदिएको छ । किरा लागेपछि वनका साल, साजलगायत ठूला बोटका पातहरु खाएर तलका साना बुट्यानहरु पनि नष्ट गरेको बुढिकोट सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष शिवप्रसाद अर्यालले बताउनुभयो ।
“झुसिलकिराकै कारण जङ्गलभित्र जान समस्या छ । किराले खाइदिएकाले घाँस र सालको पात पाउन पनि मुस्किल छ” उहाँले भन्नुभयो, “म ६१ वर्षको भएँ, वनमा यस्तो किसिमको प्रकोप अहिलेसम्म थाहा पाएको थिइनँ ।”
बुढिकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिमबहादुर पचभैयाले वर्षादको पानी रोकिएपछि किराकाे प्रकोप बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी राेकिएपछि एक महिना बढीको समयमा साल तथा ठूलो प्रजातिको बिरुवाका पात खाएर सकायो । वन नै उजाड देखिएको छ ।” ७६ हेक्टर बढी क्षेफलमा फैलिएको वनमा निस्दी ५ का १ सय ४७ घर आबद्ध छन् । गत वर्ष अधिकांश स्थानका वनमा आगोलागी भए पनि उपभोक्ताले सो स्थानको जङ्गल बचाएका थिए । आगलागीबाट वनलाई बचाए पनि किराबाट बचाउन नसकिएको बताउनुभयो ।
किराले वनमा रहेका चिलाउने, मघुवा प्रजाति बाहेक अन्य प्रजातिका बोटमा क्षति गरेको छ । निस्दी डिभिजन वन कार्यालयका प्रमुख नन्दप्रसाद अधिकारीले पालिकाको निस्दी ५ को बुढिकोट सामुदायिक वन र धारापानी महिला सामुदायिक वनमा किराको प्रकोप देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रकोप देखिएको वन क्षेत्रका अधिकांश बोटको पात खाएर नष्ट गरिसकेको छ । तत्कालका लागि अन्य वन क्षेत्रमा फैलिन नदिनका लागि उपायको खोजी गरिरहेका छौं ।”
डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले जिल्ला वन कार्यालयमा यस विषयमा जानकारी प्राप्त भएको र स्थलगत रुपमा पुगेर अनुसन्धान हुने बताउनुभयो । उहाँले यस प्रकारको प्रकोप किराको प्रकृति हेरेर दीर्घकालीन वा अल्पकालीन हो भन्ने थाहा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षअघि दाङमा पनि एक वर्ष झुसिलकिराको प्रकोप देखिएको थियो । त्यसपछि देखिएको थिएन । अनुसन्धानपछि पुतलीको प्रकार हेरेर प्रकोपको विषय थाहा हुनेछ ।”